गृहपृष्ठ धरहरा निर्माणले लियो गति, सकिएला त दुई वर्षमा ?

धरहरा निर्माणले लियो गति, सकिएला त दुई वर्षमा ?

Making of Dharahara

धरहरा पुनर्निर्माणले गति लिएको  छ । भूकम्पबाट भत्किएको साढे तीन वर्षपछि अक्टुबर २ बाट धरहराको पुनर्निर्माण सुरू भएको हो । तीन अर्ब ४८ करोडको लागतमा ४२ रोपनी क्षेत्रफलमा बनाउन थालिएको धरहरा २२ तल्लाको बन्नेछ ।

धरहराको निर्माण ‘जिआइटिसी रमण जेभी’ ले गरिरहेको छ । निर्माण कम्पनी र सरकारबीचको सम्झौताअनुसार धरहराको निर्माण दुई वर्ष अर्थात २० अक्टुबर २०२० सम्ममा सक्नुपर्नेछ ।

धरहरा पुरातात्विक डिजाइनमा बन्नेछ । आउँदो पुस्ताका लागि जानकारी गराउन भत्किएर बाँकी रहेको अवशेषलाई जस्ताको तस्तै राखेर ‘टेम्पर ग्लास’ले ढाकिनेछ । नयाँ बन्ने धरहरामा दुईवटा लिफ्ट हुनेछन् भने १८औं तल्लामा ‘अटो थिएटर हाउस’ रहनेछ । जहाँ धरहराका पुराना ऐतिहासिक र पुरातात्विक सामग्रीको भिडियो देखाइनेछ ।

धरहरामा डिजिटल पार्किङ बन्नेछ भने पुराना कलात्मक हस्तकलाका सामग्रीको एक छुट्टै भवनमा संग्रहालय बनाएर राखिनेछ । धरहराको कम्पाउन्डमा आकर्षक बगैंचा, वाटर फउन्टेनलगायत मनोरञ्जनात्मक साधन रहनेछन् । काठमाडौं महलको अगाडि धरहराको क्यान्टिन रहनेछ ।

दुई वर्षमै सक्छौं : इन्जिनियर
अहिले धरहरा निर्माणका लागि १ सय २० जना कामदारले दुई सिफ्टमा बाँडिएर दिनरात काम गरिरहेको इन्जिनियर तथा साइड इन्चार्ज श्यामचन्द्र श्रेष्ठले बताए । ‘दुई वर्षमा सक्न धेरै चुनौती उठाउनुपर्नेछ,’ उनले भने, ‘तर, निर्माण कार्यमा कसैले हस्तक्षेप नगरेमा र कुनै बाधा नआएमा जसरी पनि तोकिएको अवधिमै सक्छौं ।’

धरहरा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । जमिनमुनि २० हजारभन्दा बढी बिजुली र टेलिफोनका तारहरु भएकाले निर्माण कार्यमा कठिनाइ भएको इन्चार्ज श्रेष्ठले बताए । निर्माणको जिम्मा पाएको ‘जिआइटिसि रमण जेभी’ कम्पनीले कामदारहरुको सुविधाका लागि सेनाको सहयोगमा टुँडिखेलमा खाना र बस्नका लागि क्याम्प बनाउने भएको छ ।

निर्माण क्षेत्रमा बिजुलीका पोल र पुराना अन्य भवन रहेकाले धेरै कामदारलाई काम लगाउन नसकिएको इन्चार्ज श्रेष्ठले जानकारी दिए । ‘अहिले काम गर्ने मानिसको संख्या कम छ, पछि काम गर्न सहज वातावरण भएपछि कामदारको संख्या दोब्बर बनाउँछौं,’ उनले भने, ‘अहिले निर्माणका लागि चाहिने मेसिन पनि लगाउने काम भइरहेको छ, काम गर्ने वातावरण सहज हुनेबित्तिकै भइरहेको काम दुई गुणाले बढाएर लान्छौं ।’

निर्माण कार्यमा खटिरहेका मजदुरलार्इ भने धरहरा दुर्इ वर्षभित्र बन्ने विश्वास छैन । ‘दुई वर्षमा के सकिन्थ्याे ? दुई महिनामा यही सरसफइको काम त सकिएको छैन,’ कामदार शशिनकुमार चौधरीले भने । त्यस्तै अर्का फिल्ड कर्मचारी धमला बिसीले पनि दुई वर्षमा निर्माण कार्य सकाउनु सम्भव नै नभएको बताए । कहिले बन्दका कारण समान समयमा नआउने त कहिले केले निर्माणमा अवरोध हुने भएकाले दुर्इ वर्षमा धरहरा नबन्ने उनको अनुमान छ ।

समयमै सकिए राम्रो हुन्थ्यो : सर्वसाधारण
सर्वसाधारण भने धरहरा समयमै सकिए देशको इज्जत बढ्ने बताउँछन् । कामको सिलसिलामा सुन्धारा पुगेका बेला निर्माण कार्य हेरिरहेका कपनका शम्भुकुमार थपलिया धरहरा बन्ने भो भनेर मख्ख देखिन्थे । उनीहरु भन्दै थिए, ‘पुरानो धरहरा एकपटक मात्र चढ्न पाइयो, त्यही भएर पहिलेको सबै कुरा याद छैन, धरहरा भनेको देशको सान हो, यसको पुनर्निर्माण जतिसक्दो छिटो सकियोस् ।’

धरहराको इतिहास
वि. सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरुप धरहरा निर्माण गर्न लगाएका थिए । भीमसेन थापा प्रधानमन्त्री भएको बेला निर्माण गरिएकाले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो ।

बिगुल बजेका सुनेपछि जंगी निजामती कर्मचारीहरु टुंडिखेलमा जम्मा हुनु अनिवार्य थियो । भीमसेन थापाले बनाउँदाको धरहरा ११ तल्लाको थियो । पछि वि. सं. १९९० साल माग २ मा आएको महाभूकम्पले दुई तल्ला भत्किएको थियो । भत्केको दुई वर्षपछि तत्कालीन राणा जुद्ध शमशेर राणाले नाै तल्लामा सीमित गरी पुनर्निर्माण गरेका थिए । फेरि वि. सं. २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले भने धरहराको अस्तित्व पूर्ण रुपमा सखाप पारेको हो ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु