गृहपृष्ठ बढ्दै छ सेयर बजारको दायरा, विश्लेषक भन्छन्- अझै बढ्नुपर्थ्यो
बढ्दै छ सेयर बजारको दायरा, विश्लेषक भन्छन्- अझै बढ्नुपर्थ्यो
प्राविधिक उन्नतिसँगै केही वर्षयता नेपालको सेयर बजारको दायरा फराकिलो हुँदै गएको छ । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल राष्ट्र बैंकलगायतको सक्रियता बढ्दै जाँदा बजार विस्तार हुँदै गएको हो ।
मुख्यतः धितोपत्र बोर्डले तीन–चार वर्षयता आस्वा प्रणाली कार्यान्वयनलगायतका महत्वपूर्ण काम अघि बढाएपछि बजार विस्तारमा सहयोग पुगेको छ । तीन वर्षअघि मार्केट डेप्थ (सेयरको आपूर्ति र मागको अवस्था) हेर्न मिल्ने व्यवस्थासँगै लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम दैनिक सवा २ अर्बसम्म पुग्यो ।
कम्पनीहरुको पुँजीवृद्धिका कारण सेयर संख्या चार गुणाभन्दा धेरैले बढेका बेला बजारमा केही संकुचन देखिए पनि सेयर गतिविधि भने देशका विभिन्न भागसम्म फैलिएको छ । ब्रोकर कार्यालयहरु पनि पुतलीसडकबाट निस्किएर देशका ठूला सहरसम्म पुगेका छन् । अहिले बिर्तामोड, विराटनगर, भरतपुर, रुपन्देहीलगायत स्थानबाट सहजै सेयर खरिद–बिक्री गर्न सकिन्छ ।
कात्तिक २० गतेबाट अनलाइन कारोबार सुरु भएपछि नेपालको सेयर बजार विश्वभर पुगेको छ । यससँगै विश्वको जुनसुकै देशका रहेका नेपालीले सेयर खरिद–बिक्री गर्न सक्ने ढोका खुलेको छ । यद्यपि, स्वचालित खरिद–बिक्रीका लागि भने अझै समस्या छ । अनलाइन कारोबारलाई पूर्ण स्वचालित बनाउन धितोपत्र बोर्ड र नेप्सेले काम गरिरहेका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी स्वचालित अनलाइन कारोबार सकेसम्म चाँडो गराउन मेहनत गरिरहेको बताउँछन् ।
सेयर कारोबारको दायरा फराकिलो हुनुमा आस्वा प्रणाली, सेयर सचेतना, धितोपत्र बोर्डको सक्रियता र नेप्सेमाथिको दबाब मुख्य कारकका रुपमा रहेका छन् ।
आस्वा प्रणाली
धितोपत्र बोर्डले आस्वामार्फत देशभरबाट आईपीओ भर्न सक्ने नीतिगत व्यवस्था गरेसँगै नेपालको सेयर बजार गाउँ–गाउँसम्म पुग्न सहयोग पुग्यो । आस्वा कार्यान्वयनमा आएपछि दुर्गमका बासिन्दाले पनि आईपीओ भर्न पाएका छन् । त्यसयता उनीहरुले जलविद्युत आयोजना र लघुवित्त कम्पनीहरुको सेयर खरिदको अवसर पाएका छन् ।
यही बीचमा स्थानीय तहमा अनिवार्य बैंकका शाखा पुर्याउने राष्ट्र बैंकको नीतिका कारण पनि सेयर बजार दुर्गमका बासिन्दाको पहुँचमा पुग्न थप सहज भयो । बैंकका शाखा दुर्गम क्षेत्रमा खुल्दै जाँदा सेयर बजार पनि देशका कुना–कुनासम्म विस्तार हुँदै गएको छ । सबै वाणिज्य बैंकका शाखाबाट डिम्याट अकाउन्ट खोल्न सकिने व्यवस्था भएका कारण दुर्गमका बासिन्दा लाभान्वित भएका हुन् ।
सेयर साक्षरता
तीन–चार वर्षयता सेयर साक्षरताका लागि धेरै कामहरु भएका छन् । सरकारी र निजी क्षेत्र दुवैबाट यसको प्रयास भइरहेको छ । सेयर तालिम केन्द्रहरु पनि खुलेका छन् । राजधानीबाट सुरु भएको सेयर साक्षरता अभियान ४०–४५ जिल्लासम्म पुगिसकेको छ । तीन वर्षको अवधिमा करिब ४० जिल्लामा सेयर साक्षरता कार्यक्रम सञ्चालन गरिएको बोर्डका प्रवक्ता गिरी बताउँछन् । ‘हामी जहाँ–जहाँ पुगेका छौं, त्यहाँका लगानीकर्ता पुँजीबजारप्रति एकदमै उत्साहित भएको पाएका छौं,’ उनले भने, ‘आईपीओ भर्न पाए पनि दोस्रो बजारमा कारोबार गर्न नपाउँदा भने उनीहरु खिन्न छन् ।’
निजी क्षेत्रको सेक्युरिटी रिसर्च सेन्टर एन्ड सर्भिसेस (एसआरसीएस) ले पनि यसबीचमा देशका १५ भन्दा बढी सहरमा सेयर साक्षरता कार्यक्रम सञ्चालन गरिसकेको छ । त्यस्तै, जिल्ला–जिल्लामा खोलिएका वित्तीय संस्थाहरुले पनि सेयर साक्षरता कार्यक्रम अघि बढाउन थालेका छन् ।
प्रदेश ५ का केही जिल्लामा सेयर बजारबारे लगानीकर्तालाई जानकारी गराउने प्रयास सुरु भएको छ । निजी क्षेत्रबाट सेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने तरिकाबारे जानकारी गराइएको हो । नेपाल इन्भेस्ट कम्पनी रुपन्देहीका अध्यक्ष कमल तिवारीले पाल्पा, कपिलवस्तुका साथै रुपन्देहीका शंकरनगर, बुटवललगायतका स्थानमा सेयर सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
धितोपत्र बोर्डको सक्रियता
सेयर बजार विस्तारका लागि धितोपत्र बोर्डको पछिल्लो सक्रियता प्रशंसनीय छन् । बोर्डका प्रवक्ता गिरी पुँजीबजारको विकास र विस्तारका लागि तीन वर्षको अवधिमा धेरै काम भएको बताउँछन् । ‘तीन वर्षयता फुल डिम्याट कार्यान्वयनमा आएको छ, आस्वा प्रणाली कार्यान्वयनमा आएको छ, मर्चेन्ट बैंकको सेवालाई विस्तार गराएका छौं,’ उनी भन्छन्, ‘अब वैकल्पिक लगानीको प्रक्रिया अघि बढ्दैछ ।’
अबको मुख्य लक्ष्य अनलाइन कारोबार भएको प्रवक्ता गिरी बताउँछन् । पूर्ण स्वचालित अनलाइन कारोबार कार्यान्वयनमा नआएसम्म अनलाइन कारोबार भन्नुको कुनै अर्थ नहुने उनको भनाइ छ । ‘देश–विदेशबाट दोस्रो बजारमा आफैं सेयर किनबेच गर्न सक्ने अवस्था चाँडै सिर्जना गर्छौं,’ उनले भने, ‘नेपालको सेयर बजारका लागि यो नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकर लाइसेन्स लिए भने सेयर बजार अनपेक्षित रुपमा बढ्ने उनले बताए । ‘बोर्डको नीति पनि कि ब्रोकर कार्यालयहरु गाउँ–गाउँ जानुपर्छ कि त बैंकलाई लाइसेन्स दिएर जानुपर्छ भन्ने नै हो,’ प्रवक्ता गिरी भन्छन्, ‘सेयर बजारलाई दुर्गमसम्म पुर्याउने यिनै दुई माध्यम हुन्, हाम्रो जोड यसैमा छ ।’
यसबाहेक सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढ्नुको अर्को कारण नगद लाभांश खातामै जम्मा हुने व्यवस्था पनि हो । विगत वर्षभन्दा यो वर्ष यसको प्रभाव झन् देखिनेछ । ‘यो वर्ष कम्पनीहरुले बढी नगद लाभांश बाँडिरहेका छन्,’ सेयर विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘अब आफूले लगानी गरेका कम्पनीले बैंकमा पैसा पठाएको जानकारी मोबाइलमै पाउन थालेपछि लगानीकर्तामा झन् ठूलो प्रभाव पर्छ ।’
ब्रोकर लाइसेन्स
सेयर बजारको दायरा बढाउन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने विषयमा धेरै अघिदेखि आवाज उठ्दै आएको थियो । सेयर विश्लेषक भट्टराईले विभिन्न फोरम र लेखका माध्यमबाट पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग राख्दै आएका थिए । नेपाल बैंकर संघले पनि राष्ट्र बैंकसमझ ब्रोकर लाइसेन्सको अनुमति माग गर्दै आएको थियो ।
अन्ततः चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सहायक कम्पनीमार्फत वाणिज्य बैंकहरुले सेयर ब्रोकरको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । नीतिगत व्यवस्थासँगै एनआईसी एसिया बैंक र नेपाल बंगलादेश बैंकले ब्रोकर लाइसेन्सका लागि राष्ट्र बैंकसँग सहायक कम्पनी खोल्न अनुमति माग गरेका छन् ।
त्यस्तै, सानिमा बैंकले पनि ब्रोकर लाइसेन्सका लागि राष्ट्र बैंकमा आवेदन दिनसम्बन्धी एजेन्डा साधारण सभामा लैजाँदै छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले साधारण सभाबाट पारित गरेर प्रक्रिया अघि बढाइने जानकारी दिए ।
राष्ट्र बैंकले पनि प्रक्रिया पुर्याएर आउने बैंकलाई ब्रोकर लाइसेन्स दिइने जनाएको छ । ‘ब्रोकर लाइसेन्सका लागि सहायक कम्पनी खोल्न एनआईसी एसिया, नेपाल बंगलादेश बैंकलगायतले आवेदन दिएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘नीतिगत व्यवस्था गरेर सकेसम्म चाँडो ब्रोकर लाइसेन्सको अनुमति दिन्छौं ।’
‘बजार विस्तार अझै हुनसक्थ्यो’
सेयर विश्लेषकहरु भने बजार विस्तारको यो गतिप्रति त्यति सन्तुष्ट छैनन् । नियामक निकाय संवेदनशील भइदिएको भए नेपालको सेयर बजार अहिलेसम्म धेरै फराकिलो भइसक्ने उनीहरुको भनाइ छ ।
सेयर विश्लेषक रविन्द्र भट्टराई नेप्सेले आफ्नो सिस्टमलाई समयसापेक्ष अपडेट गर्न नसकेका कारण नेपालको सेयर बजार अहिलेसम्म पनि राम्ररी फस्टाउन नसकेको बताउँछन् । ‘नेप्सेले १० वर्षसम्म प्रविधिमा कुनै परिवर्तन नल्याइकन ब्रोकर कार्यालयबाटै कारोबार गराइरहेका कारण सेयर बजार फस्टाउन सकेन,’ उनले भने, ‘दुई–तीन वर्षयता केही प्रयास भइरहेका छन् तर त्यसमा पनि झरो टार्ने खालका गतिविधि भएका देखिन्छन् ।’ साउन १ देखि कार्यान्वयनमा ल्याउन खोलिएको अनलाइन कारोबार प्रणाली साढे चार महिनासम्म पनि पूर्ण स्वचालित हुन नसक्नु यसैको उदाहरण भएको उनले बताए ।
आजका मितिसम्म पनि अनलाइन कारोबार भने लगानीकर्तालाई उल्लु बनाउने काम भइरहेको विश्लेषक भट्टराई बताउँछन् । ‘कात्तिक २० गतेदेखि धुमधामका साथ पाँच तारे होटलमा कार्यक्रम गरेर अनलाइन कारोबार उद्घाटन गरियो तर आजसम्म लगानीकर्तालाई युजर आईडी नै दिइएको छैन, ब्रोकर कार्यालयले नै कारोबार गरिरहेका छन्,’ उनले भने ।
त्यस्तै, बैंकलाई ब्रोकर लाइसेन्स दिन पनि ढिलाइ भइरहेको उनले बताए । बैंकलाई ब्रोकर लाइसेन्स दिन ढिलाइ गरिँदा आईपीओ पुगेको ठाउँमा दोस्रो बजार पुग्न नसकेको विश्लेषक भट्टराई बताउँछन् ।
प्रकाशित समय १८:४० बजे

















