गृहपृष्ठ जीवन समृद्ध बनाउन जागिरे होइन, उद्यमी बन्नुपर्छ

जीवन समृद्ध बनाउन जागिरे होइन, उद्यमी बन्नुपर्छ

sudarsan-newskarobar

निःसन्देह ! आत्मविश्वास भए हरेक काममा सफलता हासिल गर्न सकिन्छ । सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतलाई पनि आफूप्रतिको विश्वासले नै अहिलेको उचाइमा पुर्‍यायो । जतिबेला मासिक २ हजारको जागिर छाडेर प्राकृतिक चिकित्सा केन्द्र खोल्न उनले मासिक २५ सयको फ्ल्याट भाडामा लिए, त्यतिबेला उनीसँग आत्मविश्वास र हिम्मतभन्दा बढी केही थिएन । तर, त्यसको करिब १९ वर्षपछि उनीसँग करोडौंको सम्पत्ति छ, अनि प्राकृतिक चिकित्सा क्षेत्रमा बेग्लै पहिचान पनि । उनको दक्षता र सफल उद्यमशीलताको मूल्य अर्बौंबराबरको छ ।

दोलखाको सुन्द्रावतीका बस्नेत प्राकृतिक चिकित्सक होइनन्, अकुपंचरिस्ट हुन् । तर, अकुपंचरमा ग्राजुएसन सकेलगत्तै २०५५ सालमा उनले प्राकृतिक स्वास्थ्य संस्था, भीमसेन गोलामा जागिर खाए । त्यसपछि उनको लगाव प्राकृतिक चिकित्सातर्फ झन् बढ्यो । नौ महिनामै जागिर छाडेर आफ्नै स्वास्थ्य संस्था खोले- वैकल्पिक उपचार सेवा केन्द्र ।

२०५६ सालमा वैकल्पिक उपचार सेवा केन्द्रका लागि २५ हजार रकम जुटाउन उनले निकै मेहनत गर्नुपर्यो । उद्यमी बन्ने अभिलाषा बोकेको २३-२४ वर्षको अल्लारे ठिटोसँग १० हजारमात्र थियो । ‘बाँकी १५ हजार साथीभाइबाट एक-दुई हजारका दरले उठाएर पुर्‍याएँ,’ उनी भन्छन्, ‘एक-दुई जनाले १५ हजार सापटी दिनु त्यति सम्भव हुँदैनथ्यो, त्यसबेला ।’

sudarsan-newskarobar

जागिरे जीवनलाई सधैंका लागि तिलाञ्जली दिने सोच जति जब्बर थियो, उद्यमीका रुपमा स्थापित हुनुपर्ने बाध्यता पनि उत्तिकै चुनौतीपूर्ण थियो । परिणामका लागि उनी अहोरात्र खटे । नभन्दै २०५६ सालदेखि ६५ सालसम्मको नौ वर्षमा वैकल्पिक उपचार सेवा केन्द्रले अप्रत्यासित उचाइ लियो ।

वैकल्पिक उपचार सेवा केन्द्रको सफलताले सुदर्शनमा ऊर्जा झन् थपियो । उनको योजना र लक्ष्य झन् फराकिला भए । त्यसबीचमा प्राकृतिक चिकित्सक डा. जनकबहादुर बस्नेतलगायतले उनलाई टिममा बसेर अस्पताल सञ्चालन गर्न आग्रह गरे । तर, त्यो टिममा बस्न सुदर्शन रुचाएनन् । उनीबिना नै जनक बस्नेतको टिमले बाँसबारीमा वेलनेस अस्पताल सुरु गर्‍यो ।

डेढ वर्ष मेहनत गर्दा पनि नाफामा जान नसकेपछि वेलनेसको टिम फेरि सुदर्शनकहाँ आयो । सुदर्शनले ३१ लाखको भ्यालुएसन भएको अस्पतालको स्वामित्व डेढ वर्षको घाटासमेत पूर्ति हुने गरी ६२ लाख ५० हजार तिरेर लिए । ‘घाटामा रहेको ३१ लाखको अस्पताल दोब्बर मूल्यमा किनेको भनेर धेरैले उल्लुको संज्ञा पनि दिए,’ उनी भन्छन्, ‘तर मसँग आत्मविश्वास थियो, मलाई कुनै डर थिएन ।’

सुदर्शनको नेतृत्वमा फागुनमा किनेको अस्पताल चैतमै नाफामा गयो । करिब दुई वर्षकै अवधिमा वेलनेस अस्पतालले पनि निकै उचाइ लियो । प्राकृतिक चिकित्सा अस्पतालमा नमुना नै बन्यो वेलनेस । प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्ने अस्पतालहरु छायाँमा परे ।

एकपछि अर्को लगातार सफलताले सुदर्शनमा उद्यमशीलताप्रतिको लगाव बढ्दै गयो । फलतः उच्च स्तरको प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने गरी ६७ सालमा चैतन्य स्पा खोलियो । हाइक्लासलाई लक्षित गरेर खोलिएको चैतन्य स्पाले मसाज थेरापीको परिभाषा र स्तर नै बदलिदियो । प्राकृतिक चिकित्सा पद्धति उपचारमा मात्र सीमित रहेन, यसले एउट उद्योगकै रुप लिइरहेको थियो ।

दुर्भाग्य भन्नुपर्छ, भुइँचालो आएपछि टिममा कन्ल्फ्क्टि आयो । पार्टनरसिपप्रति उनको भरोसा तोडिँदै थियो । अन्ततः वेलनेस र चैतन्य दुवै त्यसको सिकार बने । आफैं अध्यक्ष रहेका दुवै संस्था उनी बेच्न तयार भए । ‘कि सोलो मलाई देऊ, कि तिमी लैजाऊ,’ उनको एकसूत्रीय एजेन्डा थियो यो । अन्ततः उनले दुवै संस्था जिम्मा लाइदिए ।

sudarsan-newskarobar

आफू अध्यक्ष भएका दुवै संस्था छोड्नुपर्दा पनि उनी कत्ति विचलित भएनन् । बरु नयाँ जोश र जाँगरका साथ सुस्वास्थ्य अस्पताल स्थापना गरे- काठमाडौंको बानेश्वरमा । ‘आफैंमाथिको परीक्षा हो सुस्वास्थ्य अस्पताल,’ उनी भन्छन्, ‘म मेरो क्षमता, दक्षता र लगनशीलताको परीक्षा दिइरहेको थिएँ ।’ यो परीक्षामा पनि उनी सफलता उन्मुख छन् । छोटो अवधिमै सुस्वास्थ्यले छुट्टै पहिचान बनाइसकेको छ ।

उनी पाँच वर्षभित्र सातवटै प्रदेशमा सुस्वास्थ्य अस्पतालका ब्रान्च स्थापना गर्ने योजनासहित लागेका छन् । ‘प्राकृतिक चिकित्सामा उपचार पद्धति नै परिवर्तन गर्छु भनेर लागेको हुँ,’ बढो आत्मविश्वासका साथ उनी भन्छन्, ‘र यो लक्ष्य म जसरी पनि भेटाएर छाड्छु ।’ भिजन क्लियर भए बाटो आफैं क्लियर हुन्छ भन्ने लाग्छ उनलाई ।

अध्यक्ष बस्नेतको काम गर्ने शैली पनि अरुको भन्दा भिन्न छ । समयको निकै ख्याल गर्छन् । उनी कहीँ जाँदा एक मिनेटमात्र पनि ढिला गर्दैनन्, बरु पाँच मिनेट चाँडो गर्छन् । ‘जे दिन्छ, हामीलाई समयले दिन्छ,’ उनी भन्छन्, ‘समयको ख्याल नगर्ने हो भने गन्तव्यमा नपुगिन सक्छ ।’

उनको मुख्य गन्तव्य हो- हेल्थ टुरिजम । नेपालको प्राकृतिक चिकित्सामा विदेशीलाई आकर्षित गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । वातावरणका हिसाबले पनि नेपाल प्राकृतिक चिकित्साको मुख्य गन्तव्य बन्नेमा उनी विश्वस्त छन् । हेल्थ टुरिजमको प्रवर्धनका लागि हेल्थ रिसोर्ट खोल्नु उनको अन्तिम लक्ष्य हो, जहाँ अस्पतालको वातावरणमा प्राकृतिक उपचार प्रदान गर्न सकियोस् । फिनेलको गन्ध उड्ने भवनमा होइन, रिसोर्टको प्राकृतिक वातावरणमा बिरामीले उपचार सेवा लिन सकुन् । उपचार गरिरहेको थाहै नपाई बिरामीलाई सञ्चो होस् ।

२०३३ सालमा जन्मिएका युवा उद्यमी बस्नेत हेल्थ रिसोर्टमा करिब ३०० जनालाई रोजगारी दिन सकिने बताउँछन् । अबको करिब पाँच वर्षपछि १५ करोड लगानीमा खोलिने हेल्थ रिसोर्ट उनको जीवनकै ठूलो प्रोजेक्ट हुनेछ ।

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु