गृहपृष्ठ बेमिसाल विजयबाबु

बेमिसाल विजयबाबु

 

२०५४ सालको कुनै दिन । दुई वर्ष जिल्ला संवाददाताका रूपमा काम गरिसकेपछि म ‘आजको समाचारपत्र’मा काम गर्नका लागि भर्खर काठमाडौं छिरेको थिएँ । रिपोर्टर्स क्लब भर्खर स्थापना भएको थियो, केही विषयमा साक्षात्कार थियो ।

त्यहाँ मैले केही प्रश्न राखेलगत्तै सेतो टिसर्ट लगाएका एकजना पत्रकार मित्र नजिकै आए र सोधे– गजेन्द्र बुढाथोकी हो ?
मैले ‘हो’ भनेपछि उनले आफ्नो परिचय दिए– ‘म विजयबाबु खत्री, पत्रिका सातदिनेमा काम गर्छु, रिपोर्टर्स क्लबमा कोषाध्यक्ष पनि छु ।’

त्यही दिन उनले आफ्नो पहिलो फिचर देखाए, पछिल्लो पेजमा छापिएको । ‘दाइका फिचरहरू मलाई औधि मन पर्छन्, मैले कति दिनदेखि भेट्न खोजिरहेको थिएँ,’ उनले भने । यसरी फिचरवार्ताबाट सुरु भएको हाम्रो मित्रता १४ वर्षसम्म अटुट रह्यो ।

उनी मलाई ‘नेता दाइ’ भन्थे । प्रायः कार्यक्रममा हामी सँगै हिड्थ्यौं । आजको समाचारपत्रका तत्कालीन ब्युरो चिफ विमल नेपाल अमेरिका गएपछि आर्थिक ब्युरो मेरो जिम्मामा आइलाग्यो ।

‘मुला दाइ ! ठूलो मान्छे भइगयौ नि !’ उनले मेरो पेजरमा पठाएको सन्देश थियो ।
उनी शाकाहारी थिए, माछामासु, मदिरा, चुरोट केहीको लत थिएन तर कार्यक्रमहरूमा उनी अन्तिम समयसम्म बस्थे । ‘यसरी अन्तिमसम्म बस्दा न्युजसोर्स बन्छ,’ उनैले सिकाएको सूत्र थियो यो ।
मेरो सवारीसाधन नभएकाले त्यतिखेर अलि छिटो हिँड्थेँ । तर विजयबाबु ‘हे दाइ ! म पु¥याइदिहाल्छु नि !’ भनेर आफ्नो मोटरसाइकलमा राखेर मलाई कोठामा छाडिदिन्थे । वियजबाबु स्रोत बचाउने कुरामा सचेत थिए । आज मैले भन्नैपर्ने हुन्छ । कतिपय समाचारहरू हामी दुई भाइ एक–आपसमा सल्लाह गरेर लेख्थ्यौं ।

ठूला मिडिया हाउसमा भर्खर प्रवेश गरेका रिपोर्टरहरूलाई राम्रो बिट नदिने, दिए पनि स्ट्रिन्जरमा राख्ने, अग्रजहरूले गाइड नगर्ने आमप्रवृत्ति छ । आर्थिक पत्रकारिता त्यतिबेला अहिलेजस्तो विषयगत रूपमा बाँडिसकिएको थिएन । अझ साना र मध्यम मिडियामा त दुई–तीन जनाले पेज सम्पादनदेखि भएभरका समष्टिगत अर्थतन्त्रका सबै विधाको रिपोर्टिङ भ्याउनुपथ्र्यो । विजयबाबुलाई सूचना प्रविधिमा अलि बढी रुचि थियो । पहिलो क्यान इन्फोटक– १९९८ का समयमा प्रविधिसम्बन्धी रिपोर्टिङ गर्ने हामी दुई जनामात्र अलि सक्रिय थियौं । त्यही इन्फोटेकले विजय र मलाई झन् नजिक्यायो । सूचनाप्रविधिमा चाखो राख्नेमात्र होइन, त्यस्ता सामग्रीलाई पहिले नै चलाउने उनको स्वभाव थियो । सम्भवतः डिजिटल क्यामेरा बोक्ने उनी पहिलो पत्रकार थिए । उनीसँग फ्लपी डिस्क हाल्ने डिजिटल क्यामेरा थियो, त्यो क्यामेराबाट हामीले भैरहवा जाँदा खिचेको तस्बिर धेरैपछिसम्म उनले आफ्नो कम्प्युटरमा सुरक्षित राखेका थिए ।

पछि विजयले नै आईटी जर्नालिस्ट फोरम बनाऊँ भनेर प्रस्ताव राखे । म संयोजक, विजय सचिव, नेपालन्युजका सञ्जयजी (थर बिर्सें) कोषाध्यक्ष थियौं तर यो फोरमले त्यति सक्रिय रूपमा काम गरेन । नभए पनि सेजनका फोरममार्फत क्यानसँग मिलेर दुई–तीनवटा अभिमुखीकरण कार्यक्रम चलायौं भने इनेटमार्फत सेजनमा इन्टरनेट जोड्ने काम गर्यौं ।

काठमाडौंभित्र मात्र होइन, विजय र म मोफसलतिर पनि सँगै पुग्यौं । कहिले रुपन्देही र कपिलवस्तुका गाउँबस्तीमा लघुवित्तका कथा केलाउन होस् त कहिले तनहुँका फाँटहरूमा मौरीका घार गन्न । भैरहवामा विजयबाबुका बुवाको जमिन थियो, कसैले त्यो जमिनमा कमाइ गरेर खाइरहेको थियो । विजयबाबुको पैसाका लेनदेनका मामिलामा मैले उक्त व्यक्तिसँग झगडासमेत गरेँ तर शान्त स्वभावका विजयले उल्टै मलाई ‘दाइ झगडा नगर, पैसा त म जसरी पनि लिइहाल्छु नि’ भनेर ल्याए ।

दुर्भाग्यवस ! २०६५ साल असोज ८ गते म सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएँ । मलाई पुनः स्वस्थ अवस्थामा ल्याउनका लागि धेरै आर्थिक पत्रकार साथीहरूले अतुलनीय योगदान गर्नुभयो । जसका लागि म सबैप्रति आजीवन आभारी छु । त्यसको भोलिपल्टदेखि नै मेरो उपचार प्रक्रियामा दिनरात नभनीकनै डीआर आचार्यदेखि किरण नेपाल, विजयबाबु खत्री, गोकर्ण अवस्थी, प्रेम खनाल, यम विरही, बाबुराम दाहाललगायतका साथीहरूले निकै पहल गर्नुभयो । उपचारका क्रममा दिदी गंगा शर्माले पनि त्यसमा ठूलो सहयोग गर्नुभयो । सबैको बीचमा पनि मित्र विजयबाबु, मेरो मेरुदण्डको अपरेसन भएकै दिन बी एन्ड बी अस्पताल पुगेका रहेछन् । मलाई भर्खरै अपरेसन थिएटरबाट बाहिर निकालेको र म बेहोसीको अवस्थामा थिएँ । उनी मेरो छोरासँगै रोएछन् ।

झन्डै ६ महिनापछि अस्पतालबाट बाहिर आएपछि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. जीवा लामिछानेले एचपी मिनी ल्यापटपसहित केही नगद हस्तान्तरण गर्नुभयो । त्यही ल्यापटपको सहारामा कलंकीस्थित कोठामै बसेर लेख लेख्ने र विभिन्न मिडियामा पठाउने काम गर्दै थिएँ । एक दिन विजयबाबु पुगे ।

‘दाइ अब घर बसेर भएन । फिल्डमा काम गर्नुपर्यो ।’
‘म त रिपोर्टिङमा जान सक्दिन,’ मैले निरीहता प्रकट गरेँ ।
‘रिपोर्टिङमा को जान्छ त बूढा ? डेक्समा बसेर सम्पादक बन्ने,’ विजयले भने ।
खासमा भएको के रहेछ भने तत्कालीन दैनिकीडटकम र नागरिक समूह मिसिइसकेपछि ब्रोडसिट दैनिकका रूपमा निकाल्ने तयारी भइसकेको दैनिकीडटकम बन्द गर्ने अवस्था आएको रहेछ । अनलाइनमा निकै राम्रोसँग स्थापित भइसकेको दैनिकी बन्द गर्न नहुने पक्षमा भएका विजयबाबुसहितका साथीहरूले नेतृत्वका लागि मलाई आग्रह गरे । विजयबाबु भने नागरिकमै आबद्ध भइरहे । तर, उनी र म बारम्बार आर्थिक दैनिक निकाल्ने कुरा गरिरहन्थ्यौं ।

दैनिकीलाई पत्रिकाका रूपमा निकाल्नबाट मुख्य लगानीकर्ता हच्किएपछि विजयबाबुले छुट्टै दैनिक निकाल्ने प्रस्ताव राखे । मेरो हिँड्डुलसम्बन्धी समस्या भएकाले प्रधान सम्पादक प्रतीक प्रधान राखेर आर्थिक पत्रिका निकाल्ने कुरा हुँदा मैले मेरो म्यागजिनको नाम- कारोबार नै दैनिकका रूपमा लैजान सहमति जनाएँ । पत्रिकामा लगानीका लागि विजयले गैरआवासीय नेपाली भवन भट्टसँग पहल गरे । यसरी प्रतीक दाइले समग्र नेतृत्व गर्ने, विजयबाबुले रिपोर्टिङ शाखासहित व्यवस्थापकीय पक्ष पनि हेर्ने र मैले सम्पादन विभाग र पत्रिकाको सम्पादकीय नीति, स्टाइल बुकसहितका विषय हेर्ने गरी ०६६ साल भदौ अन्तिम साता कारोबार आर्थिक दैनिक दर्ता भई असोजमा नमुना अंकसमेत निकाल्यौं ।

पत्रिकाको कार्यालयका फर्निचर व्यवस्थापनदेखि कम्प्युटर र जनशक्ति व्यवस्थापनमा विजयबाबुले निकै मेहनत गरे । जनशक्ति ल्याएर उनीहरूलाई आन्तरिक रूपमा प्रशिक्षित गरेर सिद्धहस्त पत्रकार बन्नेसम्मको वातावरण बनाइयो । विजयबाबु काम र गुणस्तरमा सम्झौता गर्दैन थिए । कसबाट कसरी बढी उत्पादकत्व दिन-लिन सकिन्छ भनेर हरेक ट्रिक लगाउँथे । पत्रिकाको काम सकेर साँझ सबै पत्रकारहरूलाई ‘माइ नेम इज खान’ सिनेमा हेर्न लैजानेदेखि मध्यरात (११-१२ बजे) स्टाफ पु¥याउँदै फर्किंदा कहिले चाबहिल त कहिले सामाखुसी त कहिले दरबारमार्गमा स्ट्रिट फुड्स खुवाउनेसम्मका काम गर्थे । आफू माछामासु खाँदैन थिए तर साथीभाइका लागि केएफसीबाट मासुका परिकार ल्याउनेदेखि बियरसमेत खोलेर ‘तपाईंहरु खानुस् न म मजा लिन्छु’ भन्थे ।

जब कारोबार दैनिकले एउटा उचाइ लिन थाल्यो, त्यसपछि यसलाई अझ विस्तार गर्ने उनको सोचलाई मूर्त रूप दिने क्रममा २०६८ मंसिर १२ गते सोच्नै नसकिने भयावह सडक दुर्घटनामा विजय हामी सबैबाट बिदा भए । समाचार अपत्यारिलो थियो, अविश्वासिलो थियो, सोच्न नसकिने थियो । तर, जे नहुनु थियो, त्यही भयो । दाजुलाई सडक दुर्घटनामै गुमाएका विजयबाबु पनि त्यही नियतिको सिकार भए । त्यो हृदयविदारक घटना कालक्रममा बिर्सिएजस्तो भए पनि विजयबाबु हामी सबैका स्मृतिमा अविचल बसेका छन् ।

विजयबाबुले कोरेको गोरेटो आज मूल बाटो भएको छ । यो मूल बाटोकै कारण उनलाई सम्झनामात्र होइन, सधैं सम्मान र स्मरण गरिरहनुपर्छ । यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु