गृहपृष्ठ जलजला (कविता)

जलजला (कविता)

lata karki-newskarobar

युगौंदेखि कुरिरहेको छु
आँखाहरू नथाकुन्जेल
हेरिरहेको छु
पीडामा पनि एक टुक्रा मुस्कान
छरिरहेको छु ।

 

तर,
मेरा ज्यूँदा आँखाभित्र मृत सपनाहरू
बन्द परेलीको मसानघाटमा जल्दै रहेछन्
मेरा शरीरका सारा पुर्जाहरू
एकपछि अर्को गर्दै चुँडिदै रहेछन् ।

 

सिंहदरबार छिरेपछि भुल्यौ- मेरो मातृत्वलाई
बिर्सियौ- मेरै कोखका कुनाकन्दरामा परेड खेलेका
सम्झना छैन होला
मेरै छातीमा
बन्दुकका कुन्जाहरू बजार्दै
मेरो सपनाहरू कुल्चिएको

 

शासकहरूले हजार बुट बर्जादा
ऐयासम्म भन्न पाइनँ मैले
अस्मिता लुटिँदा चिच्याउन सकिन
अब त चिन्यौ होला ?

 

हो त्यही सिस्नोघारीसँग मितेरी गाँस्दै
बारुद निलेकी हुँ मैले
आफ्नो मैलो पछ्यौरीलाई कफन बनाएर
लाल रातहरू निलेकी हुँ मैले ।

 

हजारौं ताराहरू
अस्ताएका छन् मेरो आकाशबाट
हजारौं बलिदानीहरू
रगताम्य भएका छन् मेरो छातीमा
सायद तिमीले भुल्यौ होला मेरो ममतालाई ।

 

तर,
अझै पनि आफ्नो वक्षस्थलमा
उही मातृत्व भरेर
हजारौं राता गुराँसहरू
फुलाउने रहर छ मलाई  ।
मेरो काखमा
सयौं वर्षदेखि जीवन बाँचिरहेकाहरू
मेरो अद्वितीय सुन्दरता
बेचेर दैनिकी फेरिरहेकाहरू
नाना, चाचा र मीठो गाँस
पाइरहेका छन्  ।

 

अझै चिनेनौ
मलाई हेर
नियालेर हेर
म तिनै राता मान्छेहरु जन्माउने आमा हुँ
म जलजला हुँ ।

००००

 

कार्कीबाट थप

मुर्दावाद- जिन्दावाद (कविता)

कविता : सहर र सपना

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु