गृहपृष्ठ पानीजहाज कार्यालय आफैं परजीवी

पानीजहाज कार्यालय आफैं परजीवी

बाहिर बोर्ड पानीजहाजको, भित्र काम चक्रपथको

pani_jahaj

रहर गर्छ, भोकैले मर्छ उखान त तपाईंले सुन्नु भएकै होला । गत वर्षदेखि देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुब गतिलैसँग ‘नेपालको आफ्नै पानीजहाज चलाउने’ मूड सवार भएको छ । त्यसैले उनले पटक–पटक पानीजहाज चलाउने भाषणमात्रै गर्दै आएका छैनन, बिनाकुनै तयारी हतारहतार ‘नेपाल पानीजहाजको कार्यालय’समेत उद्घाटन पनि गर्न भ्याए ।

जब न्युज कारोबार टिम, पानीजहाज कार्यालय खोज्दै ललितपुरको एकान्तकुना पुग्यो, भित्र हेर्दा त अरु नै कार्यालयको काम पो धमाधम भइरहेको भेटियो । ‘हजारौ माइलको लामो यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ- दूरी घट्दैछ सपना नेपालीको’  भन्ने नारा ब्यानरमा लेखाएर तामझामका साथ उद्घाटन गराइएको पानीजहाज कार्यालयको आफ्नै पाइलोको टुंगो रहेनछ ।

प्रधानमन्त्री आफैले एक वर्षअघि नै पुस १६ गते नै पानी जहाजको टिकट काट्ने सकिने दावी गरेपछि पत्याउनै पर्यो । आफूले गरेको घोषणा पत्याएनन् भनेर रातारात फ्लेक्समा हुँदै नभएको कार्यालय खडा गरेर प्रधानमन्त्रीले प्रचारप्रसार पनि व्यापक गराए ।

बाहिर बोर्डमा नेपाल पानीजहाजको कार्यालय लेखिए पनि भित्र भने चक्रपथ सुधार आयोजनको कार्यालयको काम पो भइरहेको पाइयो । चक्रपथ सुधार आयोजनाका कार्यालयमै फ्लेक्स टाँसेर पानीजहाजको कार्यालय बनाएँ भनेर भाषण ठोकेका प्रधानमन्त्रीले त उक्त कार्यालयका लागि कर्मचारीसमेत व्यवस्थापन गरेका रहेनछन् ।

प्रधानमन्त्रीको यो खेलले उनको बुढ्यौली उमेरको उत्ताउलो केटाकेटीपन त झल्कियो नै छेउमा बसेर ताली ठोक्ने भौतिक योजना तथा निर्माण मन्त्री, सचिव र अन्य उच्च पदस्थ कर्मचारीको पनि कमजोरीको पोल खुल्यो ।

आवश्यक पूर्वाधार र पर्याप्त तयारीबिना हतारमा स्थापना गरिएको पानीजहाज कार्यालय अहिले बन्द जस्तै छ । फाट्टफुट्ट चक्रपथ सुधार आयोजनको कामले केही सेवाग्राही त्यहाँ पुग्ने गरे पनि कार्यालयका अधिकाश कर्मचारी कार्यालयमा भेटिदैनन् ।

सो कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरिसकेको दावी गरेका थिए ।  नेपालमा रेलभन्दा पहिले पानी जहाज आउने भन्दै उनले पानीजहाजको टिकट छिट्टै पाइने दाबी गर्न पनि भ्याए ।

प्रधानमन्त्रीको भाषण सुन्दा यस्तो लग्थ्यो, मानौं पानीजहाज ल्याउने काम रातारात भइरहेको छ, सप्तकोसी नदीमा निजी क्षेत्रका व्यवसायीहरूले चलाएको मोटरबोटजस्तै ठूला पानीजहाज पनि तत्कालै आइहाल्ने उनको संकेत देखिन्थ्यो, तर भारतको कोलकाता बन्दरगाहमा जोड्ने नदीमा चलाइने आकारका मात्र मध्यम आकारका पानीजहाज किन्न, कर्मचारी तथा अन्य स्रोत सामाग्री जुटाउनमै २ वर्ष लाग्ने देखिन्छ ।

अहिले पानीजहाज कार्यालयको निमित्त रजिस्ट्रार चक्रपथ सुधार आयोजनाको परियोजना प्रबन्धक अमृतमणि रिमाललाई दिइएको छ, अर्थात् तत्कालको लागि पानीजहाज कार्यालयको नेतृत्व सम्हाल्ने जिम्मा उनैलाई छ ।

सोमबार बिहान ११ बजे कार्यालय पुग्दा रिमालको कार्यालयमा कोही भेटिएनन् । अका कोठामा प्रवक्ता निरन्जन शर्मा बस्दा रहेछन् । उनको कोठामा पनि पानीजहाजको काम केही नभएकाले चक्रपथ सुधार परियोजनाकै काम लिएर सेवाग्राही बसेका थिए ।

कार्यालयमा बाहिर बोर्डबाहेक पानीजहाज कार्यालयको आवश्यक कागजपत्रका फायलसमेत बनाएर राखिएको छैन । नेपालले चलाउने पानीजहाज कस्तो हो? कहाँ चल्छ? कति लागत पर्छ भन्ने जानकारी दिनसक्ने कोही भेटिएनन् ।

चक्रपथ सुधार आयोजनाकै कर्मचारी पानीजहाज कार्यालयका कर्मचारी भनिए पनि काम कारवाही कसरी अघि बढाउने भन्नेमा उनीहरू अझै अन्यौलमा छन् ।  आवश्यक कुनै नीतिगत, कानुनी र संरचनगत तयारीबिना हतार–हतारमा कार्यालयको बोर्ड राखेर उद्घाटन गरिएको कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी रहेको भनिए पनि जनशक्ति कसरी व्यवस्थापन गर्ने कुनै टुंगो छैन ।

pani_jahaj2

“अहिले काम चक्रपथ सुधार आयोजनकै भइरहेको छ, पानीजहाज कार्यालय पनि यही र कर्मचारी पनि यहाँकै भनिए पनि काम अघि बढेको छैन, अरु थप कर्मचारी समेत आउन बाँकी छ,” पानीजहाज कार्यालयका प्रवक्ताको जिम्मेवारी पाएका निरन्जन शर्मा भन्छन् ।

कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही महिनाभित्रै देशमा पानीजहाज सञ्चालन हुने गरी आवश्यक स्थान, जनशक्ति र योजनासहित अघि बढेको बताए पनि यसबारे विस्तृत जानकारी नै प्राप्त भइनसकेको कार्यालयका कर्मचारीहरू बताउछन् । “पानीजहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानीजहाज सञ्चालनमा आउने र टिकट पाइने पनि प्रधानमन्त्रीले बताउनुभएको थियो, तर यो पाराले अझै केही वर्ष काम हुने देखिदैन, चक्रपथ सुधारकै काम धेरै बाँकी छ, त्यो पूरा नगरी पानी जहाजको काममा लाग्न सकिदैन,’ कार्यालयका कर्मचारीहरू भन्छन् ।

 

के के छ पानी जाहाज कार्यालयमा ?

नेपाल पानीजहान कार्यालय लेखिएको बोर्डबाहेक केही पनि छैन । छ त प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा सजाइएका केही सजावट र भवनको बाहिर स्वागतमा बनाइएको प्रवेशद्वार ।

काठमाडौ चक्रपथ सुधार योजनाको कार्यालय भएको भवनमा ११ वटा कोठा छन् ।  भवनमा  पानी जहाज कार्यालयको बोर्ड राखेर कार्यालयको उदघाटन गरिए पनि  सबै कोठाहरू काठमाडौ सुधार चक्रपथ योजनाले प्रयोग गर्दै आएको छ । संचरना नै तयार नभइसकेको पानीजहाज कार्यालय काठमाडौ चक्रपथ आयोजनाको कार्यालयमा परिजीवीजस्तै टाँसिएको छ ।

पानीजहाज कार्यालयमा सहसचिव स्तरका रजिस्ट्रार कार्यालय प्रमुख रहने गरी १६ जना कर्मचारी दरबन्दी कायम गरिए पनि नेपाल सरकारले कार्यालयमा एक जना पनि कर्मचारी खटाउन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले कर्मचारी समायोजन प्रक्रिया चलिरहेकाले कर्मचारी खटाउन नसकिएको बताए ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउनेबित्तिकै नियमित रुपमा पानीजहाज कार्यालयले आफ्नो काम थाल्ने प्रवक्ता सापकोटाको दाबी छ, तर संघीय, प्रादेशिक र स्थानीय तहमै समायोजन गरिएका कर्मचारीहरू आफूलाई खटाएको ठाउँमा जान नमानिरहेको बेला रहरेको खहरे कार्यालयमा कसरी कर्मचारी खटाउने हो सरकारलाई हम्मे पर्ने देखिन्छ ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु