गृहपृष्ठ फेवाताल संरक्षणबारे फरक फरक राय
फेवाताल संरक्षणबारे फरक फरक राय
नेपालकै प्रमुख सिमसार क्षेत्रभित्र पर्ने पोखराका फेवातालसहितका अन्य तालका संरक्षणका विषयमा फरक-फरक राय व्यक्त गरिएको छ । केही वक्ताले संघीय सरकारमातहत नै यस्ता सम्पदाको संरक्षण गरिनुपर्ने बताएका छन् भने धेरैले प्रादेशिक सरकार र स्थानीय तहले यसको नेतृत्व लिन सुझाव दिएका छन् ।
विश्व सिमसार दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा सिमसार अर्थात वेटल्यान्डहरू मुख्य सम्पदा भएको र हरेक वर्ष यस्ता क्षेत्रमा भ्रमण गर्ने पर्यटक पनि बढ्ने गरेकाले तिनको संरक्षण हुनुपर्नेमा अधिकांसको सहमति थियो ।
यसैबीच, वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सरकारले अब परिणाम निकाल्ने गरी अघि बढ्ने बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा शनिबार पोखरामा आयोजित सिमसार र जलवायु परिवर्तन विषयक छलफल कार्यक्रममा मन्त्री बस्नेतले एक वर्षमा सरकारले विभिन्न नियम कानुन बनाउन व्यस्त भएको बताउँदै अब सरकार परिणाममुखी हुने गरी अघि बढ्ने बताएका हुन् ।
“नयाँ राजनीतिमा प्रवेश गरेको एक वर्ष हुँदै गर्दा जनताले आशा गर्नु स्वभाविक हो, तर हामीले विकासको आधारको लागि एउटा फ्रेम तयार पारेका छौं, फागुन २१ भित्र सिमा तोकिएकोले त्यसपछि हामी सवै ढंगबाट एक्सनमा अघि बढ्ने छौं ,” उनले भने ।
राष्ट्रिय महत्व राख्ने पर्यटकीय स्थल फेवाताल संरक्षणमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयकारी भूमिकामा मात्र तालको संरक्षण हुने मन्त्री बस्नेतले बताए । सीमित श्रोतसाधन भएकोले उपलब्ध स्रोतसाधनलाई अधिक रुपमा प्रयोग गरी वातावरणलाई असर नपर्ने गरी सरकारले काम गर्न चाहेको उनले स्पष्ट पारे ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आगामी ६ महिनापछि प्रदेशमा धेरै काम हुने दाबी गरे । “अब सरकारले कुरा मात्र होईन, काम गर्ने हो, अबको ६ महिना पर्खनुस्, हामीले प्रदेशमा धेरै विकास गरेरै छाड्छौं, ” उनले भने ।
फेवाताल संरक्षण गर्ने जिम्मा सरकारको भएको उनको भनाइ थियो । वरपिपल वातावरणसँग जोडिएकोले प्रदेश सरकारले वरपिपल संरक्षणको लागि विधयक ल्याएको उनले जानकारी दिए ।
गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण गर्र्ने समुदायलाई रोजगार, आयआर्जनमा सहज पार्ने भनि विभिन्न प्रतिवेदनमा उल्लेख भए पनि कार्यान्वयन नभएको गुनासो गरे ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको फेवाताल संरक्षणको नाममा अध्ययन प्रतिवेदन धेरै बने पनि प्रभावकारी ढंगले काम भने हुन नसकेको गुनासो गरे ।
“फेवाताल संरक्षणमा हाल भागबण्डा भएको छ, यसले गर्दा यसको संरक्षण कस्ले गर्ने हो, अब नाप्न, देख्न सकिने गरी काम गर्नुपर्छ,” उनले भने ।
फेवातालको पानीमुनि व्यक्तिको नाममा लालपूर्जा भएकोले आफूहरूलाई ताल संरक्षणमा ठूलो समस्या आइपरेको उनको दुःखेसो थियो ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले विश्वका ५० प्रतिशत सिमसार क्षेत्रमा पर्यटकहरु घुमफिर गर्ने गरेको उल्लेख गर्दै नेपालमा ५.५७ प्रतिशत सिमसार क्षेत्र रहेको जानकारी दिए ।
राष्ट्रिय वन्यजन्तु विभागका उप–महानिर्देशक गोपालप्रसाद भट्टराइले तराईमा ४, उच्च पहाडीमा ४ र पहाडी क्षेत्रमा २ गरी नेपालका १० ठाउँमा रामसार क्षेत्रमा सुचिकृत भएको बताए । जलवायु परिवर्तनले गर्दा सिमसार क्षेत्रमा समेत असर परेको उनले बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका विष्णुप्रसाद भण्डारीले सिंसार क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन पनि तीन तहकै सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रम पोखरामा आयोजना गरिएको बताए । वन मन्त्रालयका सचिव विश्वनाथ ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित समय १७:४७ बजे
















