गृहपृष्ठ रानीपोखरीमा प्रयोग गरिएको कङ्क्रिट हटाउन १६ लाख
रानीपोखरीमा प्रयोग गरिएको कङ्क्रिट हटाउन १६ लाख

काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री ९कङ्क्रिट० हटाउनका लागि १६ लाख रुपैयाँ लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिए । आचार्यले भने ‘अबको एक हप्तामा हटाइने आधुनिक निर्माण सामग्रीका लागि बोलपत्र आह्वान गरिने छ, ढिलोमा आगामी जेठ १५ गतेबाटै पुनःनिर्माणको काम शुरु हुन्छ ।’
परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब चार महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको छ । गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीचको छलफलले उक्त निर्णय गरेको थियो । हालसम्मको पुनःनिर्माणका क्रममा दुई करोड ३० लाख रुपैयाँ खर्च भएको छ । भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० रुपैयाँ लाग्ने अनुमान छ।
प्रकाशित समय १६:५१ बजे

















