गृहपृष्ठ रुपन्देहीबाट देशभरि फैलिँदै संघसंस्था

रुपन्देहीबाट देशभरि फैलिँदै संघसंस्था

rupandehi_newskarobar

शैक्षिक नगरीको रूपमा पहिचान बनाएको रूपन्देहीले अहिले औद्योगिक नगरीको रूपमा समेत पहिचान बनाइसकेको छ । रुपन्देहीले केही यस्त ससंस्थाहरू जन्माएको छ, जसले रूपन्देहीमा स्थापना भएर केन्द्रीय स्तरमा समेत  प्रतिनिधित्व गरेका छन् । रूपन्देहीमा संघको रूपमा स्थापना भएका ती संघसंस्थाहरूले केन्द्रमा ‘महासंघ’को रूपमा प्रतिनिधित्व गरेका छन् ।

 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ

रूपन्देहीमा स्थापना भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले महासंघकोसम्मको नेतृत्व गर्न सफल भएको छ । रूपन्देहीमा सानो संख्यामा स्थापना भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले केन्द्रीय महासंघसमेत बन्न सफल भएको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी  संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीका अनुसार २०५८ सालमा रूपन्देहीमा संस्था सुरुवात भएको थियो ।  त्यसलाई विस्तार गरी काठमाडौंसम्म  व्यवसायी संघबाट महासंघ समेत बन्न सफल भएको हो ।

संस्थापक अध्यक्ष माधव नेपालले पहिलो पटक होटल तथा रेष्टुरेन्ट महासंघको रूपन्देहीबाट नेतृत्व गरेका थिए । महासंघको अहिले देशभरका  ५६ वटा शाखा विस्तार भएको छ ।  होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीमा  करिव १८ सय वटा होटल तथा रेष्टुरेन्टहरू आवद्ध भए पनि १५ सयले सदस्यता नविकरण गरको छन् ।

तथ्यांकअनुसार रूपन्देहीमा करिव ५ हजारभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा रहेका छन् ।

 

पुस्तक तथा स्टेसनरी व्यवसायी संघ

रूपन्देहीले जन्माएको पुस्तक तथा स्टेसनरी व्यवसायी संघले अहिले केन्द्रको नेतृत्व गर्न सफल भएको छ ।  नेपाल पुस्तक तथा स्टेसनरी महासंघको नेतृत्व अहिले रूपन्देही जिल्लाले गरिरहेको छ ।

बुटवल उद्योग वाणिज्य संघका  वरिष्ठ उपाध्यक्ष समेत रहेका उद्योगी हरिप्रसाद अर्यालको नेतृत्वमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रहेको छ ।  २०५८ सालमा रूपन्देहीमा रहेका जम्मा ३२ जना व्यवसायीहरूको भेलाबाट रूपन्देही पुस्तक तथा स्टेसनरी व्यवसायी संघ गठन गरिएको  थियो । पहिलो पटक तदर्थ समितिको रूपमा भैरहवाका पुस्तक तथा स्टेसनरी व्यवसायी बालकृष्ण बस्यालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो । पछि प्रथम अधिवेशनबाट बस्लाकै नेतृत्वमा रूपन्देही  पुस्तक तथा स्टेशनगरी व्यवसायी संघ गठन गरिएको थियो ।

अहिले देशभरका सबै जिल्ला ७७ वटैमा शाखा विस्तार भएको पुस्तक तथा स्टेशनगरी व्यवसायी संघ २०६५ सालमा महासंघ स्थापना भएको थियो । तत्कालीन महासंघको नेतृत्वको लागि रूपन्देहीकै व्यवसायी कृष्णप्रसाद पाण्डेको संयोजकत्वमा महासंघको तदर्थ समिति गठन भएको थियो ।

पोखरामा आयोजना गरिएको भेलाबाट कृष्णप्रसाद पाण्डेकै नेतृत्वमा नेपाल पुस्तक तथा स्टेशनगरी व्यवसायी महासंघ गठन भएको थियो । पहिलो पटक तदर्थ समितिका सचिव तथा  निर्वाचित महासंघका सचिव र हालका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार महासंघमा रूपन्देहीले दोस्रो पटक र महासंघकै नेतृत्वमा चौथो कार्यकालमा रूपन्देहीले नेतृत्व गरिरहेको छ ।

पुस्तक तथा स्टेसनरी व्यवसायी संघ रूपन्देहीमा हाल ३ सयभन्दा बढी व्यवसायीहरू आवद्ध रहेका छन् । रूपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवालीका  अनुसार महासंघले एसोसियट र साधारण सदस्य गरी दुई प्रकारको सदस्यता प्रदान गर्ने गरेको छ । देशभरमा करिव १२ हजारभन्दा बढी व्यवसायीहरू महासंघमा आवद्धता छन् ।

 

घरबहाल सरोकार संघ

रूपन्देहीमा पहिलो पटक गठन गरिएको घरबहाल सरोकार संघ अहिले घरबहाल सरोकार महासंघ भएको छ ।  संस्थापक अध्यक्ष शंकर कोइरालाका अनुसार अहिले विभिन्न जिल्लामा शाखा विस्तार गरिएको छ ।

रूपन्देहीमा घर बहालमा बस्ने केही व्यक्तिहरूको सक्रियतामा  ०६३ सालमा रूपन्देहीमा घरवाहल सरोकार संघ गठन गरिएको थियो ।  संस्थापक अध्यक्ष कोइरालाका अनुसार अहिले केन्द्र स्तरमा महासंघ स्थापना भइसकेको छ । रूपन्देहीमा स्थापना भएर केन्द्रीय स्तरमा विस्तार भएको घरवाहाल  सरोकार  संघ महासंघमा परिणात भएको हो ।

महासंघको संस्थापक अध्यक्ष समेत रूपन्देहीबाट भएको छ । रूपन्देहीका संस्थापक अध्यक्ष शंकर कोइराला नै केन्द्रीय समिति महासंघको केन्द्रीय अध्यक्ष बनेका छन् । २०७२ सालमा   केन्द्रीय महासंघ गठन गरिएको हो । अध्यक्ष कोइरालाका अनुसार अहिले देशका करिव २२ वटा जिल्लामा यसको शाखा गठन गरिएको छ ।  नेपाल घरबहाल सरोकार संघ रूपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलका अनुसार अहिले पनि महासंघले शाखा विस्तारको अभियान थालनी गरेको छ ।

 

ट्रक व्यवसायी महासंघ

रूपन्देहीमा पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समिति (ट्रक)को रूपमा स्थापान भएको समितिले केन्द्रीय नेतृत्व गर्नुको साथै महासंघ स्थपानामा पनि महत्पूर्ण भूमिका खेलेको छ ।  वि.स. २०३२ सालमा स्थापना भए पनि अधिकारिक रूपमा २०७४ सालमा समिति स्थापना भएको थियो ।

पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिबाट नेपाल ट्रक यातायात महासंघको केन्द्रीय अध्यक्षमा अर्जुन रानाभाटले नेतृत्व  गरिरहेका छन्, उनी पश्चिमाञ्चल  यातायात व्यवसायी समितिका अध्यक्ष समेत हुन ।

महासंघको संस्थापक केन्द्रीय महासचिवमा रूपन्देहीका पूर्वअध्यक्ष महेन्द्रबहादुर हमाल निर्वाचित भएका थिए । पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समिति बुटवलका कार्यालय सहायक प्रकाश गैरेका अनुसार महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रूपन्देहीका  पूर्वअध्यक्ष लोकराज पोखरेल चयन भएका थिए ।  पश्चिमाञ्चल  यातायात व्यवसायी समिति रूपन्देहीका अध्यक्ष टिकाराम गौतमका अनुसार महासंघको संस्थापकको रूपमा रूपन्देहीको समिति रहेको छ ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु