गृहपृष्ठ सनम हत्या र सुन तस्करी प्रकरण: विश्वास गरेकाले नै फेरे बयान

सनम हत्या र सुन तस्करी प्रकरण: विश्वास गरेकाले नै फेरे बयान


मोरङ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याप्रकरणमा मुछिएका ३० जनाको बयान सकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधिश नारायणप्रसाद शर्माको इजलासमा पाँचदिन लगाएर बयान सकिएको हो ।
बयानका क्रममा एक जना कृष्ण भनिने नरेन्द्र कार्की बाहेक सवैले बयान फेरेका छन् । शाक्यको हत्या र सुन तस्करीको छानविन गर्न गृहमन्त्रालयले गठन गरेको छानविन सिमितिले पक्राउ गरेका ३० जनामध्ये २९ जनाले आफ्नो बयान फेरेका हुन् ।
यस प्रकरणमा पक्राउ परेका बहालवाला प्रहरी जवान बिष्णुबहादुर खड्का र भरिया कृष्ण भन्ने नरेन्द्र कार्की र थाई एयरवेजका टेक्निसियन हेल्पर सम्बीरप्रसाद तोलाङ्गेले बयान नफेर्नेमा सरकारी वलिक तथा प्रहरी ढुक्क थियो । सोहि विश्वासमा अभियोग दर्ताका क्रममा नै उनीहरुको हकमा अदालत समक्ष साबिक बयान दिए सजायमा ५० प्रतिशत छुटको माग समेत गरिएको थियो ।
तर बयानका क्रममा भने कार्की बाहेक अन्य दुईले पनि बयान फेरेका छन् । प्रहरीले खड्का, कार्की र तोलाङ्गेलाई कसूर स्वीकार गरेको, अपराधको सम्बन्धमा प्रमाण जुटाउन र अन्य अभियुक्तहरुलाई पक्राउन प्रहरीलाई सहयोग गरेकाले संगठित अपराध निवारण ऐन, २०७० को दफा २१ को उपदफा (१) बमोजिम अभियोग मागदावीमा पचास प्रतिशत सजाय छुट माग गरेको थियो ।
कार्कीले पनि सनम शाक्य हत्या प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । अदालतमा उनले मोहन काफ्ले, सनम शाक्य सहित आफूपनि पीडित भएको बताएका छन् । बयानका क्रममा उनले फागुन १२ गतेदेखि नै आफू चुणामणी उप्रेती ‘गोरे’को अपहरणमा परेको बताएका छन् ।
उनले शाक्यको हत्या र अपहरणमा आफ्नो सहभागिता इन्कार गरेका छन् । उनले अदालत समक्ष प्रहरीलाई दिएकै जस्तो बयान दिएका हुन् । उनले पनि आफू सुन तस्करीमा रहेको कुरा स्वीकार गर्न मानेका छैनन् । चुणामणी उप्रेती गोरेको ड्राइभरको रुपमा काम गरेको बताउदै उनले आफू सुन तस्करी प्रकरणमा भने संलग्न नभएको बयानमा जिकिर गरेका छन् ।
अदालतमा उपस्थीत भएका कार्कीले केही बाहेक बयान नफेरे पनि प्रहरी जवान खडकाले भने जिम्मेवार अधिकारीलाई दिएको भन्दा विपरित बयान दिएका छन् । अर्का तोलाङ्गेले पनि बयान पूर्ण रुपमा बदलेका छन् । तस्करी प्रकरणमा जोडिएर फरार रहेका बहालवाला एसएसपी श्यामबहादुर खत्रीका ड्राइभर रहेका बिष्णुबहादुर खडकालाई सुन तस्करी प्रकरणका बारेमा धेरै जानकारी थियो ।
खड्का पक्राउ परेपछि खत्री फरार भएका हुन् । पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतका बारेमा धेरै जानकारी भएका खड्काले समेत बयान फेरेपछि विश्वस्त पक्ष छक्क परेको छ । यस्तै एयरपोर्ट भित्रको सेटिङकाबारेमा जानकार तोलाङ्गेले पनि बयान फेर्दै आफ्नो संलग्नता नरहेको र आफू निर्दाेष भएको बयान दिएको छ ।
प्रहरीले सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अनुसन्धान प्रकरणमा बहालवाला सात प्रहरी सहित ३० जनालाई पक्राउ गरेको थियो । पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी , एसपी बिकाशराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रजित केसी, प्रहरी हवल्दार अम्बरबहादुर थापामगर र बिष्णु खड्कालाई पक्राउ गरेको थियो ।
यस्तै पक्राउ पर्ने अन्यमा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भूजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महाविरप्रसाद गोल्यान, बालकृष्ण सञ्जेल, लालबहादुर मगर विरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ, हेमन्त गौतम, राजु महर्जन, राजु थापा, अमरमान डंगोल, तुलाराम थारु छन् ।

अझै ३३ जना फरार ?
प्रहरीले मुद्धा दायेर गरेका ६३ मध्ये ३० जना प्रहरीको न्यायिक हिरासतमा छन् । बाँकी ३३ जना अझै फरार छन् । यस प्रकरणमा मुछिएका मुख्य अभियुक्त मानिएका सुन तस्करीका नाइके चुणामणी उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादुर खत्री सहितका ३३ जना फरार रहेका हुन् ।
धरान घर भई काठमाण्डौमा गोल्ड सिल्भर प्यालेस सञ्चालन गर्दै आएका सुनिल श्रेष्ठ, भोजपुर दिङ्ला घर भई काठमाडौ बस्दै आएकी रक्षा भण्डारी, मोरङ सुनबर्षी नगरपालिका ६ का अर्जुनप्रसाद खरेल, पर्बत पैयू गाउपालिका ७ का रोशन भन्ने गुप्तलाल भुषाल, काभ्रेपलान्चोक घर भएका रामहरि कार्की, पोखरा लेखनाथ महानगरपालिकाका २१ का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ का सञ्जय अधिकारी र समिर अधिकारी फरारको सूचिमा छन् ।
धनकुटा घर भई काठमाण्डौ बस्दै आएकी गिता श्रेष्ठ, चुणामणी उप्रेती गोरेकी श्रीमती मोरङ उर्लाबारीकी नर्बदा खरेल उप्रेती, मोरङ कानेपोखरी ४ का माधव आचार्य, मोरङ सुन्दरहरैचाका ओमप्रकाश नेवार, चितवन जगतपुर ७ का प्रहरी हवल्दार अम्बरबहादुर थापामगर, सुनसरी धरानका सुनिलकुमार अग्रवाल, झापा शिवसत्तासी नगरपालिका ६ का कृष्णगोपाल अग्रवाल पनि फरार छन् ।
यस्तै उर्लाबारी नगरपालिका ७ घर भई काठमाण्डौं बस्दै आएका रमेश उप्रेती, काठमाडौमा बाजेको सेकुवा पसल सञ्चालन गर्दै आएका चेतन भन्ने चेतनाथ भण्डारी, काठमाडौं बानेश्वरका प्रमोदकुमार श्रेष्ठ, इटहरी ६ का वेनु श्रेष्ठ, काभ्रेपलान्चोक बेथान चोक गाउपालिकाका हरिसरण खडका, बाग्लुङ काठेखोला गाउपालिकाका ७ का कमल कार्की फराको सूचीमा छ ।
यस्तै काठमाडौं १६का मणिराज चौलागाई, सिन्धुपाल्चोक सुन्दरी गाउपालिका १ का शिवकुमार गुभाजु, हेटौडा उपमहानगरपालिका ४ का सुरेन्द्र गौतम, झापा मेचिनगरका रुस्तम मिया भन्ने मोहमद उस्तम मिया, सोलुखुम्बु दुधकुण्ड नगरपालिका ८ का टुकबहादुर मगर, मोरङ उर्लाबारीका भबिन तामाङ, काठमाण्डौ महानगर २९ बस्ने एम के भन्ने मोहनकुमार अग्रवाल, काठमाडौ नागार्जुन नगरपालिका ४ का छिरिङ वाङगेल घले फरार छन् ।

प्रकाशित समय ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु