गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो साता संसदमा पेश हुँदै

सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो साता संसदमा पेश हुँदै

काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम जेठ पहिलो साता संसद्मा पेस गर्ने तयारी थालेको छ । २३ वैशाखदेखि सुरु हुने संघीय संसद्को बजेट अधिवेशनमा प्रिबजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउने कार्यतालिका तयार पारेको हो ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार पत्रकार भेटघाट कार्यक्रममा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा हुने सम्भावित कार्यक्रमबारे जानकारी गराए । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र प्रधानमन्त्रीबाट जवाफ दिने, त्यसपछि जेठ पहिलो सातामै राष्ट्रपतिबाट प्रस्तुत गर्ने समयतालिका संसद्ले बनाएको छ ।

१५ जेठमा सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोहीबमोजिम १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने र १७ जेठदेखि एक हप्ता बजेटमाथि सैद्धान्तिक छलफल तथा अर्थमन्त्रीबाट जवाफ दिनेक्रम रहने सभामुख महराले बताए ।

२३ वैशाखमा बस्ने दोस्रो अधिवेशनको पहिलो बैठकमा भने सरकारले जारी गरेका अध्यादेश प्रस्तुत गर्ने कार्यक्रम छ । २४ गतेदेखि पाँच दिनसम्म नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ । सोही क्रममा संशोधन प्रस्तुत गर्ने र पारित गर्ने, पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गर्ने कार्यक्रम संसद् सचिवालयले अघि सारेको छ ।

सभामुख महराले २६ वैशाखदेखि तीन दिन प्रिबजेटमाथि छलफल हुने बताए । उनले भने, ‘२४ देखि २७ वैशाखसम्म विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने कार्यक्रम छ ।’

बजेटसँग सम्बन्धित विधेयक असारको तेस्रो हप्तासम्म
संघीय संसद्मा विनियोजन विधेयक तथा बजेटसँग आश्रित अन्य विधेयक प्रस्तुत गर्ने कार्यतालिकासमेत तय भएको सभामुख महराले बताए । जेठको चौथो सातादेखि असारको तेस्रो सातासम्म विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा छ । सोही समयमा विनियोजन विधेयकसहित आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गरिने सभामुख महराले बताए ।

समिति गठनमा अलमल
संसद्को बजेट अधिवेशनको प्रारम्भमै संसदीय समिति गठन नहुने भएको छ । १५ जेठभित्र सरकारले बजेट ल्याइसक्नुपर्ने भएकाले प्रिबजेटमाथिको छलफल, सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएकाले संसदीय समिति गठन असारको चौथो सातासम्म लम्बिने देखिएको हो । तर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले तयार पार्ने प्रतिवेदन भने अधिवेशनको प्रारम्भमै प्रस्तुत गर्ने सचिवालयको कार्यक्रम छ ।

प्रकाशित समय ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु