गृहपृष्ठ नेपालमा वैदेशिक लगानीका लागि उपाध्यक्ष ढकालको आग्रह

नेपालमा वैदेशिक लगानीका लागि उपाध्यक्ष ढकालको आग्रह

chandra-dhakal-speech-newskarobar

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एव लगानीकर्तालाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा सुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थिर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकोले नेपालका कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे । सरकारले आगामी महिना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै उनले सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रण गरे ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरुमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्तालाई ढकालले आग्रह गरे ।

उनले नेपाल सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकहरुको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवर्धनमा जोड दिए । दक्षिण एसियाका लगानीकर्ता एवं रोजगारदाताहरुले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशहरुमा आर्थिक, सामाजिक, सांस्कृतिकका साथै लगानीका क्षेत्रहरुमा पनि साझा खालका अवसर र चुनौतीहरु रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताए ।

दक्षिण एसियाली क्षेत्रका सरकारहरुलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवर्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामूहिक रुपमा सुझाव दिन या आग्रह गर्न सकिने परिषदका अध्यक्ष ढकालको भनाइ छ । उनले यस रोजगारतादाहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवर्धन गर्न, आर्थिक हितका साझा मुद्दाहरुमा मिलेर काम गर्न, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाहरुको पहिचान गरी द्विपक्षीय एव बहुपक्षीय रुपमा लाभ लिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग आग्रह गरे ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा सुरु भएको यो आठौँ बैठक हो । बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताको सहभागिता छ । सार्क देशका उद्योग बाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्सलगायतमा आबद्ध रोजगारदाता सम्मिलित यस मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीको खोजी गरी तिनको समाधानका उपायबारे छलफल गर्नेछन् ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु