गृहपृष्ठ तिलोत्तमा गोल्डकप : ललितपुरको भ्याली च्यासल युथ क्लब सेमिफाइनलमा
तिलोत्तमा गोल्डकप : ललितपुरको भ्याली च्यासल युथ क्लब सेमिफाइनलमा
‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ-मर्याङ्दी क्लबलाई स्तब्ध पार्दै ललितपुरको भ्याली च्यासल युथ क्लब २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले मनाङलाई १-० पराजित गर्दै अन्तिमा चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दोस्रो हाफमा एकमात्र निर्णायक गोल अर्मान्ड मोएनले गरे ।
४९औं मिनेटमा हेमन्त थापामगरको फ्रिकिकमा अर्मान्डले हेडमार्फत गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए इन्ज्युरी समयमा प्राप्त फ्रिकिकलाई मनाङले सदुपयोग गर्न सकेन ।
करिब ३० यार्डमा प्राप्त फ्रिकिकलाई प्रकाश बुढाथोकीले प्रहार गरे पनि पोलमा लाग्दै फर्किएको थियो ।
च्यासलका गोलरक्षक दिनेश थापामगर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार पाए । च्यासलले अब सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबसँग शनिबार खेल्नेछ ।
प्रतियोगिता अन्तरगत शुक्रबार आयोजक लाली रुपन्देही-११ र डाफिन्स परिवार क्यामरुनबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
प्रकाशित समय १९:०५ बजे

















