गृहपृष्ठ विश्व बैंकद्वारा नेपाललाई ८६ करोड सहयोग

विश्व बैंकद्वारा नेपाललाई ८६ करोड सहयोग

नवीकरणीय ऊर्जाका मिनी ग्रिडमा सहयोग

विश्व बैंकले नेपालको नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको विविधीकरणका लागि झन्डै ८६ करोड ७५ लाख रुपैयाँबराबरको सहायता स्वीकृत गरेको छ । यसमध्ये ६३ करोड ९५ लाख रुपैयाँ (५ करोड ६१ लाख अमेरिकी डलर) अनुदान हो भने २२ करोड ८० लाख रुपैयाँ (२० लाख डलर) सहुलियतपूर्ण ऋण हो । बैंकले रणनीतिक जलवायु कोष (एससीएफ)बाट यो सहायता उपलब्ध गराउन लागेको हो । बैंकले आजै यो सहायता स्वीकृत गरेको छ ।
बैंकले निजी क्षेत्रद्वारा प्रबद्र्धन गरिएको मिनी ग्रिड ऊर्जा पहुँच परियोजनाअन्तर्गत ५ करोड ६१ लाख अमेरिकी डलरको अनुदान प्रदान गरेको हो, जसका माध्यमबाट ऊर्जासेवा कम्पनीहरूले देशका विभिन्न क्षेत्रका लागि नवीकरणीय ऊर्जामा आधारित मिनी ग्रिड क्षमता अभिवृद्धिलाई बढाउने विश्व बैंकले जानकारी दिएको छ ।
“यो परियोजनामा हाम्रो सहयोगले निजी क्षेत्रलाई नवीकरणीय मिनी ग्रिड उप–परियोजना अघि बढाउनका लागि योगदान पु¥याउँने छ र यसो क्षेत्रलाई समृद्ध र विस्तारित बनाउनेछ,” विश्व बैंकका वरिष्ट ऊर्जा विज्ञ सुबोध अधिकारीले भने।
नेपालमा केही वर्षदेखि नवीकरणीय ऊर्जाका क्षेत्रमा मिनी ग्रिड परियोजनाहरू नमुनाका रूपमा कार्यान्वयन हुँदै आएका छन् । ससाना क्षमताका लघु जलविद्युत् तथा सौर्य ऊर्जाका घरेलु उपकरणबाट उत्पादित विद्युतलाई एकीकृत रुपमा साना प्रशारण लाइनमा जोडेर त्यसरी उत्पादित विद्युत प्रणालीमा समावेश गरेर वितरण गर्ने प्रणाली मिनी ग्रिड हो ।
यसअघि बागलुङमा नमुनाका रूपमा पहिलो मिनी ग्रिड सञ्चालनमा आइसकेको छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु