गृहपृष्ठ आगलागीको उच्च जोखिममा विराटनगर तर बन्दैनन् बिग्रिएका दमकल
आगलागीको उच्च जोखिममा विराटनगर तर बन्दैनन् बिग्रिएका दमकल
वारुणयन्त्र कार्यालयका इन्चार्ज भन्छन्– दमकल नहुँदा समस्या छ । महानगरका प्रवक्ता भन्छन्– दुईवटा दमकलले पर्याप्त सेवा दिइरहेका छन् ।
प्रदेश १ को एकमात्र महानगरपालिका क्षेत्र आगलागीको उच्च जोखिममा छ । महानगरपालिका क्षेत्रभित्र पर्ने बस्तीहरुमा सुक्खा मौसममा प्रायः आगलागी भइरहन्छ । आगलागी नियन्त्रणकै लागि महानगरपालिकाले ६ वटा दमकल किनेको पनि छ । तर, ती मध्ये ४ वटा दमकल बिग्रिएका छन् ।
भएका दमलक पनि बिग्रिएपछि महानगरपालिका एउटामात्र दमकल (वारुण यन्त्र)को भरमा छ । अर्को एउटा दमकलले कतिबेला काम गर्छ, कतिबेला गर्दैन, कुनै टुंगो हुँदैन । अरु चारवटा दमकल बिग्रिएर थन्किएका छन् । बिग्रिएका दमकल बनाउन महानगरपालिकाले खासै चासो देखाउँदैन ।
आगलागी नियन्त्रणका लागि आकस्मिक रुपमा प्रयोग हुने दमकलको व्यवस्थापनमा महानगरपालिकाले बेवास्ता गरिरहेको छ । विराटनगर–४ स्थित महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा हाल ५ हजार लिटर क्षमताका दुई वटामात्र दमकल सञ्चालनमा छन् । त्यसमध्ये पनि एउटा पटक–पटक बिग्रिने गरेको छ ।
वारुणयन्त्र कार्यालयमा रहेका ६ वटा दमकलमध्ये ४ वटा बिग्रिएका छन्, तीमध्ये २ वटा मर्मत भई सञ्चालनमा आउन सक्ने अवस्थामा छन् । तर, ती दमकलको मर्मतका लागि पनि महानगरको ध्यान जान सकेको छैन ।

विराटनगरमा रहेका दमकल दैनिक सरदर एक स्थानमा भएको आगलागीमा गइरहेका हुन्छन् । तर, एकैपटक अन्य ठाउँमा आगलागी हुँदा तथा आगलागीमा थप दमकलको आवश्यकता परेमा दुहवी, इटहरी तथा रंगेलीलगायतमा ठाउँबाट वारुणयन्त्र ल्याउनुपर्ने अवस्था छ ।
पुस १९ गते पनि एउटा यस्तै घटना घट्यो । विराटनगर–४ स्थित उर्मिला दासको घरमा आगलागी भएपछि गएका दुईवटा वारुणयन्त्रमध्ये एउटा बिग्रिएर आगो नियन्त्रण नगरी फर्कियो । सो घटनामा इटहरीबाट थप वारुणयन्त्र मगाएर आगलागी नियन्त्रण गरिएको थियो ।
विराटनगर वारुणयन्त्र कार्यालयका इन्चार्ज सुभाष कुँवरका अनुसार महानगरपालिका आगलागीको उच्च जोखिममा छ । यहाँ दैनिकजसो आगलागीका घटना भइरहन्छन् । ‘हामीसँग अहिले २ वटा दमकलमात्र चालू अवस्थामा छन्, त्यसमा पनि एउटाको त भरै छैन, बारम्बार बिग्री रहन्छ,’ उनी भन्छन्, ‘अब हावाहुरीको मौसम नजिकिँदो छ, दैनिकजसो आगलागीका घटना भइरहन्छन् । यति दमकलले सेवा दिन हामीलाई अप्ठ्यारो परिरहेको छ ।’

महानगरपालिकामा दमकलको अवस्थाबारे विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधान दमकलको संख्याभन्दा पनि सेवा कसरी प्रवाह भइरहेको छ भन्ने कुरा महत्वपूर्ण भएको बताउँछन् । महानगरपालिमा भएका दुईवटा दमकलले अहिले पर्याप्त सेवा दिइरहेको उनको दाबी छ ।
प्रवक्ता प्रधानले मर्मत गरेर चालू हालतमा ल्याउन सकिने दमकल मर्मतका लागि महानगरको बजेट कम भएका कारण ढिलो भएको स्वीकार गरे । ‘यद्यपि हामी चाँडै नै मर्मत गरेर प्रयोगमा आउन सक्ने बनाउँदै छौं,’ उनले भने, ‘दमकलको संख्या हेर्ने होइन । अहिले चालू अवस्थामा जुन दमकल छन्, तिनले कसरी काम गरिरहेका छन्, त्यो हेर्ने हो । अहिले महानगरपालिकामा दुईवटा दमकल छन्, ती दमकलले प्रशस्त सेवा दिँदै आएका छन् । अन्य दमकल मर्मत गर्न बजेट छैन । तर पनि हामी बिग्रेका दमकल मर्मत गर्ने योजनामै छौं ।’ महानगरपालिकाले बजेट कम छुट्याएर त्रुटि गरेको पनि उनले स्वीकार गरे । ‘आगामी दिनमा यस कुरामा ध्यान दिइनेछ,’ प्रवक्ता प्रधानले भने ।

महानगरले बिग्रिएकामध्ये दुईवटा दमकल बन्न सक्ने जनाए पनि तिनको मर्मत खर्च आंकलनसमेत गरेको छैन । विराटनगर वारुणयन्त्र कार्यालयमा हाल १८ जना कर्मचारी कार्यरत छन् । तर, नयाँ ऐन र नयाँ प्रविधि बुझेको नेतृत्व गर्ने कर्मचारीको अझै अभाव छ ।
प्रकाशित समय ११:०५ बजे
















