गृहपृष्ठ नेपाली क्रिकेटका विश्व कीर्तिमानी
नेपाली क्रिकेटका विश्व कीर्तिमानी
फाइल तस्बिर
जंगबहादुर राणाले सन् १९०६ मा बेलायतको भ्रमण गर्दै सम्बन्ध विस्तार गरेको करिब १४ वर्षपछि सन् १९२० उच्च शिक्षा हासिल गरेर फर्किएका राणा परिवारका सदस्यले नेपालमा क्रिकेट भित्र्याएको इतिहास छ । तर, त्यसको २६ वर्षसम्म राणाहरूले क्रिकेट खेललाई आफ्नै मनोरञ्जनमा लागि मात्र उपयोग गरे । यद्यपि, सन् १९४६ (२००४ साल) मा नेपाल क्रिकेट संघको स्थापना भयो । तर, राणाशासन नफालिँदासम्म क्रिकेट खेल राणा परिवार र उनीहरूका साथीभाइभन्दा बाहिर जान सकेन ।
राणाकालमा स्थापित संघ १४ वर्षपछि २०१८ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भयो । तर, अर्को २६ वर्ष अर्थात् २०४४ सालसम्म नेपाली क्रिकेट जहाँको तहीँ रह्यो । २०४४ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एफिलिएट सदस्य भएको नेपालले २०४८ मा आईसीसीको सदस्यता पायो । २०५२ सालमा आईसीसीको एसोसिएट सदस्य बनेयता नेपाली क्रिकेटमा नयाँ युग सुरूवात भयो । त्यसपछि नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थाल्यो ।
सरकारी उदासीनताका कारण करिब १२ वर्षसम्म नेपाली क्रिकेटले मौलाउने अवसर पाएन । क्रिकेट खेललाई सरकारी तवरबाट अहिलेसम्म पनि मलजल गर्ने प्रयास भएको छैन । यसको बलियो उदाहरण एउटा पनि क्रिकेट रंगशाला तथा एकेडेमी नहुनु नै हो । चौर र खाली जग्गाहरूमै रमाइरहेका क्रिकेटका खेलाडी र क्रिकेटप्रेमीका लागि २०६४ सालयताका वर्षहरू भने रमाइला क्षणका रूपमा परिणत हुँदै गएका छन् । सन् २००८ मा नेपालले डिभिजन फाइभमा तेस्रो स्थान बनाएको थियो ।
२०१८ मार्च १५ मा गरेको उत्कृष्ट प्रदर्शनकै कारण नेपाली टिमले पहिलोपटक अन्तराष्ट्रिय एकदिवसीय (ओडीआई) स्टाटस पाएको हो । तर, घरेलु प्रतियोगिता र गतिलो मैदान नहुँदा नेपालले पहिलो एक दिवसीयमा गतिलो प्रदर्शन गर्न सकेन । नेपालले नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा ४–१ ले नतिजा सुम्पियो ।
हालै सम्पन्न एकदिवसीय र ट्वान्टी–२० प्रतियोगितामा भने नेपालले दुवै शृंखला कब्जामात्र गरेन उदीयमान युवा क्रिकेटर रोहितकुमार पौडेल र सन्दीप जोराले विश्व कीर्तिमान समेत कायम गरे ।
नेपाली क्रिकेटका सम्झनलायक क्षण
सन्दीप जोरा
यूएईविरूद्धको ट्वान्टी–२० शृंखला कब्जा गर्दा २०७५ माघ १७ गते क्रिकेटर सन्दीप जोरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा कम उमेरका खेलाडी बन्न सफल भए । उनले १७ वर्ष १०३ दिनको उमेरमा यूएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएका थिए । यसअघि उक्त कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो । हिरलले सन् २०१० मा १८ वर्ष १७७ दिनको उमेरमा आयरल्यान्डविरुद्ध अर्धशतक बनाएका थिए । जोराले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ३ चौका र १ छक्काको मद्धतमा अविजित ५३ रन बनाएका हुन् ।
रोहित पाैडेल
यूएईविरुद्धको एकदिवसीय क्रिकेट शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले २०७५ माघ १२ गते अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाए । उनले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड बनाएका हुन् । यूएईविरुद्धको वान डे सिरिजको दोस्रो खेलमा उनले ५५ बलमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरे । उनले १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतकको कीर्तिमानी कायम गरेका हुन् । रोहितको नाममा आएको यो रेकर्ड यसअघि भारतीय लिजेन्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको नाममा थियो । तेन्दुलकरले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए भने अफ्रिदीले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।
शक्ति गाैचन
सन् २०१२ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरअन्तर्गत मलेसियाविरुद्ध शक्ति गौचनको खेल निकै रोचक मानिन्छ । १० ओभर बलिङ गरेका शक्तिले ८ मेडन ओभर राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिएका थिए । शक्तिले सिनियर टिमबाट ह्याट्रिक विकेट पनि लिएका छन् । शक्तिले आईसीसी टि–ट्वान्टी छनोटको खेलमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । शक्ति गौचनले सन् २००१ मा माल्दिभ्सविरुद्ध यू–१९ टिमबाट र सन् २००५ मा इटालीविरुद्ध शतक प्रहार पनि गरेका छन् । २०७५ साउन १६ र १८ गते नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलपछि उनले सन्यास लिए ।
रुविना क्षेत्री
सन् २००९ मा मलेसियामा भएको एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेट नेपालका लागि बिर्सन नसिकने क्षण बन्यो । नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन जोड्यो । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरविरूद्ध कप्तान रुविना क्षेत्रीको प्रदर्शन विश्व क्रिकेटमा नाम लेखाउन लायक बन्यो ।
रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिँदै हारको मुखमा पुगेको खेल बराबरीमा पुर्याउन सफल भइन् । रुविनाले दोस्रो, तेस्रो, चौथो, पाँचौं र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् ।
नेपाल भर्सेस म्यानमार
नेपालले विश्व क्रिकेटमै सबैभन्दा छोटो समयमा जित हासिल गरेको कीर्तिमान पनि कायम गरेको छ । म्यानमारविरूद्धको ५० ओभरको खेलमा ११ रनको लक्ष्य पछ्याएको नेपाल २ बलमै विजयी भएको हो । नेपालले मलेसियामा भएको एसीसी ट्रफीमा सन् २००६ मा यो कीर्तिमान रचेको हो । टस जितेर नेपालले फिल्डिङ गरेको नेपालका लागि महबुब आलमले ७ तथा बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अलआउट भएको थियो । ११ रनको लक्ष्य पछ्याएको नेपालले पाँच रन एक्स्ट्रा पाएपछि दुई बलमै १० विकेटको जित निकाल्यो । ओपनर महेश क्षेत्री र धिरेन्द्र चन्द समान एक-एक बलमा तीन-तीन रनमा नटआउट रहे ।
मेहबुब आलम
सन् २००८ मा जर्सीमा भएको डिभिजन फाइभमा नेपालले अर्को इतिहास रचेको छ । मोजाम्बिकविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन जोडेको थियो । २ सय ३९ रनको लक्ष्य पछ्याएको मोजाम्बिक १४.५ ओभरमा सबै विकेट गुमाएर १९ रनमा समेटियो । जसमा मेहबुब एक्लैले १० विकेटको कीर्तिमानी रचे । महबुबले ७.५ ओभरमा एक मेडनसहित १२ रन खर्चेर १० विकेट लिएका थिए । उनीबाट ५ ब्याटम्यान बोल्ड, ४ एलबीडब्लू र १ क्याच आउटको सिकार भएका थिए । महबुबले सीमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम पनि लेखाए ।
सोमपाल कामी
विश्व क्रिकेटमा अर्को इतिहास सोमपाल कामीले रचेका छन् । सन् २०१४ मा नेपाल र हङकङबीच श्रीलंकामा भएको टी–२० सिरिजको चौथो खेलमा सोमपालले हङकङविरूद्ध इतिहास बनाएका हुन् । टस हारेर ब्याटिङ गरेको नेपाल १२.५ ओभरमा वसन्त रेग्मी ३ रनमा पेभिलिएन फर्कंदा ८ विकेट गुमाउँदै २५ रनको दयनीय अवस्थामा थियो । तर, दसौं नम्बरमा आएका बलर सोमपालले चामत्कारिक ब्याटिङ प्रदर्शन गरे । सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए, जुन विश्व इतिहासमा अहिले पनि सुनौलो अक्षरले लेखिएको छ । अहिलेसम्म टि–२० क्रिकेटमा १०औं नम्बरमा आएका कुनै पनि ब्याट्सम्यानले ४० रन बनाउन सकेका छैनन् ।
राहुल विक
राहुलकुमार विकले उमेर समूहमा नेपालका लागि इतिहास रचेका छन् । राहुलले एसीसी यू-१९ एलिट कपको समूह चरणको खेलमा घरेलु टिम थाइल्यान्डविरुद्ध एआईटी मैदानमा जादूगरी प्रदर्शन गरेका हुन् । एक रनआउटसहित उनले थाइल्यान्डका नौ ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । उनले ६ ओभर २ बलमा १५ रन खर्चेर ८ विकेट लिए । बायाँ हाते स्पिनर राहुलले यसअघि सिनियर स्तरको प्रतियोगितामा पनि ७ विकेट लिइसकेका थिए । उनले २०१० को फेब्रुअरीमा काठमाडौंमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-५ को फाइनलमा अमेरिकाविरुद्ध ८ ओभर २ बलमा १५ रन खर्चेर ७ विकेट लिएका थिए ।
टी–२० विश्वकपमा नो वाइड
नेपाली क्रिकेट त्यतिबेला उच्च विन्दुमा पुग्यो, जतिबेला सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप पहिलोपटक खेल्यो । पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गर्यो । हङकङलाई ६९ रनमा अलआउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर, त्यो खेलमा पनि एउटै वाइड हानेने । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दा पनि नेपालले वाइडको रुपमा कुनै रन दिएन, जुन विश्व रेकर्ड तोड्न शायद अब मुस्किल छ ।
प्रकाशित समय ११:५२ बजे

















