गृहपृष्ठ एक करोडको घर चार हजारमै बिमा

एक करोडको घर चार हजारमै बिमा

bima-samiti-newskarobar

अब एक करोडको घर चार हजार रुपैयाँमै बिमा हुने भएको छ । बिमा समितिले सम्पत्ति बिमा निर्देशिका परिमार्जन गरी एक करोड रुपैयाँसम्म लगानीमा निर्मित घरका लागि वार्षिक चार हजार बिमा शुल्क तिरे पुग्ने व्यवस्था गरेको हो । परिमार्जित निर्देशिका माघ १ देखि लागू हुनेछ ।

परिमार्जनअनुसार घर बिमाअन्तर्गत १ करोडभन्दा कम मूल्यको घरको बिमा प्रतिहजार ४० पैसा र सोभन्दा बढी मूल्यको घरका लागि १ रुपैयाँ प्रतिहजार बिमा शुल्क लाग्नेछ ।

बिमा समितिले २०५८ सालको सम्पत्ति बिमा निर्देशिका परिमार्जित गरेसँगै बिमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । आइतबार बिमा समितिमा आयोजित कार्यक्रममा अध्यक्ष चिरञ्जीवी चापागाँईले बिमक संघ र बिमा समितिबीच सहकार्य गरी निर्देशिका परिमार्जन गरिएको जानकारी दिए । ‘बिमामा सबैलाई समेट्दै यसको दायरा फराकिलो बनाउन निर्देशिका परिमार्जन गरिएको हो,’ उनले भने, ‘नयाँ व्यवस्थाले बिमाप्रति सर्वसाधारणलाई थप आकर्षित गराउने विश्वास लिएका छौं ।’

निर्जीवन बिमा व्यवसायअन्तर्गत अग्नि बिमालेख र गार्हस्थ बिमालेखलाई एकै निर्देशिकाको अधीनमा रहने गरी सम्पत्ति बिमा निर्देशिका जारी गरिएको छ । जमिनमा आधारित सम्पत्तिका लागि जारी गरिने अग्नि बिमाका लागि हाल प्रचलनमा रहेको अग्नि बिमासम्बन्धी सामान्य नियमहरु २०५८ असान्दर्भिक भइसकेको र वर्तमान बिमा बजारमा थुप्रै बिमित र बिमामैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलन अद्यावधिक हुन नसकेका कारण निर्देशिका परिमार्जन गरिएको समितिका अध्यक्ष चापागाँईले बताए । यो व्यवस्थाले हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नि र भूकम्प) सहित सबै बिमायोग्य जोखिम लिँदासमेत कुल बिमा शुल्क ६५ प्रतिशतभन्दा कम पर्ने भएको छ ।

बिमा समितिले बिमायोग्य सम्पत्तिलाई ५ सय ४८ वटा क्षेत्रमा वर्गीकरण गरेको छ । त्यस्तै, जोखिमका आधारमा सात समूहमा वर्गीकरण गरिएको छ भने प्रत्येक वर्षका लागि अलग–अलग सातवटा बिमादर लागू गरिएको छ । सम्पत्ति तथा घर बिमाअन्तर्गत रक्षावरण गरिएका जोखिमहरु १२ प्रकारका छन् ।

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु