गृहपृष्ठ झापामा बहुला कुकुरले टोकेर १८ वटा पशुचौपाया मरे

झापामा बहुला कुकुरले टोकेर १८ वटा पशुचौपाया मरे

kukur-1-newskarobar

झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित १८ वटा पशु चौपाया मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् ।

वडा नं. ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाया मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले बताए । अहिले रेविजविरुद्धको खोप वडा नं. ३ सूर्यनगर र मंगलबारे क्षेत्रका पशु तथा मानिसलाई मर्नबाट बचाउनका लागि लगाइरहेको प्राविधिक भट्टाराईले बताए । आइतबार मात्र यो क्षेत्रमा मानिस र चौपायलाई गरी १४ वटा रेविजविरुद्धको खोप लगाइएको छ ।

उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा. पशुपति ढुंगानाले निःशुल्क खोप उपलब्ध गराउनुभएको बताए । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप नलागाई पाल्ने हुँदा यस्तो समस्या आएको बताए । (रासस)

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु