गृहपृष्ठ त्रिदेशीय सडक १० वर्षदेखि अलपत्र

त्रिदेशीय सडक १० वर्षदेखि अलपत्र

दार्चुला । सडक बन्न थालेको दशक बित्यो तर दार्चुला व्यास–२ राप्लाका बहादुरसिंह धामीको मोटर चढेर तिब्बत हेर्ने रहर अझै पूरा भएको छैन । भारत, नेपाल र चीन जोड्ने दार्चुलाको तिङ्कर सडक बन्ने हल्लासँगै व्यासवासीको मोटर चढेर सहर र तिब्बत जाने रहर पलाउँछ । त्यति मात्र होइन, विकासको मूल फुट्ने आस पनि जाग्छ । धामी भन्छन्, ‘सदरमुकाम खलंगा हुँदै तिब्बतसम्म मोटरमा पुग्ने हल्ला मात्र सुनियो, निर्माण कहिल्यै सम्पन्न भएन ।’
सडक निर्माणका लागि वर्षैपच्छिे बजेट पनि आउँछ, सडक खन्न भन्दै बेलामौकामा निर्माण व्यवसायी पनि आउँछन् । तर, प्रगति शून्य देखिन्छ । खलंगाबाट तिङ्करसम्मको ६५ किलोमिटर सडक अहिले पनि निर्माणाधीन अवस्थामा छ । ‘१० वर्ष भयो, सडकको निर्माणमा प्रगति देखिएको छैन । त्रिदेशीय सीमा क्षेत्र तिब्बत पुग्न छोटो दूरीको यो सडकका लागि बजेट पनि आउँछ । तर, फ्रिज भएर जान्छ,’ धामीले भने ।मोटर चढ्ने सपना अहिलेसम्म पूरा नभएपछि स्थानीय अहिले पनि भारतीय सडकमार्ग र तुइनको यात्रा गर्न बाध्य छन् । स्थानीय होस् वा केन्द्रको निर्वाचन त्यसका लागि यो सडक मुद्दा बन्ने गरेको छ । धामीले भने, ‘चुनावपछि सडकको अवस्था ज्युँका त्युुुुँ नै देखिन्छ ।’
पछिल्लो समय महाकाली लोकमार्गको समानान्तर दूरीमा कोरिडोरको निर्माण थालिए पछि तिङ्कर सडकको चर्चा नै हराउन थालेको स्थानीय करवीरसिंह धामीले बताए । दार्चुलादेखि व्यास–१ को पिपलरसम्म १३५ किलोमिटर लम्बाइ छ । यो सडक निर्माण भए व्यासमा फल्ने स्याउले तराईको बजार लिन सक्ने थियो । उनले भने, ‘सडक नबनेका कारण हाम्रो स्याउ तराईले र तराईको धान हामीले चाख्न पाएका छैनौं ।’
सदरमुकाम खलंगाबाट जिरो प्वाइन्ट मानेर निर्माण सुरु गरिएको सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ । सवारी भने २० किलोमिटरमा मात्र गुड्छ । स्थानीयले खलंगादेखि दुहुँ गाउँपालिकाको पिपलचौरीसम्म मात्र गाडी चढ्ने अवसर पाएका छन् । पिपलौचारीको भासु भीरमा रहेको चट्टान भत्काउन नसकेका कारण सडक विस्तारले गति नलिएको तिङ्कर सडक योजनाका इन्जिनियर दिनेश रैखोलले बताए ।
कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुला खलंगासम्म महाकाली कोरिडोरको नामबाट सडक निर्माण सुरु भएको छ । कोरिडोरको लम्बाइ २९१ किमि छ । दार्चुला जोड्ने महाकाली लोकमार्ग अत्तरियाबाट खलंगासम्म ३०८ किलोमिटर छ । करिब तीन दशकअघि सुरु हुने भनिएको महाकाली कोरिडोरको गत वर्षबाट मात्र निर्माण कार्य सुरु भएको थियो । कोरिडोरमै तिङ्कर सडक योजना पनि गाभिएका कारणले विस्तारले गति लिन नसकेको बताइन्छ ।दुई वर्षअघि कोरिडोरमा निर्माणाधीन सडक योजनालाई गाभियो ।
कोरिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा २२ किलोमिटर ट्र्याक खनिएको इन्जिनियर रैखोलाले बताए । सुरुको योजनाअनुसार दार्चुला–तिङ्कर सडक सम्पन्न हुनुपर्ने अवधि एक वर्ष मात्रै बाँकी छ । योजना गाभिनुले पनि व्यासवासीको मोटर सपना धकेलिएको हो ।
तिङ्कर सडकको योजना आर्थिक वर्ष २०६४÷६५ बाट सुरु गरी आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, यसलाई महाकाली कोरिडोरमा गाभेपछि आगामी २०७९ सालसम्मको लक्ष्य राखिएको हो । सडकको ट्र्याक खोल्न ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीहरूले समयमै काम सकेनन् । त्यसका लागि अधिकांश ठाउँमा विस्फोटक पदार्थ प्रयोग गरी चट्टान भत्काउनुपर्ने हुन्छ । उनले भने, ‘योजनाका ठेक्काहरूमा विस्फोटक पदार्थ नभएकै कारण कामले गति लिन पाएन ।’
४२६ किलोमिटर लम्बाइको महाकाली कोरिडोर ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर सडकमा ८८ किलोमिटर र ६५ किलोमिटर तिङ्कर सडकमा ट्र्याक खोल्न ठेक्का सम्झौता भएको छ ।
इन्जिनियर रैखोलाका अनुसार विस्फोटक पदार्थ ल्याउन निर्माण व्यवसायीले रकम जम्मा गरिसकेका छन् । उनले भने, ‘गृह मन्त्रालयबाट स्वीकृत आउने वित्तिकै विस्फोटक पदार्थ खलंगा आइपुग्छ । तिङ्कर सडकका लागि बझाङको कालाङगाड जलविद्युत् आयोजनामा प्रयोग गर्न राखिएको करिब साढे ८ हजार किलोग्राम विस्फोटक पदार्थ ल्याउने प्रक्रिया थालिएको छ ।’

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु