गृहपृष्ठ विकल्प नराखी सडक भत्काउँदा विराटनगर अस्तव्यस्त

विकल्प नराखी सडक भत्काउँदा विराटनगर अस्तव्यस्त

bypass_biratnagar_newskarobar

ढलको पाइप बिछ्याउन सडक खनिएपछि विराटनगरको बजार क्षेत्र यतिबेला अस्तव्यस्त बनेको छ । यातायातका साधन सञ्चालनका लागि बैकल्पिक मार्गको व्यवस्था नै नगरी ढलको पाइप बिछ्याउन अन्धाधुन्ध सडक खन्दा विराटनगर बजार क्षेत्र अस्तव्यस्त बनेको हो ।

विराटनगर महानगरपालिकाले साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता सञ्चालन हुनुअघि सक्ने लक्ष्यसहित विराटनगरको मुख्य बजार, हस्पिटल रोड, रंगशाला छेउलगायतका स्थानमा ढलका लागि पाइप बिछ्याउन सडक खनेको छ । तर, वैकल्पिक सडक नहुँदा अस्थायी प्रदेश राजधानीका बासिन्दाले सास्ती पाएका छन् ।

संयुक्त टोल नगर समन्वय समिति विराटनगरका संयोजक राजु मास्केले आवतजावतको वैकल्पिक व्यवस्थाबिनै जथाभावी सडक खनिएका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको बताए । ‘एकातर्फबाट पस्दा अर्को तर्फबाट निस्कने ठाउँ हुँदैन । जताततै सडक खनेका कारण सर्वसाधारण गन्तव्यमा पुग्न निकै समस्या छ,’ उनले भने, ‘अझ एकछिन अघिसम्म ठिकठाक रहेको सडक एकैछिनमा फर्किंदा खनिरहेको हुन्छ, अलि पर्तिर जानुपर्ने ठाउँमा पनि ४-५ किलोमिटर बाटो घुमेर आउनुपर्दा सबै हैरान छन् ।’

भरपर्दो विकल्पबिनै महानगरपालिकाले अस्तव्यस्त रुपमा सडक खनेका कारण समस्या भएको उनको गुनासो छ । वाइपासका लागि समेत सडक नराखिएका कारण विराटनगर बजार क्षेत्र भद्रगोल देखिएको उनले बताए । महानगरपालिकाले तीनपैनी चोकदेखि दक्षिण मेनरोड, जिल्ला प्रशासन कार्यालयदेखि अस्पताल चोकसम्मको सडक, ठाकुरवाडी रोडलगायत अन्य भित्री सडक खनेका कारण उपचारका लागि बिरामीसमेत समस्यामा परेका छन् ।

मोरङको डायनियाँबाट कोशी अञ्चल अस्पतालमा उपचारका लागि श्रीमती लिएर आएका सुरेन्द्र दासले सडक खनिएका कारण उपचारका लागि अस्पताल पुर्याउन हम्महम्मे परेको बताए । दासले भने, ‘श्रीमती निकै बिरामी छिन्, उनलाई कोशी अस्पतालमा उपचार गराउन लिएर आएको तर सबै बाटो खनिएको रहेछ । बिकल्प नै नदिई सडक खनेर हामीलाई किन हैरानी दिएको हो बुझ्नै सकिएन ।’

विराटनगर महानगरपालिकाले व्यवस्थित योजनाका साथ काम नगर्दा धेरैले सास्ती खेप्नुपरेको डा. मदन कोइराला बताउँछन् । ‘आज काम विशेषले नबिल बैंक जानुपर्ने थियो, तीनतिर बाटो घुम्नुपर्यो,’ उनी भन्छन्, ‘घुमेर जाँदा पनि दुवैतर्फ खनेको अवस्था थियो ।’ अस्तव्यस्त सडकका कारण निकै दुःख पाएको उनले गुनासो गरे ।

bypass_biratnagar_newskarobar

योजनाबद्ध रुपमा काम भएन
विराटनगर महानगरले सबै सडक एकैपटक भत्काएपछि विभिन्न अस्पताल पुग्न यात्रुलाई समस्या छ । विराटनगरको न्युरो अस्पताल पुग्ने दायाँ–बायाँको सडक खनिएको छ । कोशी अञ्चल अस्पताल प्रवेशद्वार पनि खनिएको छ । प्रवेशद्वारमै खनिएका कारण बिरामी बोक्ने एम्बुलेन्सलाई अस्पतालसम्म पुग्न समस्या छ ।

न्युरो अस्पताल विराटनगरका अपरेसनल डाइरेक्टर राजेश भट्टराई कष्टपूर्ण यात्रा गर्दै बिरामी आउनुपर्ने बाध्यता रहेको बताउँछन् । उनी भन्छन्, ‘काम सुरु गर्दा वैकल्पिक सडक खोल्ने सहमति भएको थियो तर अहिले नाकाबन्दी लगाएजस्तै छ ।’ न्युरो अस्पतालसम्म पुग्ने सडक खनिएको डेढ महिना पुग्न लागेको छ । तर, अझै पनि नाला निर्माणको काम सकिएको छैन । सडक भत्काएका कारण २० रुपैयाँ भाडा लाग्ने सडकमा २ सय रुपैयाँसम्म तिर्नुपरेको भट्टराई बताउँछन् । वैकल्पिक सडकको व्यवस्था नहुँदा नगरबासीले साँच्चै दुःख पाइरहेको उनले बताए ।

bypass_biratnagar_newskarobar

नगर प्रमुख भन्छन्- चाँडै काम सकिन्छ
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले भने साफ महिला फुटबल च्याम्पियनसिपको उद्घाटनअघि भित्री बजारको काम सक्ने योजना रहेको बताए । ‘साफको तयारीका लागि काम तीव्र पारिएको छ,’ उनले भने, ‘साफअघि नै समस्या समाधान हुन्छ ।’ नगर प्रमुख पराजुलीले दिउँसो र राति दुई सिफ्टमा काम भइरहेकाले छिट्टै सकिने बताए ।

मुख्य बजार अस्तव्यस्त बनेपछि सर्वसाधारणले विरोध गरेका छन् । प्रमुख पराजुलीले भने सामाजिक सञ्जालमार्फत विराटनगरवासीले भोग्नुपरेको सास्तीप्रति क्षमायाचना मागेका छन् । फेसबुकमार्फत उनले भनेका छन्, ‘विराटनगर महानगरपालिकाका प्रायः सबै स्थानमा विकास निर्माणका काम दु्रत गतिमा भइरहेका छन् । कतिपय बाटो बन्ने बनाउने क्रममा छन् । यसर्थ विकास निर्माणका क्रममा महानगरवासीले भोगिरहनुभएको असहजताप्रति क्षमाप्रार्थी छु । महानगरबासीले पाउनुभएको सास्ती चाँडै नै हल हुनेमा आशावादी छु ।’

bypass_biratnagar_newskarobar

bypass_biratnagar_newskarobar

bypass_biratnagar_newskarobar

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु