गृहपृष्ठ बाफिया संशोधनको तयारी !

बाफिया संशोधनको तयारी !

बैंकले सीईओ नियुक्त गर्नुअघि राष्ट्र बैंकको अनुमति लिनुपर्ने

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) संशोधन हुने भएको छ । नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयमा बाफिया संशोधनको प्रस्ताव लैजाने तयारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा सुशासन थप मजबुद पार्न बाफियाका केही व्यवस्था संशोधन गर्ने प्रस्ताव अर्थमा पठाउन लागिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले न्युज कारोबालाई जानकारी दिए । खासगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिसम्बन्धी व्यवस्था हेरफेर गर्न लागिएको ती अधिकारीको भनाइ छ । उनका अनुसार सीईओ बन्न पहिला राष्ट्र बैंकको अनुमति लिनुपर्ने गरी ऐन संशोधन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने तयारी गरिएको छ । अन्य केही व्यवस्थाबारे पनि पुनर्विचार हुन सक्ने उनले बताए ।

संचालक समितिले सिधै सीईओ छनोट गर्दा स्वार्थका आधारमा गर्ने गरेको र त्यसले वित्तीय सुशासनमा असर परेको राष्ट्र बैंकको ठहर छ । स्रोतका अनुसार कतिपय सीईओले संचालकबाट आफूलाई नियमविपरितका काम गर्न दबाब आएको गुनासोसमेत गर्ने गरेका छन् । ‘पहिले नै निश्चित शर्त राखेर सीईओ छनोट गरेपछि त्यसको असर वित्तीय प्रणालीमा पर्ने निश्चित हुन्छ,’ राष्ट्र बैंकका ती अधिकारी भन्छन्, ‘यस्तै प्रवृत्तिलाई न्यूनिकरण गर्न पुरानो व्यवस्था संशोधन गर्न आवश्यक भएको हो ।’

हाल कुनै पनि बैंक तथा वित्तीय संस्थाको संचालक समिति बैठकले सिधै सीईओ नियुक्त गर्न सक्छ भने नियुक्त गरेको एकसाताभित्र केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर, अब त्यसलाई संशोधन गरी पहिला राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था गर्न लागिएको हो । यसो गर्न बाफिया संशोधन आवश्यक हुन्छ । प्रस्तावित व्यवस्थाअनुसार संचालक समितिले सीईओका लागि छनोट भएका व्यक्तिको नाम तथा योग्यतासहितको विवरण केन्द्रीय बैंकमा अनुमतिका लागि पठाएपछि राष्ट्र बैंकले प्रस्तावित व्यक्तिमाथि अध्ययन गरी अनुमति दिने छ । ‘अर्थमन्त्रीज्यूसँग पनि यसबारे छलफल भइसकेको छ,’ ती अधिकारीले भने, ‘अब राष्ट्र बैंकले प्रस्ताव पठाउँछ, त्यहीअनुसार बाफिया संशोधन गरी संशोधित व्यवस्था लागू हुन्छ ।’

के भन्छन् बैंकका सञ्चालक ?
बैंकका सञ्चालकले भने राष्ट्र बैंकको यस्तो तयारीप्रति आपत्ति जनाएका छन् । ‘बैंकका सञ्चालकले कुनै गलत काम गरेमा राष्ट्र बैंकले कारबाही गर्न सक्छ,’ एक बैंकका सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर, बैंकको एउटा कर्मचारी नियुक्त गर्न पनि राष्ट्र बैंक पुग्नुपर्ने कुरा कहाँसम्मको तर्कसंगत छ ?’

जानकार के भन्छन् ?
जानकारहरुले पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्ति प्रक्रियामा हस्तक्षेप गर्न खोजेको बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुुर क्षेत्री गलत अभ्यास हुन लागेको बताउँछन् । ‘बैंक संचालकले केन्द्रीय बैंकको नीतिनिमयभन्दा बाहिर गएर काम गरे कडाभन्दा कडा कारबाही गरेर ठेगान लगाउने हिम्मत राष्ट्र बैंकले गर्नुपर्छ,’ उनले भने, ‘होइन भने सीईओ नियुक्तिमा कुनै रामे वा श्यामेलाई ल्याउ नत्र हुँदैन भन्ने खालको बाटो बनाउन लागिएको भन्ने आशंका किन नगर्ने ?’ राष्ट्र बैंक अलि बढी नियन्त्रणमुखी हुन खोजेको उनको आरोप छ ।

मेगा बैंकका पूर्व निर्देशक दीपेन्द्र अग्रवाल राष्ट्र बैंक स–सानो कुरामा अल्झिएको बताउँछन् । ‘मापदण्ड राष्ट्र बैंकले तोक्नुपर्छ तर बाँकी कुरा चाहिँ सञ्चालक समितिलाई नै छाड्नुपर्छ, उनले भने, ‘यस्ता कुरामा राष्ट्र बैंक अल्झिने होइन ।’

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा यी विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको व्यक्ति बैंकको सीईओ हुन पाउने व्यवस्था छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु