गृहपृष्ठ रित्तिँदै छ देशको विदेशी मुद्रा भण्डार

रित्तिँदै छ देशको विदेशी मुद्रा भण्डार

Forex reserve crisis_NewsKarobar

सरकारले बेलैमा ध्यान नदिँदा देशको विदेशी मुद्राको भन्डार रित्तिदै गएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाभित्रैमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब ३९ करोड रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा देशमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०७५ पुस मसान्तमा यो १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँमा झरेको छ । असार मसान्तमा कुल विदेशी मुद्रा १० अर्ब ८ करोड सञ्चित रहेकोमा २०७५ पुस मसान्तमा ९ अर्ब ४१ करोडमा झरेको राष्ट्र बैंकको विवरणबाट देखिन्छ ।
विदेशी विनिमय सञ्चितिसँगै खुद विदेशी सम्पत्ति पनि लगातार घटेको छ । गत असारमा ११ खर्ब ३३ अर्ब रुपैयाँबराबर रहेको विदेशी सम्पत्ति १० अर्ब ९१ अर्ब १ करोड रुपैयाँमा झरेको छ ।
मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्नु आर्थिक संकटको संकेत हो । विदेशी मुद्राको भण्डार घट्दा अथवा बढदा देशको आन्तरिक मुद्रामा असर पर्छ, जतिजति विदेशी मुद्राको भण्डार रित्तिदै जान्छ, उत्तिउत्ति देशले बाह्य व्यापारमा चुक्ता गर्नुपर्ने दायित्वका लागि आफ्नो क्षमताले तिर्ननसक्ने अवस्था आउँदै जान्छ ।
अहिले देशमा भएको विदेशी मुद्राको भण्डारले जम्मा ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । अहिले नेपालसँग रहेको कुल विदेशी मुद्राको सञ्चितिमध्ये २४.५ प्रतिशत भारु छ भने ७५.५ प्रतिशत अमेरिकी डलरसहितका अन्य परिवत्र्य मुद्रा छन् । भारतबाट समेत किनेका सामानका लागि भुक्तानीमा अमेरिकी डलरको प्रयोग बढेको तथ्यांकले देखाउँछ । यसबाहेक भारतबाट हुने अन्य आयात र नगद मुद्रा कारोबारका लागि समेत राष्ट्र बैंकले अमेरिकी डलर बिक्री गरेर भारु किन्ने क्रम पनि बढेको छ ।
राष्ट्र बैंकभन्दा बाहिरका बैंक तथा वित्तीय संस्थाको विदेशी विनियम सञ्चिति बढेको देखिए पनि राष्ट्र बैंकको आफ्नै सञ्चिति भने खुम्चँदै गइरहेको देखिन्छ । विदेशी मुद्राको भण्डार रित्तिदै गएपछि राष्ट्र बैंकले केही समयअघि विदेश जाने नेपालीहरूले बोक्न पाउने नगद अमेरिकी डलरको सीमा घटाइसकेको छ ।
नेपालले निर्यात, पर्यटन र रेमिटेन्स आयबाट गरेको कुल आयभन्दा यहाँबाट सामान किन्न बढी खर्च गरिरहेको,अमेरिकी डलर बलियो भइरहँदा आयातका लागि तिर्नुपर्ने मूल्य लागत बढेको, नेपालीहरूले विदेश जाँदा भ्रमणमा गरेको खर्च बढी भएको, प्रत्यक्ष वैदेशिक लगानी पनि संकुचित भएका कारणले गर्दा विदेशी मुद्राको भण्डार घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनाभित्रमै चालू खाता घाटा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने शोधनान्तर घाटा ६३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यसले देशको बाह्य स्थिति झनझन् संकटतर्फ बढेको संकेत गरेको छ ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु