गृहपृष्ठ फार्मेसी सञ्चालनमा राज्यको लगानी, निजीमा किन्न बिरामी बाध्य

फार्मेसी सञ्चालनमा राज्यको लगानी, निजीमा किन्न बिरामी बाध्य

Medicines

स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापना गर्न सरकारी अस्पताललाई फार्मेसी सञ्चालनको लागि लाखौं अनुदान दिए पनि अस्पतालमा राम्रोसँग फार्मेसी व्यवस्थापन हुन सकेको छैन । अस्पतालले दिने सेवाको आधारमा अस्पतालमै फार्मेसी व्यवस्थापन गर्नुपर्ने गरी सरकारले अनुदान रकम उपलब्ध गराएको भए पनि केन्द्रीय स्तरको अस्पतालले नै फार्मेसीमा सबै औषधि राखेको छैन ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्त महेन्द्र प्रसाद श्रेष्ठ फार्मेसीले सबै औषधि राख्न नसक्ने बताउँछन् । ‘एउटा फार्मेसीमा सबै किसिमको औषधि राख्न सकिँदैन, यो व्यावहारिक रुपमा गाह्रो कुरा हो,’ उनले भने, ‘तर अनुदान रकम लिएर फार्मेसी सञ्चालन गरेका सबै अस्पतालले सबै औषधि राख्नुपर्छ, नराखेको भए राख्न भन्छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय माताहतका ३१ वटा केन्द्र र अञ्चल स्तरीय सरकारी अस्पतालहरुलाई ३० लाखसम्म फार्मेसी सञ्चालनको लागि अनुदान दिएको छ । प्रतिष्ठान, अञ्चल र केन्द्र अस्पताललाई सरकारले अनुदान रकम अपलब्ध गराएको हो ।

 

फार्मेसीमा औषधि अभाव

सरकारले अनुदान उपलब्ध गराएको अस्पतालहरुले त्यस अस्पतालमा दिने सेवाको आधारमा औषधिको व्यवस्थापन गर्नुपर्छ । अस्पतालको फार्मेसीमा अस्पतालले दिने सेवाका सबै औषधि अन्य फार्मेसीको तुलनामा सुलभ मुल्यमा बिरामीले पाउनु पर्ने हुन्छ । तर, अनुदान लिएर फार्मेसी सञ्चालन गर्ने अस्पतालका फार्मेसीमा सुलभ मुल्यमा सबै किसिमको औषधि पाइँदैन ।

वीर अस्पतालमा खुट्टाको उपचार गर्न आएका सिन्धुलीका वीरबहादुर मगरले आफूलाई चाहेको सबै औषधी अस्पतालको फार्मेसीबाट नपाएको गुनासो गरे । उनले भने, ‘अस्पतालको फार्मेसीमा सबै औषधि पाइँदैन, डक्टरले नै बाहिरको फर्मेसीमा किन्न पठाउँछन् ।’

प्रसूति गृह थापाथलीमा श्रीमतीको डेलीभरीको लागि आएका स्याङ्जाका मोतीनारायण मान्धरले प्रसूति गृहमा सबै किसिमको औषधि पाएनन् । उनले प्रसूति गृह महिलाको डेलिभरीका लागि प्रख्यात भए पनि औषधि र अन्य सामान बाहिरबाट किन्नुपरेको बताए ।

त्यस्तै ट्रमा सेन्टरको फर्मेसीमा पनि सबै किसिमको औषधि उपलब्ध छैन । ट्रमा सेन्टरमा अर्थोपेडिकको विशेष अस्पताल हो । तर, यो अस्पतालको फार्मेसीमा अर्थोपेडिकको सबै औषधि नपाउने फर्मेसीका कर्मचारी मनिशा कायस्थले बताइन् ।

 

फार्मेसी सञ्चालनका अनिर्वाय सर्त

सरकारी अनुदान लिएर सञ्चालन गर्ने फार्मेसीमा अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयले तोकेको प्रकृयामा रहेर फार्मेसी सञ्चालन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको फार्मेसिस्ट संगीता शाहले बताइन् । अस्पतालको सेवा अनुसार औषधीको उपलब्धता, फार्मेसिस्टको अनिर्वाय व्यवस्था, अस्पताल फर्मुलारिस्टमा औषधिको सूची राख्नुपर्छ । फार्मेसी चौबिसै घण्टा खुल्ला राख्नु पर्छ र अस्पतालमा ड्रग एण्ड थेरापी कमिटी गठन अनिर्वाय रुपमा गर्नु पर्छ ।

तर, अस्पतालहरुले नामको मात्र फार्मेसी सञ्चाल गरेका छन् । ‘अस्पतालहरुमा ड्रग एण्ड थेरापी कमिटी भए पनि त्यो कमिटी देखाउन मात्र बनाएको छ,’ शाहले भनिन्, ‘कुनै पनि अस्पतालमा राम्रोसँग फार्मेसी सञ्चालन नहुनुको मुख्य कारण यो कमिटी गैर जिम्मेवारीपन हो ।’

अनुदान लिएर सञ्चालनमा रहेको अस्पतालको फार्मेसीमा अन्य फार्मेसीमा भन्दा सहुलियत रुपमा औषधिको उपलब्धता हुनु पर्ने शाहले बताइन् । तर अस्पतालहरुमा सबै देख्ने ठाँउमा अस्पताल फर्मुलारिस्ट राखेको पाइँदैन ।

 

फार्मेसी ११२, सञ्चालनमा ६० मात्र

स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा भएको रेकर्ड अनुसार देशभर जम्मा ११२ वटा फार्मेसी छन् । जसमा  ६० वटा मात्र सञ्चालनमा छन् भने ५२ वटा अझै सञ्लनमा छैनन् । अञ्चल र माथिका अस्पतालहरुले नै आफ्नो अस्पतालमा फार्मेसी सञ्चालन गर्न सकिरहेका छैनन् ।

जिल्ला स्तरीय अस्पतालहरुमा ४० प्रतिशतको हाराहारीमा मात्र अस्पतालले फार्मेसी सञ्चालन गर्न सकेको मन्त्रालयको रिपोर्ट छ ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु