गृहपृष्ठ लालबाबु पण्डितले शिलान्यास गरेको भ्यू-टावर एयरदूरीमा

लालबाबु पण्डितले शिलान्यास गरेको भ्यू-टावर एयरदूरीमा

ठूला जहाज अवतरणमा असर पर्छ : प्राधिकरण

view-tower-newskarobar

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्तिक १८ गते विराटनगर- ३ स्थित दूधफारमा निर्माण हुने भ्यू- टावरको शिलान्यास गरे । विराटनगर महानगरपालिकाले निर्माण गर्न लागेको उक्त भ्यू-टावर महानगर प्रमुख भीम पराजुलीसहित मन्त्री पण्डितले शिलान्यास गरेका हुन् ।

मन्त्री र महानगर प्रमुखले शिलान्यास गरेको भ्यू-टावर निर्माण सुरु नहुँदै विवादित बन्न पुगेको छ । कारण हो त्यसको अवस्थिति । निर्माणको क्रममा रहेको भ्यू-टावरले विराटनगरस्थित विमानस्थलमा अवतरण गर्ने जहाजलाई अवरोध गर्ने विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एयरदूरीभित्रै भ्यू-टावर !
उक्त भ्यू-टावर विराटनगर विमानस्थलदेखि एक किलोमिटरको दूरीभित्रै पर्दछ । भ्यू-टावर निर्माण गरिन लागिएको क्षेत्र विमानस्थलको एयर दूरीभित्र मात्र छैन, महत्वपूर्ण दिशामा पनि छ । भ्यू–टावर निर्माण भए त्यसले अवतरण गर्ने ठूला जहाजलाई प्रत्यक्ष असर पार्ने विमानस्थल स्रोतले न्युज कारोबारलाई बतायो । एयरदूरी भित्रै र उत्तर-पूर्वी भागमा पर्ने भएकाले त्यसले विमानस्थलाई आगामी दिनमा अफ्ठेरो पार्ने स्रोतको दावी छ ।

view-tower5-newskarobar

विमानस्थलको उत्तरपूर्वी क्षेत्र जहाज उडान तथा अवतरणका लागि पनि महत्वपूर्ण मानिन्छ । जसका कारण ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयरदूरीलाई यसले समस्या पार्ने विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाको भनाई छ ।

प्राधिकरणको पत्र : भयो अलपत्र
ठूला जहाज अवतरणमा आवश्यक एयरदुरीभित्र पर्ने यो टावर निर्माणको विषयमा प्राधिकरणले महानगरलाई पत्र लेखेको भए पनि त्यसको बेवास्ता गरिएको सिटौलाको दावी छ । उनका अनुसार ठूला जहाजले ४-५ नटिकल माइलमा (१ नटिकल माइलमा १८५० मिटर हुन्छ) धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछन् । भ्यू-टावर बन्ने स्थान र विमानस्थलको दुरी एककिलोमिटर भित्रै पर्दछ ।

नागरिक उड्डयन कार्यालयले एयर ट्राफिकिङको समस्या बारे जानकारी गराउँदा गराउँदै पनि महानगरले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बोलाएर १ सय १० मिटर अग्लो संरचना बनाउन शिलान्यास गरेको हो ।

view-tower1-newskarobar

कानुनी प्रावधान पनि मिचियो
विमानस्थलको पेरीफेरीमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधानलाई मिचेर महानगरका प्रमुख तथा त्यहाँका इन्जिनियर समेतले गलत मनसायमा भ्यू-टावर निर्माणको काम बढाउने तयारी थालिएको बताइएको छ । विमानस्थल पेरिफेरीमा निर्माण हुन लागेको भ्यू-टावरको काम तत्काल रोकिनु पर्ने मागसहित कार्यालयले महानगरपालिकालाई पत्राचार समेत गरिसकेको छ । तर, महानगरले त्यसको जवाफ नदिएको प्राधिकरण स्रोत बताउँछ ।

विमानस्थल विस्तार तथा स्तरोन्नतीको तयारीमा रहेका बेला महानरले बनाउने भनिएको भ्यू टावर त्यसको चुनौती बन्ने देखिएको छ । अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल विस्तारको गुरु योजना तयार पारिरहेको समयमा महानगरले भने त्यही पेरिफेरीमा भ्यू-टावरको शिलान्यास गरेपछि नागरिक उड्यनन प्राधिकरणलाई अफ्ठ्यारो परेको प्रमुख सिटौला बताउँछन् ।

biratnagar-airport-newskarobar

महानगरले सोधेको थियो विमानस्थल प्रशासनलाई
विराटनगर महानगरले भ्यू टावर बनाउने सम्बन्धमा विमानस्थल प्रशासनलाई जानकारी दिँदै असर गर्ने या नगर्ने भनी सोधेको भने थियो । तर, भ्यू- टावर निर्माण गरिए त्यसले एयर ट्राफिकमा असर पुग्ने जानकारी गराएको विमानस्थल स्रोत बताउँछ । आफूहरुले सुझाव दिएको भए पनि महानगरले भने आसपासको क्षेत्रमा भ्यू टावर निर्माणको लागि शिलान्यास गरेर काम थालिएको उसको दावी छ ।

विमानस्थल नजिकै रहेको यो क्षेत्रमा विमान अवतरण हुँदै नजिकै आइसकेको हुन्छ । जसका कारण टावर बने विमानस्थलमा जहाज अवतरण गर्नै नसकिने बताइन्छ । ‘पूर्व-संभाव्यता र यकिन संभाव्यता अध्ययनसहित गुरुयोजना बन्ने प्रक्रियामा रहेको विमानस्थलका लागि महानगरले नै भ्यू टावर निर्माण गर्न लागेको विषय समेत थप चुनौती हुने देखिएको छ,’ प्राधिकरण प्रमुख सिटौलाले भने, ‘कानुन र मापदण्ड विपरित बन्ने संरचना कुन तरिकाले शिलान्यास गरियो ?’

असर नगर्नेमा ढुक्क छौं : महानगर
उता विराटनगर महानगर भने भ्यू–टावरले विमानस्थललाई असर नगर्ने दावी गर्छ । महानगर प्रमुख भीम पराजुली आफूले विमानस्थललाई असर पर्ने या नपर्ने भनी पहिले नै बुझेको उल्लेख गर्दै असर नगर्नेमा ढुक्क रहेको दावी गर्छन् । उनले आफूले प्राविधिक तथा विज्ञसँग समेत परामर्श गर्दा जहाज उड्ने र बस्ने क्षेत्रभित्र नपर्ने भएकोले समस्या नहुने जिकीर गरे ।

biratnagar-metropolitancity-newskarobar

‘हामी डिपिआरको तयारीमा छौं । यसले नागरिक उड्डयन प्राधिकरणको कुरालाई पनि एडजष्ट गर्छ । हामी अहिले इनिसियल फेजमा छौं यसो हुँदा मान्छेको बुझाई त्यो हुन सक्छ,’ महानगर प्रमुख भीम पराजुलीले न्युज कारोबारसँग भने, ‘तर हामीले बनाउने भ्यू-टावर कुनै पनि किसिमले प्राविधिक हिसाबमा पनि उडानलाई समस्या नहुने गरि छलफल गरेर अगाडी बढाउँछौँ । भोलि समस्या आउँदैन ।’

प्रकाशित समय ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु