गृहपृष्ठ त्यसैले तिमी उदाउनुपर्छ
त्यसैले तिमी उदाउनुपर्छ
सुनसान श्मशानमा कालरात्रि बास बस्न
निस्किएका मुर्कुट्टाहरू ढोल बजाउँदै छन्
तन्नेरी मन आकाशमा हिउँ जमेको छ
एउटा आगोको झिल्का फ्याँकी दिऊँ कि जस्तो…
आगोको तापमा चिसिएको एउटा मन
हिउँले पोल्न नपाउँदै जमेको छ पातलमा
निदाएका आवाजहरू…
क्रान्ति ओकल्न तयार छन् निर्दोषहरू
तिम्रो आँखा चिम्लाइमा निदाउन खोज्दैछन्
तन्नेरी मन अनि तनहरू…
तिम्रो झुल्काइको पर्खाइमा
सुस्तरी आँखा खोल्दैछ ब्रह्माण्ड
साह्रा जगतलमा नगडा बज्दैछ
एउटा अघोषित युद्धको विगुल
फुक्न तत्पर छन् योद्धाहरू
शान्ति, सम्झौता र युद्ध घोषणको
दोसाँधमा धर्मराएका छन् युद्ध प्रमुखहरू
हिरोसिमा र नागासाकीको पुरानो कथा
पुनः लेख्न तयार छन् सम्राटहरू ।
पूर्वको लालिमा मात्र लिएर होइन
रक्तिम आभा लिएर आऊ
एउटा विध्वंश शान्ति स्थापना गर्नु छ
त्यसैले तिमी उदाउनुपर्छ
सूर्यको तापभन्दा तेज प्रकाशमा
हिउँको रापभन्दा तेज चिसोमा
व्रह्माण्डको गतिभन्दा तेज गतिमा
क्रान्तिपछिको शान्ति स्थापना गर्नु छ
त्यसैले तिमी उदाउनुपर्छ ।
(भारत, डुवर्स)
दुर्गाबाट थप
प्रकाशित समय १२:३४ बजे

















