गृहपृष्ठ घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न काठमाडौंमा व्यापार महोत्सव हुने
घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न काठमाडौंमा व्यापार महोत्सव हुने
नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धनका लागि १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन २३ देखि २७ गतेसम्म काठमाडौंमा महोत्सव आयोजना गर्न लागेको हो । मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।
‘प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले उद्योगहरु प्रतिस्पर्धी र प्रतिफल दिन नसकिरहेका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’ अध्यक्ष सिंहले भने– ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या छ । एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान हुने अपेक्षाका साथ महोत्सव गर्न लागिएको हो ।’
बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य प्रदर्शनी गरिने महासंघले जनाएको छ । प्रदर्शनीमा सातै प्रदेश र जिल्लाका उद्यमी, प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने बताइएको छ ।
प्रदर्शनीमा २०० स्टल हुनेछन् । महोत्सवमा सात करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
प्रकाशित समय १७:२३ बजे

















