गृहपृष्ठ ओली-प्रचण्ड तल्लो तहको एकीकरण प्रक्रियामा व्यस्त

ओली-प्रचण्ड तल्लो तहको एकीकरण प्रक्रियामा व्यस्त

oli-prachanda फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तल्लो तहको एकीकरण प्रक्रियामा जुटेका छन् । पछिल्लो समय शनिबार र आइतबार लगातार अध्यक्षद्वयले कार्यदलसँग छलफल गरेका छन् ।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छलफल गरीकेन्द्रीय सदस्यको कार्यविभाजन, विधानमा भएको त्रुटी सच्याउँने, प्रदेश कमिटी परिमार्जनलगायतका विषयमा छलफल भएको जनाइएको छ । केही दिनअघि कार्यदलले बाँकी काम टुंग्याउनु पर्ने भन्दै अपूरो प्रतिवेदन बुझाएको थियो । तर, अध्यक्षद्वय ओली र प्रचण्ड कार्यदललाई समय नदिएर आँफै एकीकरणका बाँकी काम टुंग्याउन आन्तरिक छलफलमा जुटेका हुन् ।

अध्यक्षद्वयले कार्यदलका नेताहरुसँगको छलफलपछि सोमबार अथवा मंगलबार पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाउने तयारी गरेको नेकपाका नेताहरुले जनाएका छन् । ‘यसअघि बनेका विभिन्न कार्यदलले एकतालाई पूर्णता दिन नसकेपछि अब अध्यक्षद्वयले नै एकीकरणका बाँकी काम टुङ्ग्याउनेछन्, अध्यक्षद्वय ओली र प्रचण्डले तल्लो तहसम्मका संगठन र जनवर्गीय संगठनको एकीकरण प्रस्ताव तयार गर्न छलफलमा जुट्नुभएको छ, अब सचिवालय बैठकबाट निर्णय गराउनुहुनेछ,’ एक सचिवालय सदस्यले न्यूज कारोबारसँग भने ।

नेकपामा खासगरी केही नेताहरुलाई दिएको दोहोरो जिम्मेवारी हेरफेर गर्नुपर्ने अडान नेपाल पक्षको छ । त्यसकै असर कार्यदललमा पनि देखिएको थियो । जसले गर्दा कार्यदल विघटनकै अवस्थामा पुग्यो । प्रदेश कमिटीको विषयलाई लिएर नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको असन्तुष्टि रहँदै आएको छ । यस्तै पोलिटब्यूरो गठन, ३२ केन्द्रीय विभाग, जनवर्गीय संगठनको एकता, जिल्ला कमिटी, केन्द्रीय तहमा रहने आयोग, परिषद् लगाएत केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी वाँडफाँड गर्ने काम बाँकी छ । यी सबै बिषय कार्यदलले टुंग्याउन नसकेपछि अध्यक्षद्वयले नै टुङग्याएर सचिवालय बैठकमा पेश गर्नेछन् ।

कार्यदलले माघको तेस्रो सातासम्म पनि एकीकरणको प्रस्ताव तयार गर्न नसकेपछि नेकपा सचिवालयको बैठकले यथास्थितिमा कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कार्यदलमा संयोजक रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई सदस्य थिए । यस्तै, सुरेन्द्र पाण्डे, बर्षमान पुन, लेखराज भट्ट, रघुवीर महासेठ र बेदुराम भुसाल रहेका थिए ।

पार्टी एकताको नौ महिना वितिसक्दा पनि नेकपाले तल्लो तहसम्मका संगठनको एकीकरण प्रक्रिया टुंग्याउन नसक्दा धेरै नेता कार्यकर्ता जिम्मेवारीविहीन बनेका छन् । जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा तीन महिनाभित्र एकीकरणका सबै प्रक्रिया टुंग्याउने भनेको नेकपाले नौ महिना वितिसक्दा पनि एकीकरणले पूर्णता पाउन सकेन ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु