गृहपृष्ठ मलेसियामा नयाँ राजा यही महिना चयन हुने

मलेसियामा नयाँ राजा यही महिना चयन हुने

sultan_5 गद्दी त्याग गरेका मलेसियाका राजा ।

मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उनको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् ।

मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन छ । पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पुरा नहँदै आईतबारदेखि लागु हुनेगरी राजगद्दी त्यागेको घोषणा गरेपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो ।

रूसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उनले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ । मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए ।

राजा सुल्तानले दुई बर्ष अगाडि राजगद्दी सम्हालेका थिए । राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन ।

राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५ औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ ।’

नयाँ राजा चयन गर्न यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन् । नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाई छ ।

नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने छ । समारोहमा उनलाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने छन् भने मुस्लीम पुजारी र हजारौं अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुनेछन् ।

मुस्लिम-बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ । उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन् ।

मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ ।
रासस/एएफपी

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु