गृहपृष्ठ पाहुना भेट्न प्रधानमन्त्री तीन दिन सोल्टी होटलमै
पाहुना भेट्न प्रधानमन्त्री तीन दिन सोल्टी होटलमै
धर्म प्रचार गरेको भन्दै विश्वभर बदनाम युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुने पाहुनालाई भेट्न प्रधानमन्त्री केपी ओलीले तीन दिन बालुवाटार छाड्ने भएका छन् ।
सो संस्थाले आयोजना गरेको विवादित एसिया प्यासिफिक समिटमा आएका विदेशी पाहुनालाई भेट्न भन्दै ओली होटल सोल्टीमा बसेका छन् । कुटनीतिक रुपमा असहज र अस्वभाविकता देखिने गरी ओली होटलमा बसेका हुन् ।
विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट व्यक्तिहरुसँगको भेटघाटका लागि सहज हुने हुनाले प्रधानमन्त्री होटलमै बसेका प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
विवादित कार्यक्रमका लागि आएका पाहुनालाई सरकारी निवास बालुवाटार बोलाएर भेट्दा थप आलोचना हुने डरले प्रधानमन्त्रीलाई होटल सोल्टीमै राखेर भेटघाट गराउन लागिएको अनुमान गरिएको छ । त्यसो त आउने–जाने समयको बचत गर्नका पनि बिहीबारबाटै सोल्टीमा बसेको बताईको छ । उनी शनिबारसम्म त्यहानै रहने जनाइएको छ ।
सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित भएका छन् । सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार आएका छन । उनीहरूलाई होटल सोल्टीमा राखिएको छ । न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति, पालाओ आइल्यान्डका राष्ट्र प्रमुख, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा शुक्रबार आउँदै छन् ।
उनीहरू सबैलाई सोल्टीमै प्रधानमन्त्री ओलीले रात्रिभोज दिँदै छन् । शुक्रबार साझ रात्रीभोज दिने कार्यक्रम छ ।
सम्मेलनमा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ । दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दावी छ । संविधानले निषेध गरेको धर्म प्रचारको बारेमा छलफल हुने भनिए पनि सम्मेलनमा आत्मनिर्भरता, पारस्परिक समृद्धि लगायतका विषयमा छलफल हुने आयोजकको दावी छ ।
विवादित सस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्न लागेको सम्मेलन सुरु नहुँदैबाट विवादित बन्न पुगेको छ । सम्मेलनका लागि बाँडिएका निम्तो कार्डमा गैरसरकारी संस्थाको लोगो मुनि नेपाल सरकार र संघीय संसदको लोगो प्रयोग गर्दै नेपाल सरकार कार्यक्रमको सह–आयोजक भएपछि कांग्रेसलगायतका दलले आपत्ति जनाएका थिए । संविधानले धर्म निरपेक्षतालाई अनुसरण गर्ने तर सरकार नै कुनै एक धर्मको प्रचारमा सह–आयोजक बन्न खोज्नुले संविधानको बर्खिलाफ भएको भन्दै विरोध जनाएको थियो । व्यापक विरोध हुन थालेपछि सरकार सम्मेलनको सह–आयोजकबाट फिर्ता भएर सहआयोजक नभई सहयोगी मात्रै बनेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि धर्मप्रचारक संस्थाले आयोजना गरेको विवादास्पद भेलामा सहभागी पाहुनालाइ गरिएको स्वागत अवाञ्छित रहेको बताएका छन् ।
प्रकाशित समय १८:११ बजे
















