गृहपृष्ठ ‘अनलाइन सिस्टम’ले मालपोतको सेवा प्रवाह झन् सुस्त
‘अनलाइन सिस्टम’ले मालपोतको सेवा प्रवाह झन् सुस्त
सूचना अधिकारी भन्छन्- हामीलार्इ प्रविधिको त्यति ज्ञान छैन
जताततै भीड झट्ट बाहिरबाट आउने जो कोहीलाई पनि लाग्छ यो कुनै मेला महोत्सव हो । कोही रिसाएको ‘मुँड’मा भेटिन्छन् त कोहि खुसीले गदगद पनि हुन्छन् । कसैलाई कसैले धकल्ने र पालो उछिन्नेको पनि कमी छैन त्यहाँ ।
कसैले भनसुनकै आधारमा काम समयमै गरेका छन् भने । कोही पालो कुर्न थालेको महीना दिन सम्म पनि ‘काम नभएको’ भन्दै गुनासो गरिरहेका भेटिन्छन् । न लाइन छ न हिँड्ने ठाउँ छ । न सिस्टम छ न समयको ख्याल छ ।
सुन्दा अचम्म लाग्छ । भीडभाडका कारण कसैका खुट्टा पनि भाँचिए तर कार्यालय यसमा मौन छ । कसरी कार्यालय व्यवस्थापन गर्ने भन्ने कुनै संयन्त्र छैन । कोही झ्यालबाट टुलुटुलु हेर्दे पालो कुरेका छन् । कोही कर्मचारीको आडैमा गएर धमाधम आफ्नो काम गरिरहेका छन् ।
यो दृश्य कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मालपोत कार्यालयको हो । जहाँ सोझा-सीधा सेवाग्राहीले महीना दिन सम्म पनि सेवा पाउँदैनन् ।

यसको प्रमुख कारण अर्धदक्ष कर्मचारी र दोहोरो सेवा प्रणाली भएको सेवाग्राहीको भनाई छ । वीरेन्द्रनगर नगरपालिका-४ का दीपक थापा जग्गा रोक्का गर्न यही १६ गतेदेखि मालपोत कार्यालय सुर्खेतमा धाईहरेका छन् ।
तर, उनको काम १० दिनसम्म पनि भएको छैन । यत्ती कामका लागि थापा मालपोत धाउन थालेको १० दिन भयो । अझै काम भएको छैन । अझै कती दिन लाग्ने हो उनलाई पनि थाहा छैन । किन ढिला भयो त ? आफूले पाएको जबाफ उनले जस्ताको तस्तै सुनाए, ‘अनलाइन सिस्टम नमिलेको कारण ढिला भएको रे !’
तिलागुफा-१० कालीकोटका अम्मर थापा पनि मालपोत धाउन थालेको १० दिन भयो । उनको काम पनि भएको छैन । मालपोतको ढिलासुस्तीले उनलाई सरकारी कामप्रति विश्वास लाग्न छाडेको छ । उनी भन्छन्, ‘छिटो सेवा दिने नाममा अनलाइन सिस्टम गराएको होला । तर यहाँ दोहोरो सेवा प्रणाली भयो । ढड्डा पनि पल्टाउने अली अली कम्प्युटर पनि चलाउने अनि कसरी काम समयमै हुन्छ ।’
मालपोतको यो सेवा सरकारी कर्मचारीलाई पनि मन परको छैन । डिभिजन सडक कार्यालयमा कार्यरत इन्जिनियर दीपेन्द्र विष्ट पनि मालपोत कार्यालय सुर्खेतको यो लाजमर्दो सेवाप्रवाहबाट प्रभावित छन् । मंसिर १९ गते जग्गा रोक्काको लागि निवेदन दिएका विष्टले पुष ३ गतेको टोकन पाएका छन् । ‘सरकारी प्रक्रिया कति लामो हुन्छ ? मलाई पनि थाहा छ,’ उनी भन्छन्, ‘तर, मालपोत कार्यालयमा किन यस्तो लाचारी देखाईएको छ ?’
उता मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीले ‘अनलाइन सिस्टम’बाट मालपोत कार्यालयको काम सुरु गरेको र यसमा कर्मचारीहरु अन्योल भएकोले सेवाग्राहिलाई दुःख भएको बताउँछन् । ‘हामीले गत १७ गतेदेखि अनलाइन सिस्टमले काम गरिरहेका छौं,’ घर्ती भन्छन्, ‘हामीलाई प्रविधिको ज्ञान पनि त्यती छैन । दक्ष जनशक्ति नभएकै कारण काममा ढिलाई भईरहेको छ ।’

मालपोत कार्यालय सुर्खेतमा कर्मचारीको समेत अभाव भएकोले काममा ढिलाई हुने गरेको घर्तिको भनाई छ । कार्यालयलाई आवश्यक दक्ष जनशक्ति नेपाल सरकारले पठाएको खण्डमा छिटोछरितो सेवा प्रवाह गर्न सकिने उनले बताए ।
मालपोत कार्यालय सुर्खेतमा जम्मा २३ जना कर्मचारी छन् । अझै ३ जना नायब सुब्बाको अभाव भएको कार्यालयले जानकारी दिएको छ । सामान्यतया जग्गा रोक्का गर्न तथा फुक्का गर्न प्रक्रिया पुगेको ७ दिनभित्र काम गरिसक्ने भनि नागरिक बडापत्रमा प्रष्टै लेखिएको छ । तर एक महिना बितीसक्दा पनि सेवाग्राहीले सेवा पाएका छैनन् । यसको लागि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।
प्रकाशित समय ०८:५४ बजे
















