गृहपृष्ठ दुर्गममा स्थापित बैंकका शाखा बिजुली र इन्टरनेट अभाव झेल्दै
दुर्गममा स्थापित बैंकका शाखा बिजुली र इन्टरनेट अभाव झेल्दै
अहिले समस्या भए पनि दीर्घकालमा अर्थ व्यवस्थामै सकारात्मक प्रभाव पर्छ : बैंकर
स्थानीय गह गठनपश्चात सरकारले ७ सय ५३ वटै स्थानीय तहमा बैंकका शाखा पुर्याउन प्रयास गरिरहेको छ । सरकारी निर्देशन र बैंकिङ सेवाको महत्व बुझेका बैंकहरू बिजनेस कम हुने ठाउँमा पनि धमाधम पुगिरहेका छन् । तर, पूर्वाधार अभावमा दुर्गममा स्थापित बैंकहरूले स्वस्फूर्त सेवा प्रवाह गर्न भने सकिरहेका छैनन् ।
बैंक स्थापना हुन बिजुली बत्तीदेखि इन्टरनेटसम्मको सुविधा आवश्यक पर्छ । तर, छिनछिनमा इन्टरनेट जाने, स्लो हुनेजस्ता समस्याबाट प्रताडित दुर्गमका बैंकका शाखा विद्युत अभावको समस्या पनि खेपिरहेका छन् ।
लघु विद्युतीकरणका कारण ग्रामीण क्षेत्रमा बैंकहरूलार्इ जान केही सहज पनि भएको छ । तर, लघुजलविद्युत आयोजनामा समस्या आएमा बैंकहरू लामो समय बन्द हुने गरेका छन् ।
हुम्लाको मध्यसर्केगार्ड गाउँपालिकामा स्थापित सिटिजन्स बैंकले अहिले यस्तै समस्या भोगिरहेको छ । बैंकमा विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएपछि बैंकको काम–कारबाही तीन दिनदेखि ठप्प छ ।
शाखा प्रबन्धक अर्जुन रावल बिजुली अभावमा ठूलै समस्या खेपिरहेको बताउँछन् । ‘अहिले त आयोजनामा समस्या आएर बन्द नै छ,’ न्युज कारोबारसँग उनले भने, ‘अन्य समयमा पनि राति–रातिमात्र बत्ती आउँछ, राति नै इन्भर्टर चार्ज गर्छौं र दिउँसो तीन–चार घण्टा सेवा दिन्छौं, इन्भर्टरले काम नगर्दा कहिलेकाहीँ त त्यही पनि समस्या हुन्छ ।’

हुम्लाको सर्केगार्ड शाखामा दैनिक ५०–६० जना सेवाग्राही आउने उनले जानकारी दिए । सेवा अवरूद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । लामो दूरीबाट बैंकमा सेवा लिन जानेहरू बढी प्रभावित भएको बैंकले नजाएको छ । मंसिर २५ गतेदेखि विद्युत् अवरुद्ध भएयता बैंकले कुनै सेवा दिन सकेको छैन । राम्ररी घाम नलागेका कारण बैंकमा जडान गरिएको सोलारले पनि काम गर्न छाडेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंककै हुम्लास्थित नाम्खा शाखाको सेवा पनि इन्टरनेट आउने–जाने र स्लो हुने समस्याबाट प्रभावित भइरहन्छ । बैंकका शाखा प्रबन्धक केशाङ लामाले दुर्गमका अधिकांश बैंकले इन्टरनेटको समस्या खेपिरहेको बताए । ‘इन्टरनेटको कुनै भर नहुँदा निकै समस्या भइरहेको छ,’ उनले भने, ‘नाम्खा शाखाले बत्तीको समस्याचाहिँ खासै भोग्नुपरेको छैन ।’
त्यस्तै, ग्लोबल आइएमर्इको डोटीस्थित बोगटान शाखाले इन्टरनेटको समस्या खासै नव्यहोरे पनि बत्तीको भने ठूलै समस्या भोगिरहेको जनाएको छ । बैंकका बैतडीस्थित दोगडाकेदार शाखाका प्रबन्धक दीपेन्द्रसिंह ठगुन्नाका अनुसार बिजुलीका कारण बोगटान शाखाले राम्ररी सेवा प्रवाह गर्न सकिरहेको छैन ।
ग्लोबल आइएमर्इकै बैतडीमा रहेको पुर्चौडी शाखाले भने बिजुली र इन्टरनेटको ठूलो समस्या भोगिरहेको छ । बैंकका कामु शाखा प्रबन्धक उपेन्द्रबहादुर चन्दका अनुसार एक वर्षअघि स्थापित बैंकमा सेवाग्राहीको उल्लेख्य उपस्थिति रहे पनि पूर्वाधार अभावमा चुस्त सेवा प्रवाह हुन सकिरहेको छैन । ‘लघुजलविद्युतबाट साँझमा मात्र बत्ती आउँछ, त्यो पनि कम भोल्टेजमा हुने भएकाले समस्या छ,’ उनले भने, ‘दिनभर पनि बत्तीकै कारण सेवा प्रवाहमा निकै कष्ट उठाउनुपरिरहेको छ ।’ नगरपालिका क्षेत्र भएर पनि राष्ट्रिय प्रसारणलाइनमा नजोडिँदा समस्या भएको उनले बताए । चन्दका अनुसार पुर्चौडी शाखामा रेमिट्यान्स कारोबार बढी हुने गरेको छ ।
पुर्चौडीमा चार महिना बसेर गोठालापानी सरुवा भएका शाखा प्रबन्धक खगेन्द्र पाण्डेले पनि बत्ती, इन्टरनेट र बाटोको असुविधाका कारण पुर्चौडी शाखाले ठूलो समस्या खेपिरहेको बताए । ‘बैंकका लागि बाटोघाटो कति महत्वपूर्ण हुन्छ भन्ने त्यहाँ बस्दा बुझियो,’ न्युज कारोबारसँग उनले भने, ‘बैंकका लागि बिजुली र इन्टरनेटजति नै बाटोघाटो पनि आवश्यक छ, बाटो अभावमा बैंकको दैनिक गतिविधि निकै प्रभावित हुने गरेको छ ।’
बैंकहरूलार्इ दुर्गम क्षेत्रमा शाखा खोल्नै पनि समस्या छ । एकातिर स्थापना भइसकेका शाखाले पूर्वाधार अभावको समस्या खेपिरहेका छन् भने अर्कातिर दुर्गममा नयाँ शाखा खोल्नै चुनौतीपूर्ण रहेको माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बनाउँछन् । ‘बिजुली, इन्टरनेट र सडकबाहेक दुर्गम क्षेत्रका शाखामा क्यास म्यानेजमेन्टको ठूलो समस्या छ,’ न्युज कारोबारसँग उनले भने ।
मुगुको खत्याड शाखामा नेपालगन्जबाट हेलिकप्टर चार्टर्ड गरेर नगद व्यवस्थापन गर्नुपरिरहेको उदाहरण उनले प्रस्तुत गरे । भोजपुरको ट्याम्के मैयुम शाखा, अछामको पञ्चदेवल, डोल्पाको त्रिपुरासुन्दुरी, दार्चुलाको मालिकार्जुनलगायत शाखामा पनि वित्तीय पूर्वाधारका साथै नगद व्यवस्थापन गर्न ठूलो समस्या भइरहेको नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए ।
दार्चुलाकै अपी नगरपालिका र व्यास गाउँपालिकामा शाखा स्थापना गर्न मुस्किल परिरहेको उनको भनाइ छ । ‘चार–पाँच महिनादेखिको तयारीले बल्ल सार्थकता पाएको उनले बताए । ‘अबचाहिँ केही दिनमै अपी र व्यासमा शाखा खुल्छन्,’ उनले भने ।
समग्रमा दुर्गम क्षेत्रमा पछिल्लो समय खोलिएका अधिकांश शाखामा समस्या रहेको कोइरालाले बताए । ‘कर्मचारी नजाने, गए पनि लामो समय बस्ने नमान्ने जस्ता समस्या पनि अधिकांश बैंकले खेपिरहेका छन्,’ उनले भने ।
दीर्घकालमा फाइदा
दुर्गम क्षेत्रमा खोलिएका बैंकका शाखाका कारण दीर्घकालमा अर्थ व्यवस्थामै सकारात्मक प्रभाव पर्ने माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कोइराला बताउँछन् । लोन दिने ठाउँ नभए पनि निक्षेप संकलनको अवस्था धेरै राम्रो रहेको उनले बताए । ‘वित्तीय साक्षरताको अवस्था सुदृढ बनाएर लैजाने हो भने गाउँ–गाउँमा वित्तीय पहुँच बढ्छ,’ कोइराला भन्छन्, ‘दीर्घकालमा लघु उद्योग र व्यापार–व्यवसायसँगै कर्जा प्रवाह पनि बढ्छ, जसले ग्रामीण गरिबी न्यूनीकरण गर्न र रोजगारी सिर्जनामा मुख्य भूमिका खेल्नेछ ।’
समस्यामात्र छैन
दुर्गममा खोलिएका बैंकका शाखामा समस्यामात्र छैनन् । वित्तीय पूर्वाधार पुगेर दुर्गम क्षेत्रका गाउँपालिकामा खोलिएका बैंकका शाखाले भने चुस्त सेवा दिइरहेका छन् । आइएमर्इ बैंकको पूर्वखोला शाखाका प्रबन्धक सुवासकान्त जोशी इन्टरनेट केही स्लो भए पनि बैंकले राम्रो सेवा प्रवाह गरिरहेको बताउँछन् । ‘हाम्रो शाखा असार १४ गते स्थापना भएको हो, अहिलेसम्म कुनै किसिमका समस्या भोग्नुपरेको छैन,’ उनले भने ।
बैतडीकै दोगडाकेदार शाखाले पनि अहिले कुनै किसिमको समस्या भोग्नु नपरेको प्रबन्धक दीपेन्द्रसिंह ठगुन्ना बताउँछन् । ‘बैंकका लागि मुख्य पूर्वाधार भनेकै बिजुली र इन्टरनेट हो, हामीकहाँ ती दुवै समस्या छैनन्,’ उनले भने ।
प्रकाशित समय १६:५९ बजे

















