गृहपृष्ठ एउटा उदाहरणीय जोडी : पाऊ चलेनन् तर, माया घटेन
एउटा उदाहरणीय जोडी : पाऊ चलेनन् तर, माया घटेन
स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर-२ का गणेश न्यौपने दुबईमा बस्थे । घरका माइला छोरा उनको विवाहको कुरा चल्यो । विवाहकै लाई युनाइटेड अरब इमिरेट (युएई)बाट नेपाल आए ।
वि.सं. २०७० सालमा उनी केटी हेर्न पाल्पा गए । तानसेन आएका उनले पहिलो पटक अलि टाढाबाट विवाहका लागि परिवारले प्रस्ताव गरेकी नुमा घिमिरेलाई हेरे ।
साँझ त्यहीँ तानसेनमा बसे । तानसेनमा साँझको बसाईमा नुमाका बारेमा उनीहरूबीच चर्चा चल्यो । अली टाढाबाट नै हेरेको केटीको विषयमा साँझ सँगै रहेका साथीभाईले कुरा गरे । उनको स्वभाव, कर्म, पढाई सबै विषयमा जानकारी दिए ।
भोलीपल्ट गणेश आफ्नो घर फर्किए । खासमा पाल्पाकै तिलगिरेमा केटी हेर्न गएका उनी तानसेनमा नुमालाई नै विवाह गर्ने निस्कर्ष निकाली घर फर्किएका थिए ।
करिब एक महिनामा उनीहरुको विवाह भयो । घरको माइलो छोरो गणेश र माइतकी माइली नै छोरी नुमाका बीचमा मागी विवाह भयो । विवाहपछि गणेश पुनः विदेश गए । पुरानै स्थान दुबई ।
विवाह भएको करिब एकवर्षपछि जतिबेला नुमा माइतमा थिईन्, एउटा घटना घट्यो । घाँस काट्न गएकी नुमा रूखबाट लढिन् । बिरामी परिन्, थाला परिन् । अनन्तः चिकित्सकले उनको ढाड भाँचिएको बताए । श्रीमतको लढेर ढाड भाँचिएपछि गणेश स्वदेश फर्किए ।
नुमाले कम्मर भन्दा तल्लो भाग, सधैँको लागि अचेत हुने गरी गुमाइन् । अर्थात् अब नुमाको जीवन ह्वीलचेयरमा सीमित हुन पुग्यो ।
श्रीमतीको उपचारको लागि गणेशले पाल्पा, बुटवल, काठमाडौंमा करिब ३ महिना बिताए । उनलाई स्पाईनल इन्जुरी भयो । सधैभरको लागि ह्वीलचियर प्रयोग गर्ने भइन् । विदेशमा मजदुरीको लागि जाने गरेका गणेशले अब विदेश नजाने निर्णय गरे । गणेशले श्रीमती नुमाकै स्याहार सुसारमा बस्ने निधो गरे ।

‘अब स्वदेशमा नै बसेर उनलाई सघाउने निधो गरें,’ गणेश भन्छन्, ‘विदेशको भूमि सधैँको लागि त्यागें ।’
७ कक्षा सम्म मात्र अध्ययन गरेका गणेशले स्नाकोत्तर तह द्धितिय वर्षमा अध्ययन गर्दै गरेकी नुमासँग विवाह गरेका थिए । तीन महिनासम्म काठमाडौंमा रहेको स्पाईन इन्जुरी पुनःस्थापना केन्द्रमा बसेर ह्वीलचेयर चलाउन, दैनिक कार्य गर्न नुमाले सिकिन् । त्यसपछि गणेश नुमालाई लिएर स्याङ्जा फर्किए ।
तर, स्याङ्जमा शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुलाई हर्ने दृष्टिकोण ठिक थिएन । घर परिवारकै साथ नपाएपछि गणेशले श्रीमतीलाई बुटवल ल्याए ।
बुटवलमा ल्याएर उनले कोठा खोजी श्रीमतीका लागि एउटा सानो स्टेसनरी पसल राखिदिए । नुमना ह्वीलचेयरकै सहायतले त्यही स्टेसनरीमा कार्य गर्न लागिन् । श्रीमानले समेत सघाए । गणेशले भने भाडामा रिक्सा चलाए । करिब एक महिनापछि आफ्नै रिक्सा किनेर चलाए ।
आफ्नै ई-रिक्सा किनेर चलाएका गणेश भन्छन्, ‘विवाहपछि भन्दा पनि बढी दुर्घटनामा परेपछि उनीसँग माया बस्यो । अस्पतालको बेडमा रहँदा होस्, या अन्य समयमा उनले देखाएको म प्रतिको मायाले उनलाई धोका दिन मन नै लागेन । अनी बुटवल लिएर आएँ । ’
उपचार गर्दा लागेको ४ लाख खर्च गणेशले ई-रिक्सा चलाएर तिरिसकेका छन् । श्रीमतीले घरको सामान्य कामहरु आँफै गर्छिन्, पुस्तक पसल पनि चलाएकी छिन् ।
बुटवल-७ दिपनगरमा उनीहरुले स्टेसनगरी पसल छ । स्टेसनरीमा आउने ग्राहकलाई नुमा आँफैले नै सामान झिकेर दिन्छिन् । घरको सबै काम आँफै गर्छिन् । नुमालाई खाना पकाउन सजिलो होस् भनेर गणेशले होचो खालको टेबल किनेर ल्याइदिएका छन् । ह्वील चियरको सहायले उनले त्यसमै खाना पकाउने, कपडा धुने, अन्य आधारभूत काम आँफै गर्छिन् ।
कतिपयले यस्तो अवस्थामा उनीसँगै सल्लाह गरेर अर्को विवाह गर भनेर पनि गणेशलाई सल्लाह दिए । तर, गणेशले त्यस्ता सल्लाह कुरा काट्नेहरको कुरामा मतलबै गरेनन् । ‘बरु रिक्सा चलाएर भए पनि उनलाई पाल्छु भन्ने हिम्मत जाग्यो,’ गणेश भन्छन् ।
‘यसरी लामो जिन्दगी कसरी चल्छ ? अर्को विवाह गर,’ कतिपयले आफूलाई पटक-पटक भनेको गणेश अहिले पनि सम्झन्छन् । तर, उनले उक्त कुरालाई पनि वास्ता गरेनन् । ‘दोस्रो विवाहको बारेमा कल्पना समेत गरिँन,’ गणेश भन्छन्, ‘विवाह गर्ने त कुरै भएन ।’
दुर्घटना हुन भन्दा पहिला पाल्पाको बराङ्दीमा रहेको एक नीजि विद्यालयम नेपाली विषयकी शिक्षक थिइन्, नुमा । अहिले पनि उनी शिक्षक सेवा लगायतको तयारी गरिरहेकी छिन् ।

नुमाले लुम्बिनी घुम्ने ईच्छा देखाएपछि साथीको ई–रिक्सा भाडामा लिएर बुटवलबाट लुम्बिनी सम्म घुमाएको स्मरण गर्दा गणेश रोमाञ्चित हुन्छन् । ‘मेरो रिक्सा पुरानो थियो,’ गणेश भन्छन्, ‘साथीको रिक्सा लिएर फूल चार्ज गरी लुम्बिनी समेत घुमाएर आएको छु ।’
शारीरिक रुपमा अशक्त भएपछि घर परिवार, श्रीमान्, श्रीमती वा समाजबाट हेलाको पात्र बन्ने अपाङ्गता भएका व्याक्तिहरुको पीडा नुमामा लागु हुन नदिएको गणेश सगौरव बताउँछन् ।
रिक्सा चलाएर मासिक ३० हजारसम्म आम्दानी हुने र त्यसबाटै घर भाडाका अतिरिक्त अन्य आवश्यकता पूरा गर्ने गरेको गणेशले बताए ।
छोरी जन्मदाको खुसी
रुखबाट लडेर ढाड नचल्ने भएको यही फागुन ४ गते ३ वर्ष पुग्छ । स्पाईनल इन्जुरी भए पनि उनीहरुकी छोरी जन्मिएकी छिन् । उनीहरूको छोरीको नाम ‘पार्वती ’ हो, जुन पण्डितले राखिदिएका थिए ।
तर, नुमालाई छोरीको नाम माया राख्न मन थियो । किन त ? नुमाका अनुसार उनलाई श्रीमानले मायामा कुनै पनि कमी महशुस हुन दिएका छैनन् । ‘त्यसैले छोरीको नामा माया राखौंकी भन्ने सोचेकी थिएँ,’ नुमा भन्छिन्, ‘पण्डितले पार्वती राखिदिनुभएको छ । त्यो पनि राम्रो लाग्छ ।’
पार्वती अहिले तीन महिनाकी भएकी छिन् । अर्थात् जसो-तसो, दुःख-सुख गरेर खुसीसाथ जीवन विताइरहेको गणेश नुमाको सानो परिवारमा पार्वतीले थप खुसि थपिदिएकी छिन् ।
सुत्केरी भएपछि नुमा अहिले माइत गएकी छन् । उनीहरुको यो उदाहरणीय जोडीप्रति सबैले वाह वाही गरिरहेका छन् । जुन वास्तविक प्रेम गर्नेहरूका लागि प्रेरणाको स्रोत बन्दैछ ।
प्रकाशित समय १४:४७ बजे
















