गृहपृष्ठ स्वास्थ्य मन्त्रालयमा दुई सचिवको लफडा

स्वास्थ्य मन्त्रालयमा दुई सचिवको लफडा

सचिव चौधरी हाजिर गरेर घर फर्किन्छिन्

health-ministry-newskarobar

स्वास्थ्य मन्त्रालयमा सचिवबीचको लफडाले मन्त्रालयका महत्वपूर्ण काम प्रभावित भएको छ । दुई सचिवको जिम्मेवारीको विवादले केही साता यता मन्त्रालयका महत्वपूर्ण गतिविधि ठप्प छन् ।

मन्त्रालयकी सचिव पुष्पा चौधरीलाई सरकारले प्रधानमन्त्री कार्यालयमा रमाना दिँदै अर्काे सचिव पठाएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ७ गते सचिव चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तानेका थिए ।

मापदण्ड नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिएको आरोपमा उनलाई कारबाही स्वरुप प्रधानमन्त्री कार्यालयमा तानीएको थियो । सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएपछि डा. सुशील प्याकुरेललाई स्वास्थ सचिव बनाईयो ।

मन्त्रिपरिषद् कार्यालयमा चौधरीलाई रमाना दिइयोे । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वास्थ्य सचिवको दरबन्दी नभएको भन्दै चौधरीले रमना बुझ्न मानिनन् । सचिव सरूवा गर्दा मन्त्रिपरिषदबाट निर्णय गर्नु पर्ने भए पनि प्रक्रिया नपुर्याई सरूवा गरेको भन्दै चौधरी सर्वोच्च अदालत गइन् ।

कात्तिक १५ को सरकारको कदमविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी उनलाई १६ गते प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ‘यथावत् काम गर्नू’ भन्ने आदेश दियो । त्यसपछि १८ गतेबाट उनी पुन स्वास्थ मन्त्रालयमै हाजीर गर्न जान थालेकी छिन् ।

तर मन्त्रालयमा उनको कार्यकक्षमा अर्काे सचिव डँ. प्याकुरेल बसेका छन् । सचिव चौधरीको नाम र फोटो मन्त्रालयले पनि आफ्नो आधिकारिक वेवसाइटबाट हटाइएको छ ।

सर्वाेच्चले चौधरीलाई स्वास्थ मन्त्रालयमै फर्कर्ने आदेश दिए पनि सरकारले अर्काे सचिव पठाइसकेकोले मन्त्रालयमा अहिले २ सचिव भएका छन् ।

एक सचिवको दरबन्दी भएको मन्त्रालयमा २ सचिव भएपछि अर्का सचिव प्याकुरेल पनि अलमलिएका छन् । उनले कुनै नीतिगत निर्णय लिन सकेका छैनन् । जस कारण स्वास्थ क्षेत्र जस्तो शंवेदनशिल विषयमा महत्वपूर्ण निर्णय हुन सकेको छैन ।

यता चौधरी भने मन्त्रालयमा हाजीरमात्र गरेर घर फर्किरहेकी छन् । उनले कुनै जिम्मेवारी पाएकी छैनन् । उनी भन्छिन्, ‘म सर्वोच्चको आदेशअनुसार मन्त्रालयमा हाजिर भएकी हुँ, तर सरकारले आदेश पालना गरेन, मलाई जिम्मेवारी दिईएको छैन ।’ सरकारको निर्णयले मन्त्रालयमा दुई जना सचिव भएको उनले बताइन् ।

उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने सर्वाेच्च अदालतले आफ्नो निर्णयमा हस्तक्षप गरे भन्दै असन्तुष्ट छ । आफ्ना सचिवलाई जहाँ पनि काम लगाउन सक्ने उसको तर्क छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवर भन्छन्, ‘स्वास्थ मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयमा रमाना दिईएको हो, त्यहा अर्काे सचिव कार्यरत छन्, अरु कुरा हामीलाई थाहा भएन ।’

प्रकाशित समय २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु