गृहपृष्ठ प्रदेश २ : करार कर्मचारी विधेयकमा झमेला, संसद बैठक अवरुद्ध
प्रदेश २ : करार कर्मचारी विधेयकमा झमेला, संसद बैठक अवरुद्ध
संशोधन टेबुल नभएसम्म संसद चल्न नदिने नेकपाको अडान
प्रदेशसभा बैठकमा उठेर विरोध जनाउँदै नेकपाका सांसदहरू ।
प्रदेश २ सरकारले छलफल नै नगरी प्रदेशसभामा करार कर्मचारी विधेयक, २०७५ ल्याएपछि बैठक अवरुद्ध भएको छ ।
विधेयकमा छलफल नै नगरी प्रदेशसभामा प्रस्तुत गर्न खोजिएको भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विरोध गरेको थियो । आफूहरुले संशोधनको माग गरे पनि विधेयकलाई पारित गर्ने कार्यसूची राखिएपछि त्यसको विरोध गरिएको नेकपाका सांसदहरुले बताएका छन् ।्
नेकपाका सांसद सुन्दर बहादुर विश्वकर्माले आफूहरुले सो प्रस्तावमाथि संशोधन गर्न माग गरे पनि विधेयक पारित गर्ने कार्यसूचिमा राखिएपछि त्यसको विरोध गरेको बताए । प्रदेशसभामा नेकपाका सांसदहरुले उठेर विरोध गरेपछि बैठक स्थगित भएको हो ।
आफूहरुले दर्ता गराएको संशोधन प्रस्ताव बेवास्ता गर्दै मुख्य न्यायाधीवक्तालाई भर्ना सिफारिस समितिको संयोजकमा राखिकाले त्यसको विरोध गरेको नेकपाका संसदीय दलका नेता रामचन्द्र मण्डलले बताए । सांसद विश्वकर्माले मुख्य न्यायाधीवक्ताको मर्यादाको ख्याल नगरी कर्मचारी सिफारिस समितिको संयोजक बनाइएको भन्दै आपत्ति जनाएका थिए । उनले संविधानको धारा ९७ को गलत व्याख्या गरेर मुख्य न्यायाधीवक्तालाई कर्मचारी सिफारिस समितिको संयोजक बनाइएको आरोप लगाए ।
नेकपाका सांसदहरुले आफूहरुले दर्ता गरेको संशोधन प्रस्ताव टेबुल नभएसम्म संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठक स्थगित गरेका हुन ।
प्रकाशित समय १६:२० बजे

















