गृहपृष्ठ कांग्रेस जिल्ला सभापतिहरूको बैठक ककनीमा आजदेखि
कांग्रेस जिल्ला सभापतिहरूको बैठक ककनीमा आजदेखि
नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको बैठक नुवाकोटको ककनीमा हुने भएको छ । कांग्रेसको मंसिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मंसिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो ।
कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट कांग्रसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिए ।‘कांग्रेसको विधान संशोधन समितिमा रहनुभएका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरूको समान धारणा बनाउँछौँ,’ उनले भने ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनको भनाइ थियो । नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताए ।
बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उनको भनाइ छ । यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेला धादिङको गजुरीमा मंसिर १४ र १५ गते हुन लागेको छ ।
(रासस)
प्रकाशित समय ०८:५९ बजे
















