गृहपृष्ठ कांग्रेसद्वारा विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन
कांग्रेसद्वारा विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै कांग्रेसले देशभर सोमबार सडक आन्दोलन गरेको हो ।
भ्रष्टाचार, महंगी, बलत्कार बढेको भन्दै कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको हो । यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको पनि कांग्रेसले आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको हो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्ला भनी कांग्रेसले आशा गरेको बताउँदै त्यसको उल्टो जनचाहनाविपरीत ओली सरकार लागेको आरोप लगाए ।
सरकार विरोधी कांग्रेसको प्रर्दशनमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि सहभागी थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु हसन अन्सारी, शिव नारायण सिंह गन्गाई, सूर्यमाराज राई, रामनारायण मण्डल, शोभा पालुहाङ लगायतका वक्ताहरुले विधिको शासनको पूर्ण पालना र राज्य सञ्चालन पारदर्शी हुनुपर्ने लगायतका माग गरेका थिए ।
प्रकाशित समय २२:०५ बजे

















