गृहपृष्ठ एनआईसी एशिया बैंक र उद्यमशील महिला महासंघबीच सम्झौता
एनआईसी एशिया बैंक र उद्यमशील महिला महासंघबीच सम्झौता
एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँगको सहकार्यमा ‘उद्यमशील बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । महिलालाई उद्यमशील बनाउने योजनाअनुरुप बैंकले नयाँ योजना सार्वजनिक गरेको जनाएको छ । सोसम्बन्धी सम्झौता पत्रमा एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रममा आवश्यकताअनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्नेछ । बैंकले व्यक्तिगत कर्जा २ लाखदेखि १० लाख रुपैयाँसम्म उद्यमशील प्राकृतिक व्यक्तिका लागि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । यो सम्झौताबाट सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
मुलुकभर एनआईसी एशियाका २७७ शाखा, २८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ एकाइ छन् । साढे १४ लाख ग्राहक रहेको बैंकको वासलातको आकार २१५ अर्बभन्दा बढी छ भने कुल निक्षेप करिब १७१ अर्ब र कर्जा १४९ अर्ब रुपैयाँभन्दा बढी छ ।
प्रकाशित समय ०६:५९ बजे

















