गृहपृष्ठ गौचरनमा बदलियो मोरङको पेट्रोल खानी

गौचरनमा बदलियो मोरङको पेट्रोल खानी

स्थानीय भन्छन्- सरकार कुरा मात्र गरेर बस्यो

petrol_khani_newskarobar3

सरकारको खानीहरुकोको उत्खनन् गर्ने योजना सेलाएसँगै मोरङको राधानगरमा रहेको पेट्रोल खानी अलपत्र परेको छ । बेलवारी नगरपालिका-८ स्थित राधानगर क्षेत्रमा रहेको खानी क्षेत्र भने अहिले पनि उद्योग मन्त्रालयले संरक्षण गर्दै आएको छ ।

दुई जना हेरालु राखेर मन्त्रालयले झाडी क्षेत्रको संरक्षण गदै आएको छ । तर, पछिल्लो समय सरकारले खानीको विस्तृत अन्वेषणको प्रतिवेदनका कुरा पनि बाहिर ल्याएको छैन भने त्यसको उत्खननको काम पनि अघि बढ्न सकेको छैन ।

खानी क्षेत्र अहिले झाडीको रुपमा परिणत भएको छ । स्थानीयले गाई बाख्राको लागि गौचरणका रुपमा  झाडीलाई प्रयोग गदै आइरहेका छन् । खानी रहेको भनिएको क्षेत्रमा रहेका पाँच वटा गोदाम भत्केका छन् । भएको एउटा गोदाम पनि लथालिङ्ग अबस्थामा छ ।

तर, तत्कालीन समयमा इटालीको सेल कम्पनीले ३ हजार ५ सय २० मिटर गहिरो ड्रिल गरेको स्थानलाई अहिलेपनि प्लाटर गरेर सुरक्षित रुपमा राखिएको छ । मंरिचमान सिंह प्रधानमन्त्री भएको पालामा राधानगरमा पेट्रोल खानी रहेको बताएपछि सो क्षेत्रलाई नेपाल सरकारले संरक्षण गरेको थियो ।

प्रधानमन्त्री सिंहको पालामा भारतले वि.सं २०४५ सालमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको थियो । इटालीयन सेल नेपाल नामक कम्पनीले विराटनगर आसपासमा अन्वेषण गरेको पनि थियो ।

साविकमा मोरङको बाहुनी गाविस र हाल बेलबारी नगरपालिकामा रहेको राधानगरमा सेल नेपालले ३ हजार ५ सय २० मिटर गहिरो ड्रिल गरेको थियो । त्यति गहिराइमा पुग्दा पनि तेल नभेटिएको बताउँदै कम्पनी अन्वेषणबाट पछाडि हटेको थियो । तर, भारतको दबाबमा उक्त कम्पनी पछाडि हटेको आरोप लाग्दै आएको छ ।

नेपालमा तेल निकालियो भने आफ्नो इन्धन भण्डार सुक्ने डर भारतलाई रहेकाले काम अगाडि नबढेको जानकारहरुको दाबी छ ।

राधानगरमा पेट्रोल खोज्न त्यतिबेला खनिएको खाडल अहिले पनि देख्न सकिन्छ ।

त्यसपछि फेरी केपी शर्मा ओलीको अघिल्लो सरकारको पालामा चीनले नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषणको गरेको थियो । केपी ओली सरकारमा भएकै बेला देशका बिभिन्न ठाँउमा चिनियाँ टोलीले अन्बेषण गर्ने क्रममा राधानगरमा पनि अन्वेषणको काम भएको थियो ।

पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी संस्था एनसीपीसीले फेरी सम्भावित ठाँउहरुको अध्यायन र अन्बेषण गरेको थियो । यसअघि वैशाख २०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खननको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्वीपक्षीय सम्झौता भएको थियो । त्यसैमा टेकेर चिनियाँ टोलीले २०७३ साल वैशाखमा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो ।

त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषणका बारेमा कुनै जानकारी सरकारले सार्वजनिक गरेको छैन । सो समयमा चिनियाँ विज्ञ सहितको टोलीले कोशी नदी आसपास र चुरे क्षेत्रका चट्टानहरुको अध्ययान अन्बेषण गरेको थियो । स्थानीय रविन थापाका अनुसार चिनियाँ विज्ञसहितको टोलीले नेपालमा रहेका दुई ठूला खानीमध्ये एक राधानगर रहेको निस्कर्ष निकालेको थियो । तर, सररकारले अहिलेसम्म सो विषयमा कुनै कुरा बाहिर ल्याएको छैन ।

स्थानीय रविन थापा भन्छन, ‘कुरा गरेर मात्र सरकार बस्न मिल्दैन । यदी खानी छ भने सरकारले त्यसको उत्खननको प्रकृया अगाडी बढाओस्, छैन भने यो क्षेत्रलाई बेवारिसे अबस्थामा छाड्नु भन्दा अन्य कामको लागि प्रयोगमा ल्याउन पर्छ । खानीको विषयलाई गुमनाम सरकारले बनाउन मिल्दैन । नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृंखलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन् ।’

पाकिस्तानले चुरे पर्वत शृंखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृंखलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम निकालिरहेको छ ।

अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । काठमाडौंलगायत धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यास निस्किरहेको छ । करिब ३७ वर्षअघि तराईका अधिकांश क्षेत्रमा पेट्रोलियम पदार्थ निकाल्न सकिने पत्ता लागेको थियो ।

खानी तथा भूगर्भ विभागमा सोही प्रयोजनका लागि अन्वेषण परियोजना नै सञ्चालनमा छ । तर, नेपालको अहिलेसम्मको अध्ययन प्रतिफलविहीन देखिँदै आएको छ । विभिन्न वैज्ञानिक आधारलाई पछ्याएर विभागले भौगर्भिक ‘एक्स रे’लगायत अध्ययन सकेको छ । सोहीअनुसार सम्भावित भू भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो ।

तर, सम्झौताअनुसार ती कम्पनीले अन्वेषण र उत्खनन् नगरेकाले गत वर्ष सरकारले सम्झौता खारेज गरेको थियो । १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले अनुमति पाएको थियो । उक्त कम्पनीसँगको सम्झौता रद्द भइसकेको छ ।

ब्लक नम्बर ३ र ५ मा टेक्साना, ८ र ९ मा ईएबी तथा १० मा बीबीबीले अनुमति पाएका थिए । ती सबै रद्द भइसकेका छन् । बेलबारी नगरपालिकाको-८ मा पर्ने राधानगरमा रहेको भनिएको खानीको विषयमा नगरपालिका पनि अलमलको अबस्थामा रहेको छ ।

खानी भए नभएको बारेमा सरकारले प्रष्ट नगर्दा आफूहरु पनि अलमलको अवस्थामा रहेको मेयर ज्ञानेन्द्र सुबेदीले बताए । उनले भने ‘पटक-पटक खानी क्षेत्रमा अन्वेषणको काम भएको छ, खानी भएको नभएको विषयमा कतै जानकारी छैन, यस्तो अबस्थामा हामी पनि अलमलमा छौं ।’

उनले सरकारले खानी भए नभएको विषयलाई गुमनामको अबस्था अब चाँडै अन्त्य गर्नुपर्ने बताए । ‘सरकारसँग  खानी रहेको नरहेको बिषयमा अब चाँडै कुरा गर्छौं। यदी संघीय सरकारले आधिकारीक रुपमा जानकारी गराउँदैन भने अब भने सरकारको जवाफ पर्खेर हामी बस्दैनौँ खानी क्षेत्र चालु आर्थिक वर्षभित्र सदुपयोग गर्ने गरी काम अगाडी बढाउछौं ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु