गृहपृष्ठ धनुषामा बजार अनुगमन तीव्र
धनुषामा बजार अनुगमन तीव्र
बाख्राको मासु बेच्ने व्यापारी पक्राउ
संयुक्त बजार अनुगमन समिति धनुषाले बजार अनुगमनलार्इ तीव्रता दिएको छ । समितिले मंगलबार पनि जनकपुरमा बजार अनुगमन गर्यो ।
अनुगमनको क्रममा बाख्राको मासु बेच्ने एक व्यापारीलाई समितिले जनकपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमगाउँ–११ बिहारका करिब २४ वर्षिय असलम राईन रहेको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
स्थानीयको गुनासोको आधारमा मासु पसलमा अनुगन गर्दा खशीको मासु भनेर बाख्राको मासु बिक्रिबितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको अनुगमन समितिले जनाएको छ । अनुगमन टोली पुग्ने बित्तिकै उनले मासु लुकाउन खोजेका थिए ।
जनकपुरको जानकीनगर निवासी असलम राईनले सञ्चालन गरेको मासु पसलमा असलम करिव ५ महिनादेखि मजदुरको रुपमा काम गर्दै आएका थिए । होटल तथा भोजभतेरमा खशीको मासु अर्डर गर्दा बाख्राको मासु मिसावट गरेर बिक्रि गर्दै आएको उनले पत्रकार समक्ष स्वीकार गरेका छन् ।
असलमलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । पसल सञ्चालक अमिन राईन जनकपुर बाहिर रहेको र सम्पर्कमा आएपछि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने अनुगमन टोलीले जनाएको छ । माछा बजारमा यसअघि करिब ३ महिना अगाडि समेत बाख्रा बेच्ने एक व्यापारी पक्राउ परेका थिए ।
जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिँदै मंगलबार पानी उद्योग र पसललाई केन्द्रित गरी अनुगमन गरेको थियो । अनुगमनको क्रममा जनकपुरको थापा चोकमा रहेको जनक नन्दिनी पानी उद्योग र महुवा कपलेश्वरमा रहेको आर.एम.सी.पानी उद्योगमा ताल्चा लागेको पाइयो । दुवै उद्योगले पानी जाँच गराएर लिनुपर्ने अनुज्ञापत्र नवीकरण नगराएको अनुगमन टोलीले जनाएको छ ।
दुवै उद्योग संचालकलाई कागजपत्र सहित हाजिर हुन फोनमार्फत निर्देशन दिइएको बताइएको छ । यस्तै जनकपुर–१३ स्थित विजय साहले सञ्चालन गरेको विशाल फिङगर उद्योग अव्यवस्थित हुनुको साथै कागजपत्र दुरुस्त नभएकोले सात दिन भित्र व्यवस्थित गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै जनकपुरको पिडारी चोक र रामानन्द चोकमा रहेको पसलहरुमा पनि अनुगमन गरिएको थियो । दर्ता प्रमाणपत्र, सामाग्रीको म्याद लगायतमा केन्द्रित गरी अनुगमन गरेको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले बताए ।
यसअघि सोमबार जनकपुर–७ स्थित पेठिया बजारमा जयप्रकाश चौधरीले संचालन गरेको अम्बर धारा, जनकपुर–८ स्थित प्रभुनन्दन साहले सञ्चालन गरेको महामाया धारा प्रा.लि. र जनकपुर–४ स्थित अजित कुमार रायले सञ्चालन गरेको ग्लोबल एकवा पानी उद्योगमा शिल गरिएको थियो भने आइतबार जनकपुरको जिरो माइलमा मोहम्मद कमालले संचालन गरेको स्टायलिस्ट एकवा प्रा.लि. र महुवा कपलेश्वरमा धर्मनाथ मंडलले संचालन गरेको गंगाजल पानी उद्योग मापदण्ड विपरित संचालन रहेको भन्दै शिल गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता समितिका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता थियो ।
प्रकाशित समय १९:५३ बजे
















