गृहपृष्ठ कर्णालीको जडिबुटी संकलन केन्द्र अलपत्र

कर्णालीको जडिबुटी संकलन केन्द्र अलपत्र

Surkhet_Jadibuti_NewsKarobar

देशकै जडिबुटीको खानी मानिने कर्णाली प्रदेशमा जडिबुटीको सही ढंगले संकलन, प्रशोधन, व्यवस्थापन र निर्यात हुन नसक्दा प्रदेशले पाउनु पर्ने लाभ उठाउन सकेको छैन । कर्णालीका हिमाली जिल्ला विशेषगरी डोल्पाका जनताको मुख्य आर्थिक पाटो जडिबुटी नै हो । यार्सागुम्बा, पाँचऔंले, जटामसी, घोडमर्च, तितेपाती, पाखनवेदलगायत ८२ प्रकारका बहुमूल्य जडिबुटी कर्णालीमा पाइन्छन् ।

कर्णालीका यहाँका १० जिल्लामा वार्षिक एक करोड ४२ लाख सात हजार केजी जडीबुटी संकलन हुनसक्ने क्षमता रहेको विज्ञहरू बताउँछन् । तर यस क्षेत्रमा सबैले जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको आवश्यकता महसुस गरे पनि त्यसलाई सञ्चालन गर्नेतर्फ कसैको ध्यान गएको छैन ।
हालैमात्र कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ठूलो लगानीमा भेरीगंगा नगरपालिकाको छिन्चुमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । त्यसको लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइएको मन्त्रालयले जानकारी समेत दिएको छ ।
यद्यपि, प्रशस्त मात्रामा पाइने जडिबुटी संकलन गरी प्रशोधन गर्ने लक्ष्यका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थापना गर्न लागिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र भने अलपत्र परेको छ ।
यो प्रदेशलाई जडिबुटीमा धनी मानिए पनि संकलन तथा प्रशोधन केन्द नहुँदा व्यवसायी समस्यामा परिरहेका छन् । जडिबुटी व्यवसायी हिक्मत शाही जडिबुटी संकलन केन्द निर्माणको काम निकै सुस्त भएको बताउँछन् ।
प्रदेशका हिमाली तथा पहाडि जिल्लामा पाइने बहुमुल्य जडिबुटीलाई सुर्खेतमा संकलन गर्ने राम्रो गोदाम नहुँदा जडिबुटीले भनेजति मूल्य पाउन सकेको छैन ।
बल्लतल्ल सञ्चालन हुन लागेको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र पनि समयमै सञ्चालन हुन नसक्दा जडिबुटी व्यवसायीहरु मर्कामा परेका हुन् ।
कहिले जग्गाको विवाद त कहिले बजेटको अभावले संकलन केन्द्रअलपत्र परेको हो । २०६९ सालदेखि केन्द्र निर्माणको प्रक्रिया थालिएको संकलन केन्द्रमा काम भने आर्थिक वर्ष २०७३÷०७४ बाट मात्रै सुरु भएको थियो ।
उद्योग वाणिज्य संघ सुर्खेतद्वारा निर्माण गर्न लागिएको संकलन केन्द्र बजेटकै अभावमा अलपत्र परेको संघका कार्यकारी प्रमुख महेश खनालले बताए ।
“कर्णाली प्रदेशमा हिमाली तथा पहाडी जिल्लाहरूमा प्रशस्त मात्रामा पाइने जडिबुटी सुर्खेतमा संकलन गर्ने उद्देश्यले संघले सुर्खेतमा संकलन केन्दको योजना ल्याइएको हो । त्यसका लागि आवश्यक पर्ने जग्गा खोजीमै करिव एक वर्ष वित्यो । पछि, जग्गा त फेला प¥यो तर अपायक पर्ने भन्दै व्यवसायीहरुले गुनासो गर्न थाले,” खनाल भन्छन् ।
कूल एक हजार ५ सय ७० टन क्षमताको जडिबुटी संकलन केन्दको काम बजेट अभावले सुस्त भएको छ । ‘उद्योग वाणिज्य संघ र व्यापार तथा निर्यात प्रवद्र्धन केन्दबीचको सम्झौतापछि ढिलो गरी काम थालिएको हो,” खनालले भने– “अब निर्माणको कामलाई तिव्रता दिनेछौं।”
वीरेन्द्रनगर १० को पर्सेनीमा आठ कठ्ठा जग्गा लिएर भौतिक संरचना निर्माणको काम थालनी त भएको छ तर केन्द्रले जडिबुटी संकलन गर्ने काम भने गर्न सकेको छ्र्रैन ।
चार करोडको लागतमा निर्माणाधीन अवस्थामा रहेको सो केन्दको काम अहिले बजेट अभावले रोकिएको छ ।

प्रकाशित समय ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु