गृहपृष्ठ उखु खेती छाड्ने मनस्थितिमा पुगे किसान, मेहनत खेर गएको गुनासो

उखु खेती छाड्ने मनस्थितिमा पुगे किसान, मेहनत खेर गएको गुनासो

मिल भन्छ, 'सरकारले ताेकेकाे मूल्यमा हामी किन्न सक्दैनौं,'

सरकारले तोकेको समर्थन मूल्यभन्दा उखु मिलले कम मूल्य निर्धारण गरिदिँदा किसान र उद्योगीबीचको विवाद साम्य हुन सकेको छैन । उखुको क्रसिङ सुरु हुनै लाग्दासम्म मूल्य निर्धारणसम्बन्धी विवाद सुल्झन नसकेको हो । जसले गर्दा यो वर्ष पनि उखु क्रसिङ समयमै नहुने सम्भावना बढेको छ ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । यस्तै उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने भएको छ । चिनी मिलहरूले पनि सम्बन्धित उखु कृषकहरूलाई प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने छ । गतवर्ष सरकारले तोकेको प्रतिक्वीन्टल ५ सय ३० रुपैयाँमा उद्योगीहरुले प्रति क्वीन्टल ३ सय ८५ रुपैया मात्र दिनसक्ने बताएपछि उद्योगी र किसानबीच उखुको मूल्यलाई लिएर विवाद बढेको थियो ।

उखुको मूल्य निर्धारण गर्ने विषयमा किसान र मिल संचालकबीच कुरा नमिल्दा उखु क्रसिङ समयमै नहुने समस्या यो बर्ष पनि दोहोरिने खतरा बढेको छ । उद्योगीले प्रतिक्वीन्टल ३ सय ८५ रुपैया मात्र दिने सक्ने बताएपछि किसानले सो मूल्यमा उखु बिक्री गर्न नसक्ने जनाउँदै आएका छन् ।

सुनसरीको बर्जु गाउँपालिकाका उखु कृषक मोहम्मद हाजी हाकिम चिनी उद्योगले लागतअनुसारको मूल्य नदिँदा आफूहरुले प्रत्येक वर्ष घाटा खानु परिरहेकाले खेती नै छाड्ने मनस्थितिमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘पोहोर साल सरकारले प्रतिक्वीन्टल ५ सय ३१ रुपैयाँ मूल्य तोकिदिएको थियो । उद्योगीहरुले त्यो मूल्य पनि दिन नसक्ने बताए । बरु मुल्य घटाए बेलैमा उखुको भुत्तानी दिन्छौँ भने र हामीले ठिकै छ मनेर मान्यौँ । त्यसो गर्दा पनि उखुको भुक्तानी ढिलै गरेर दिए । अहिले पनि ३ सय ८५ रुपैयाँ भन्दा बढी दिन नसक्ने भनेका छन् । हामीले मजदुर तथा खाद्य मलको मूल्य बढेको भन्दै उक्त मूल्यमा दिन नसक्ने भन्यौँ । भारतको दाममा हामी कसरी दिन सक्छौँ । यसरी त हाम्रो लगानीसमेत उठ्दैन ।’

मोरङ र सुनसरीका २ हजार ४ सय कृषकले सुनसरीको बर्जु गाउँपालिकामा रहेको इस्र्टन सुगर मिलमा उखु बिक्री गर्दै आएका छन् । तर, यो बर्ष मिलमा भएको चिनी नबिकेको तथा मिल घाटामा गएको भन्दै उद्यागीले सरकारले निर्धारण गरेको मूल्यमा किसानको उखु किन्न नसक्ने बताउँदै आएको छ । सुनसरीस्थित इस्टर्न सुगर मिलका सञ्चालक हितेस गोल्छा भन्छन्, ‘गत वर्षकै चिनी गोदाममा थन्किरहेको छ । मिल त्यसै पनि घाटामा छ, त्यसैले यो वर्ष हामी तोकिएको मूल्यमा उखु खरिद गर्न सक्दैनौँ ।’

मिल संचालकहरुले यो बर्ष उखु किसानलाई प्रतिक्वीन्टल ३ सय ८५ रुपैयाँ मात्र दिन सकिने बताएका छन् । यसमा सरकारले प्रतिक्वीन्टल ६५ रुपैयाँ छुट्टै दिने छ । यसो गर्दा किसानले प्रतिक्वीन्टल ४ सय ५० रुपैयाँ पाउने भन्दै उद्योगीहरुले ३ सय ८५ रुपैयाँ स्वीकार गर्न दबाब दिदै आएका छन । मोरङ र सुनसरीका २ जिल्लाका २ हजार १ सय किसानले गत वर्ष मिललाई ११ लाख ७८ हजार क्वीन्टल उखु बिक्री गरेका थिए । यसवर्ष २ हजार ४ सय किसानले उखु खेती गरेको र १५ लाख क्वीन्टल उत्पादन भएको छ । गत वर्ष उद्योगीले किसानसँग प्रतिक्वीन्टल ४ सय ३६ रुपैयाँको दरले उखु खरिद गरेका थिए । वर्षभरी मेहनत गरेर उत्पादन गरेको उखु लिन मिलले आलटाल गरेपछि उखु खेतीतर्फ नै किसानको आकर्षण घटेको छ । तोकिएको मूल्य पनि नपाएपछि उखु किसानले यस खेतीको विकल्प समेत खोज्न थालेका छन् ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु