गृहपृष्ठ डाँडागाउँमा १० वर्षदेखि पानीको हाहाकार, जनप्रतिनिधिबाट पनि बेवास्ता

डाँडागाउँमा १० वर्षदेखि पानीको हाहाकार, जनप्रतिनिधिबाट पनि बेवास्ता

ramechhap-dadagaun-newskarobar

बिहान मिर्मिरे नहुँदै उठ्ने, ग्रागी बोकेर धाराखोला जाने अनि पानी लिएर आउने– रामेछाप नगरपालिका–४, डाँडागाउँबासीको दशकदेखिको दैनिकी हो यो । एक दशकअघि सम्म उनीहरु डमार खोलाको पानी ल्याएर खान्थे । त्यसअघि कुवाको । कुवा सुकेपछि एक दशक डमार खोलाको भर परेका डाँडाँगाउँबासी डमार खोला पनि सुकेपछि अफ्ठ्यारोमा परे । अहिले गाउँबाट झन्डै २० मिनेट टाढा रहेको धाराखोला धाउन उनीहरु बाध्य छन् ।

 

२० लाखको योजना अधुरो

डाँडागाउँबासीलाई पानी खुवाउने योजनाहरु नबनेका होइनन् । तर, ती योजना सम्पन्न गर्ने तदारुकता भने कसैले पनि देखाएनन् । २०६८ सालमा धाराखोलाको मुहानबाट गाउँबासीलाई घर–घरमा पानी पुर्याउने लक्ष्यसहित करिब २० लाखको खानेपानी योजना सुरु भयो । तर, २०६८ सालमा सुरु भएको योजना २०७५ सालसम्ममा सम्पन्न नहुँदा गाउँले दुःख पाइरहेका छन् ।

बरु दुई दशकअघि गाउँमा खानेपानीको कुनै समस्या थिएन । ‘धाराखोला खानेपानी योजना सुरु भएदेखि अहिलेसम्म विभिन्न संघसंस्था तथा सरकारी निकायबाट बजेट र सहयोग आइरहेको छ, तर पनि हामीले पानी खान पाएका छैनौं,’ स्थानीय युवा विष्णु श्रेष्ठले न्युज कारोबारसँग भने, ‘केही व्यक्तिको स्वार्थका कारण गाउँका सोझासीधा जनताले दुःख पाइरहेका छन् ।’ अर्का युवा अम्बरबहादुर श्रेष्ठले पनि खानेपानीका लागि आएको बजेट दुरुपयोग भइरहेको र स्थानीयले सास्ती खेप्नुपरिरहेको गुनासो गरे ।

ramechhap-dadagaun-newskarobar

भूकम्पपछि झन् समस्या

डाँडागाउँ बसेरी २०७२ साल वैशाखको महाभूकम्पले ध्वस्त भएको गाउँ हो । भूकम्पपछि यो गाउँका कुनै घर सग्ला रहेनन् । ६०–६५ घरधुरी रहेको गाउँमा भूकम्पपछि भने ८४ वटा घर बनेका छन् । घरसंख्या बढ्यो तर पानीको मुहान सुक्यो । गाउँमा पिउने पानीको हाहाकार भएका बेला पानीको सही मुहान पहिचान भएको ठाउँमा सामुदायिक विकास समाज मन्थलीले डाँडागाउँबासीका लागि पानी तान्ने मेसिन उपलब्ध गरायो । तर, मेसिन उपलब्ध गराएको दुई वर्षसम्म पनि प्रयोगमा ल्याइएको छैन । ‘खानेपानी जस्तो संवेदनशील क्षेत्रमा पनि राजनीतिक प्रतिशोध साँधिएको छ,’ स्थानीय युवा जितबहादुर श्रेष्ठ भन्छन्, ‘सामुदायिक विकास समाजले दिएको पानी तान्ने मोटर प्रयोगमा ल्याएको भए सम्भवतः पानीको समस्या हुँदैनथ्यो ।’ सामुदायिक विकास समाजले डेढ लाख लागतमा पानी तान्ने मेसिन किनेर समुदायलाई हस्तान्तरण गरेको थियो ।

ramechhap-dadagaun-newskarobar

मेसिन दिने संस्थासमेत असन्तुष्ट

आफूले दिएको मेसिन प्रयोगमा नआएकोप्रति सामुदायिक सेवा समाज पनि खिन्न छ । समाजका प्रमुख मिलन घिसिङ स्थानीयले पानीका लागि सास्ती खेपिरहे पनि दुई वर्षसम्म मेसिन प्रयोगमा नल्याउनु दुःखद पक्ष भएको बताउँछन् । ‘भूकम्पपछि डाँडागाउँको अवस्था दयनीय थियो, न घर थियो, न त स्वच्छ खानेपानी, त्यही भएर हामीले पानी तान्नका लागि मेसिनको व्यवस्था गरिदिएका थियौं,’ उनले भने, ‘अहिलेसम्म मेसिन प्रयोग नहुँदा केही व्यक्तिलाई त फाइदा भएको होला तर समग्र समुदायलाई भने असर परेको छ । त्यस योजनाका अगुवा, शिक्षक तथा अध्यक्ष नीमबहादुर श्रेष्ठलाई सम्पर्क गरी मेसिन प्रयोग नगरेको विषयमा सोध्न खोज्दा सम्पर्क नभएको उनले बताए ।

 

चुनावी नारामा सीमित

चुनावका बेलामा दलका उम्मेदवारहरुको मुख्य नारा खानेपानीको व्यवस्था नै हुन्छ । तर, सत्ता हात परेपछि उनीहरु बेवास्ता गर्छन् । ‘बच्चालाई ललिपप देखाएजस्तो’ गरी फकाएर भोट माग्ने र जितेपछि फर्केर नहेर्ने गरेकोप्रति स्थानीय असन्तुष्ट छन् । जितबहादुर श्रेष्ठ भन्छन्, ‘चुनावका बेला घर–घरमा पानीका धारा पुर्याइदिन्छु भनेर भोट मागे तर अहिले वडाध्यक्ष र मेयर भएर कुर्सीमा बसेका छन्, हाम्रो अवस्था जस्ताको तस्तै ।’ चुनाव जितेपछि स्थानीय नेताले नै खानेपानीमा राजनीति गरिरहेको उनको आरोप छ । ‘राति–राति सीमित व्यक्ति बसेर मिटिङ गर्छन्, अरुलाई केही थाहा हुन्न, यसको अर्थ यहाँ भ्रष्टाचार र अनियमितता भइरहेको छ,’ उनले भने, ‘त्यसको सिकार जनता बनिरहेका छन् ।’

ramechhap-dadagaun-newskarobar

राजनीतिक स्वार्थले समस्या

डाँडागाउँमा पानीको स्रोत व्यवस्थापन सरल भए पनि स्थानीय अगुवाले राजनीति गरिरहेको स्थानीयको बुझाइ छ । गाउँको पुच्छारमा पानीको मुहान छ । शिरानसम्म पानी ल्याइपुर्याउन करिब ९ सय मिटर तान्नुपर्ने हुन्छ । त्यसका लागि ६८ सालमै २० लाखको योजना सुरु भएको हो । त्यसपछि विभिन्न संघसंस्था र तत्कालीन गाविसलगायतले खानेपानी समस्या समाधानका लागि तत्परता देखाए । तर, केही व्यक्तिको राजनीतिक स्वार्थ पूरा गर्न सहयोग नलिने र लिए पनि प्रयोग नगर्ने काम भइरहेको स्थानीय सञ्जिव श्रेष्ठको दाबी छ ।

 

प्रत्येक घरबाट तीन हजार संकलन

धाराखोला खानेपानी योजना करिब २० लाख योजनामा सुरु भए पनि त्यति रकमले योजना सम्पन्न नहुने भन्दै प्रत्येक घरबाट तीन/तीन हजार रुपैयाँ पनि संकलन गरिएको छ । तर, त्यसको समेत कुनै लेखाजोखा छैन । आयोजनाबारे के भइरहेको छ भन्नेमा स्थानीय अनभिज्ञ छन् । ‘हामीलाई त सोध्दा पनि बताउँदैनन्,’ स्थानीय युवा किरण श्रेष्ठ भन्छन्, ‘खानेपानी योजना निर्माण सुरु भएको आठ वर्ष बितिसक्यो, गाउँलेले पानी खान पाएका छैनन्, तर समितिमा को–को छन्, निर्णय के–के हुन्छ, हामीलाई भन्दैनन् ।’ गाउँका शिक्षक निमबहादुरले खानेपानी योजनाको अग्रसरता लिए पनि कुनै जानकारी नदिने गरेको उनले बताए ।

ramechhap-dadagaun-newskarobar

जनप्रतिनिधिको बेवास्ता

चुनावमा ‘पानी ल्याइदिने आश्वासन बाँड्दै’ भोट माग्नेहरूले त्यतिबेलै जिते तर स्थानीय बासिन्दा अझै हारिरहेका छन् । स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको छ । तर, जम्मा २० लाखको योजना पूरा गर्न वडा कार्यालयले समेत कुनै चासो देखाएको छैन न त नगरपालिकाकै ध्यान गएको छ ।

रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा डाँडागाउँमा पानी पुर्याउने कुनै योजना नभएको बताउँछन् । ‘त्यहाँका लागि हामीले कुनै योजना बनाएका छैनौं, नगरपालिकासँग बजेट पनि छैन,’ उनले भने, ‘आगामी वर्ष योजनामा राखेर पानीको समस्या समाधान गर्छौं ।’ नगर प्रमुख थापा रामेछाप नगरपालिका–४ कै बासिन्दा हुन् ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु