गृहपृष्ठ रुपन्देहीको होटल क्षेत्रमा अर्बौं लगानी

रुपन्देहीको होटल क्षेत्रमा अर्बौं लगानी

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले होटल क्षेत्रमा लगानीकर्ता आकर्षित

butwal-hotel-newskarobar

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदै गर्दा रुपन्देहीमा होटल क्षेत्रमा लगानी व्यापक बढेको छ । लुम्बिनी दर्शनका लागि आउने पर्यटकलाई लक्षित गरेर रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवललगायतका स्थानमा स्तरीय होटल खुल्ने क्रम बढेको हो ।

रुपन्देहीको होटल क्षेत्रको लगानी ७ अर्ब नाघिसकेको होटल व्यवसायी बताउँछन् । विमानस्थल सञ्चालन हुनेबित्तिकै लुम्बिनीमा बौद्धमार्गी पर्यटकको आगमन बढ्ने भएकाले व्यवसायीले होटलमा लगानी बढाएका हुन् । व्यवसायीले बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा एक–दुई करोडदेखि १०–१५ करोड रुपैयाँ लगानीका मध्यमखालका दुई दर्जन होटल खोलेका छन् ।

व्यवसायी पवनकुमार हलुवाईले एक अर्ब ४० करोड रुपैयाँ लगानीमा लुम्बिनीमा पाँचतारे होटल पवन प्यालेस लुम्बिनी निर्माण गरेका छन् । भैरहवामा सञ्चालित होटल बोधी रेडसनले पनि स्तरोन्नति गर्दै पाँचतारे बनाउन लागेको छ । बोधी रेडसन होटल अहिले तीनतारेमा सूचीकृत छ । भैरहवानजिकै वसन्तपुरमा अहिले सञ्चालनमा रहेको तीनतारे बोधी रेडसनले सुविधा थप्दै ६४ नयाँ कोठा निर्माण गरेको हो । नयाँँ कोठा निर्माणसँगै होटलमा एक सय ६ वटा कोठा भएका छन् ।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले ३ अर्ब रुपैयाँ लगानीमा कोटिहवामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ । बेलहियास्थित नान्स होटल, ५० करोड रुपैयाँ लगानीमा बुटवलमा क्लब डेनोभो होटल सञ्चालनमा आएको छ । यस्तै ६ तले भवनमा ४० कोठासहितको होटल सञ्चालनमा आएको हो । होटलका सञ्चालक प्रवीण पाठकका अनुसार बुटवलको कालिकानगरमा १५ कट्ठामा यो होटल बनेको छ ।

बुटवलको बसपार्कमा १५ करोड रुपैयाँमा डार्सी होटल इन्टरनेसनल सञ्चालनमा छ । व्यवसायी जगदीश आचार्यले ५ करोड लगानीमा मैत्रीपथमा होटल वृन्दावन सञ्चालनमा ल्याएका छन् । त्यस्तै, व्यवसायी भीमलाल न्यौपानेले २० करोड लगानीमा बुटवल–५, गोलपार्कमा ५० कोठाको होटल एभिन्यु खोलेका छन् ।

२२ कोठा भएको होटल न्यु इराले ५ करोड रुपैयाँ लगानी गरी २३ कोठा थप गरेको छ । सिद्धार्थ गु्रपले सञ्चालन गरेको सिद्धार्थ कटेजले २ करोड लगानी गरेर १६ कोठा थप गरेको छ । ह्वाइट लोटस, सिटी सेन्टर, जोशी होटल, सिपी म्याक्स इन्टरनेसनल, डिजिपार्क लगायत होटलमा कम्तीमा ५० करोड रुपैयाँ लगानी भएको छ ।

यस्तै रुपन्देहीको मध्यभाग तिलोत्तमामा स्तरीय होटल ड्रिमल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ । प्रबन्धक गोपाल रानाका अनुसार मध्यभागलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गरिएको हो । तिलोत्तमाकै नायाँमिलमा होटल लक्ष्मी सञ्चालनमा आएको छ । भैरहवामा पौवा ग्रुपको लगानीमा होटल पौवा सञ्चालनमा छ । सोही समूहले बुटवलको योगीकुटीमा नयाँ होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

युवा व्यवसायीको समूह एसआर ग्रुपले तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा एसआर रिसोर्ट सञ्चालनको तयारी गरेको छ । हाल शंकर टावर रहेको उक्त स्थानमा करिब २५ करोडको लागनीमा एसआर रिसोर्ट सञ्चालनमा आउने सञ्चालक केशव भण्डारीले जानकारी दिए ।

यस्तै बुटवलमा लामो समयदेखि दियालो र कस्तुरी होटल सञ्चालन गरेको समूहले बुटवलकै होराइजन चोकमा महाराजा रिसोर्ट सञ्चालनको तयारी गरेको छ । सञ्चालक कृष्णप्रसाद भट्टरार्इले अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल क्षेत्रमा लगानी बढेको बताए ।

बुटवल उपमनगरपालिका–१४, बेलबासमा आरम्भ ग्रुप अफ हस्पाटलिटीले दुई–दुई वटा स्विमिङ पुल र रिसोर्टसहितको होटल सञ्चालनमा ल्याएको छ । अझै होटल थपिने क्रम बढेको छ ।

एक करोडदेखि २ करोड रुपैयाँसम्म लगानी गरेर एक दर्जन होटल खुलेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष माधव नेपालले जानकारी दिए । नयाँ होटल खुलेसँगै भएका होटलले सेवा र गुणस्तर दुवै बढाएका छन् ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु