गृहपृष्ठ हाकु लेकको जंगलमा बास बस्न बाध्य छन् सत्य

हाकु लेकको जंगलमा बास बस्न बाध्य छन् सत्य

माओवादी युद्धकालदेखि नै विस्थापित भई मनाङको हाकु वनमा बसोबास गर्दै आएका रुकुमका सत्य पुनमगर ।
माओवादी युद्धकालदेखि नै विस्थापित भई मनाङको हाकु वनमा बसोबास गर्दै आएका रुकुमका सत्य पुनमगर ।

नविन लामिछाने । मनाङ । माओवादी युद्धकालदेखि नै विस्थापित भई मनाङ छिरेका रुकुमका सत्य पुनमगर जंगलमा बसेको धेरै बर्ष भइसक्यो । नेपालमा माओवादी युद्धले चरम रुप लिएपछि सत्य पुनमगर गाउँ छाडेर मनाङ छिरेका हुन् । त्यतिबेला उनीलगायत अन्य रुकुमेली पनि मनाङ आएका थिए । कोही आफ्नो गाउँ फर्किसके भने कोही भने मनाङमा नै काम गरेर बसिरहेका छन् ।
अझै पनि मनाङका होटलदेखि गोठ, खेतबारीमा काम गर्ने रुकुमेली धेरै भेटिन्छन् । मनाङ्गेहरुका घर बनाउने, गोठमा बस्ने, काठ काट्ने, सबै काम रुकुमेली र गोर्खालीले नै गरिरहेका छन् । सत्य पुनमगर अहिले मनाङको हाकु वनमा काठको काम गरेर बस्दै आएका छन् । मनाङ्गेले पुर्जी लिएका जंगलका रूखबाट आवश्यक काठ काट्ने र मनाङ्गेको घरसम्म पु¥याउने उनको काम रहेको छ ।
उनी कहिले ढुङ्गाको ओडारमा बस्छन् त कहिले तिनै आफूले काटेका काठको बाकलबाट बनाएको छाप्रोमा रात कटाउने गर्छन् । ‘गाउँमा कोठा लिएर किन नबसेको ?’ भनी प्रश्न गर्दा मगर भन्छन्, ‘गाउँमा बसेर के गर्ने ? हाम्रो काम वनमा नै हुन्छ । गाउँबाट यहाँसम्म आउन दुई दिन लाग्छ, समयको बर्बाद हुन्छ, त्यसैले हामी यहीँ बस्छौँ ।’
पानी परोस् या हिउँ नै किन नपरोस् उनी यही छाप्रोमा रात काट्छन् । दिनभरि रूख ढाल्ने, ताछ्ने, साइजअनुसार चिरा पार्ने उनको काम रहेको छ । यसरी काम गर्दा कति कमाउनु हुन्छ भनी सोध्दा उनी भन्छन्, ‘दिनको रु ६०० पर्छ, खान बस्न यसैमा पर्छ ।’ उनी आफ्नो घर रुकुम १० वर्षमा गत दशैंमा गएको बताउँछन् ।
तपाईं घर जानु भएको छैन ? भन्दा उनी भन्छन्, ‘१० वर्ष त गइन, अहिले दशैँमा गएको थिएँ । आफन्तले नै चिनेनन्, अनि फर्किएँ । मेरो घर भनेको यही वन हो र मेरा आफन्त नै यिनै रूख हुन् । यिनैले खाना दिएका छन्, लाउन दिएका छन् । मलाई यसैमा खुशी छ । यहाँका ढुङ्गा, माटो, रूखबिरुवा सबैले चिनेको छ ।’
माओवादी जनयुद्धले त्रसित भएका पुन विगतलाई यसरी सम्झन्छन् । ‘गाउँमा नयाँ मान्छेहरु आउँथे, रातभरि जंगल जंगल हिँडाउँथे, गाउँघरमा भएका युवायुवतीलाई लान्थे, गोली चल्थ्यो, मर्ने र बाँच्ने ठेगान हँुदैनथ्यो । त्यसैले बाँच्नका लागि यता आएको हो । अहिले घरमा कोही छैन ।’
यसरी जंगलमा कहिलेसम्म बस्ने त ? भन्दा उनी भन्छन्, ‘बाँचुन्जेल र हातगोडा चलुन्जेल बस्छु । मरेपछि जेहोला होला ।’ अहिले उनीसँग रोल्पाका काले बुढामगर साथी छन् । दुवैजना यही छप्रोमा बसेर काठको काम गर्दै आएका छन् । यसरी माओवादी जनयुद्धसँगै गाउँ छाडेका कयौँ सत्य पुनमगरहरु कुनै न कुनै पीडा बोकेर हाकु लेकको जंगलमा बास बस्न बाध्य छन् । रासस

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु