गृहपृष्ठ प्राविधिक शिक्षा हटाउँदा तीन लाख सीपविहीन
प्राविधिक शिक्षा हटाउँदा तीन लाख सीपविहीन
स्वास्थ्य शिक्षा फेजआउट गर्दा २० हजार सीपहीन हुँदै
डा. गोविन्द केसी र उनका समर्थकहरूले नेपालबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लगायतका प्राविधिक एवं व्यावसायिक शिक्षा खारेज गर्न माग गरिरहेको बेला यस्ता कार्यक्रमबाट वार्षिक तीन लाख नेपाली लाभान्वित भइरहेको पाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम’ सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनले यो कुराको खुलासा गरेको हो ।
हाल १० वटा संघीय मन्त्रालयहरूमातहतमा सरकारी र गैर सरकारी निकायहरूमातहतमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका कार्यक्रमहरू सञ्चालित छन् । आर्थिक वर्ष २०७३÷७४ मा यस्ता अल्पकालीन अवधिका व्यावासायिक शिक्षा लिनेहरूको संख्या २ लाख ८४ हजार रहेको २०७४÷७५ मा १ लाख ४९ हजारमा झरेको छ । यद्यपि प्रतिवेदनमा औसतमा वार्षिक ५ लाख १२ हजार नयाँ श्रमशक्ति बजारमा प्रवेश गरेको अवस्थामा झन्डै ३ लाख जना प्राविधिक तथा व्यावसायिक शिक्षाबाट लाभान्वित भइरहेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत ३१ डिप्लोमा तहका कार्यक्रमअन्तर्गत वार्षिक २७ हजार विद्यार्थी भर्ना भएमोमा प्राविधिक एसएलसी (टीएसएलसी) तहका ८७६ कार्यक्रममा ३३ हजार जना भर्ना भएका छन् ।
बीस हजारको भविष्य अन्योलमा!
डा.केसी र उनका समर्थकको मागअनुसार प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम हटाउँदा (फेज आउट गर्दा) एकै पटक २० हजार व्यक्तिहरू स्वास्थ्य शिक्षा र सोसँग सम्बन्धित व्यावसायिक शिक्षाबाट बञ्चित हुनेछन् ।
सीटीइभीटीअन्तर्गत स्टाफ नर्स (तीन वर्षे), नर्सिङ मिडवाफेरि (१८ महिने), जनरल मेडिसिन पीसीएल, मेडिकल ल्याब टेक्निसियन, कम्युनिटी मेलिकल असिस्टेन्ट, डिप्लोमा इन फार्मेसीदेखि आयुर्वेदिक स्वास्थ्य कार्यकर्ता, डिप्लोमा इन होमियोप्थायी लगायत झन्डै १५ वटा कार्यक्रमहरू सञ्चालित छन् । जसमा कम्तिमा ४० जनादेखि ४ हजार ५०० सम्म युवाले व्यवासायिक शिक्षा हासिल गर्दै आएका छन् ।
यस्तै १८ महिनादेखि तीन वर्षसम्मका प्राविधिक तथा व्यावसायिक शिक्षा हासिल गरेका स्वास्थ्यकर्मीहरूले देशका गाउँगाउँमा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएका छन् ।
प्रकाशित समय १६:३० बजे

















