गृहपृष्ठ कोटपाइन्टका जमिन्दारे–साहु बन्दै बैंक, यसरी ठगिन्छन् सेवाग्राही
कोटपाइन्टका जमिन्दारे–साहु बन्दै बैंक, यसरी ठगिन्छन् सेवाग्राही
रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका– ६ अस्पताल लाइनकी पुष्पा कँडेल (खरेल)ले हिमालय बैंक बुटवल शाखाबाट घर धितोमा राखेर ऋण निकालिन् । बुटबलमै रहेका हिमालयन बैंकबाट वार्षिक ९ प्रतिशतले हुने ब्याज बुझाउने सर्तमा अक्टोबर २०१३ मा १ करोड ५४ लाख रूपैयाँ ऋण लिएकी थिईन् ।
उनले तोकिएको समयमा साँवा एवं ब्याज बुझाउँदै आएकी पनि हुन् तर, बैंकले ऋण लिँदाको शर्त एकलौटी रूपमा उल्लंघन गरी ऋणीको सहमति/मञ्जुरीविना नै व्याजको दरमा परिवर्तन गरी बढाउँदै वार्षिक ११.६५ प्रतिशतसम्म पुर्यायो । बैंकले आफूसँग सहमति भएभन्दा बढी ब्याज लिएपछि उनले एक मुष्ट सावा र ब्याज बुझाउने निर्णय गरिन् ।
हिमालयन बैंकले उनलाई लाग्नुपर्ने ब्याजभन्दा बढी झन्डै सवा लाख सेवा शुल्क भन्दै रुपैयाँ लिएपछि बैंकको ऋण बेक्कार लिएछु भन्ने पर्ने थालेको छ । बैंकले बढी रकम असुल्न लागेपछि उनले विद्यमान राष्ट्र बैंकको व्यवस्थाअनुसार तिर्न नपर्ने अडान पनि नलिएकी भने होइनन, तर बैंकको दादागिरिका अगाडि उनको सीप चलेन ।
राष्ट्र बैंकले यसरी ऋण लिएको समयभन्दा पछि ब्याजदर परिर्वतन हुँदा सेवा शुल्कवापत एक प्रतिशत वा थप रकम लिन नपाइने परिपत्र गरेको थियो । सोहीअनुसार उनले राष्ट्र बैंकको निर्देशन भएको कारण थप शुल्क नतिर्ने भनी उक्त बैंकमा गत माघ १० गते निवेदन समेत दिइन् । तर बैकले उनलाई थप अतिरिक्त रकम १ लाख २२ हजार ७ सय ४९ रूपैयाँ १२ पैसा रकम तिराइ छाड्यो ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको एकिकृत निर्देशन–२०७५, नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बैंक तथा वित्तीय संस्था नियमन विभाग, इ.प्रा. निर्देशन नं. २१/७५ वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्थाको दफा ९ को उपदफा (ख)मा ‘रू. ५० लाखसम्मको जुनसुकै र प्रकारको कर्जा, बक्यौता भुक्तानी गर्दा र र सो सीमाभन्दा बढी को कर्जाको लिँदाको बखतमा तोकिएको शर्त वा व्याजदर परिवर्तन भएको कारणले कर्जा अग्रीम भुक्तानी गर्न चाहेमा त्यस्तो अग्रिम भुक्तानी गरेवापत कुनै किसिमको शुल्क लिन पाईने छैन’ भन्ने उल्लेख गरेको छ । तर बैंकले यसरी थप अतिरिक्त शुल्क लिदै आएका छन् ।
पुष्पाका पति वरिष्ठ चिकित्सक डा. कृष्ण खरेलले यस विषयामा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमार्फत उजुरी समेत गरेको बताउँछन् । उनका अनुसार गत माघ २० गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमार्फतबाट नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्था नियमन विभाग, गुनासो व्यवस्थापन समितिको सचिवालयमा समेत उजुरी गरिएको छ ।
ऋणीको गुनासोपछि राष्ट्र बैंकले सोही मितिमा हिमालय बैंक केन्द्रीय कार्यालय कमलादी काठमाडौलाई पत्र काटी यस विषयमा गुनासो के कसो भएको हो? विवरणसहित यथासम्भव निवेदकसँग आपसी सहमतिको विषयलाई त्यहीबाट नै सम्बोधन गर्नु र सम्बोधन गर्न नसकिने वा नमिल्ने भएमा विस्तृत रूपमा यस समितिसमक्ष यथाशीघ्र लेखी पठाउनु भन्दै पत्र काटेको छ ।
राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन–२०७४, को दफा १० अग्रीम भुक्तानी शुल्क सम्बन्धको उपदफा(ख) मा ‘कर्जा लिदाँको बखत तोकिएको शर्त वा व्याजदर परिर्वतन भएको कारणले ऋणीले आफ्ना आम्दानीको स्रोतबाट कर्जा अग्रीम भुक्तानी गर्न चाहेमा त्यस्तो अग्रीम भुक्तानी गरे बापत कुनै पनि किसिमको शुल्क लिन नपाइने प्रष्ट उल्लेख छ ।
समयानुकूल परिर्वतन हुने नियमअनुसार राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन–२०७५ को दफा ९ को अग्रीम भुक्तानी शुल्क सम्बन्धमा शीर्षकका (ख)मा ‘रु ५० लाखसम्म जुनसुकै प्रकारको कर्जा बक्यौता भुक्तानी र त्यसभन्दा भन्दा बढीको कर्जाको हकमा कर्जा लिँदाको बखत तोकिएको शर्त वा ब्याजदर परिर्वतन भएको कारण कर्जा अग्रीम भुक्तानी गर्न चाहेमा त्यस्तो अग्रीम भुक्तानी गरे बापत कुनै किसीमको शुल्क लिने नपाइने थप व्यवस्था गरेको छ । तर यो नियम रूपन्देहीका बैंकहरूले पालन गरेका छैनन् ।
हिमालय बैक लिमिटेड बुटवल शाखा प्रमुख शिवहरी पाण्डेले अहिले आफ्नो बैंक लगायत अन्य कुनै पनि बैंकले अग्रीम भुक्तानी वापतको रकम नलिएको दाबी गरेका छन् । राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार नै कुनै पनि प्रकारको अग्रीम कर्जा भुक्तानी गरेकोबापत ऋणीबाट थप रकम नलिएको भनाइ छ ।
‘हामीले कर्जा अग्रीम रूपमा भुक्तानी गरेबापत कुनै पनि ऋणीबाट रकम लिएका छैनौं । लिएको भएपनि कारवाही हुन्छ,’ उनले भने ।
पुष्पा कण्डेल(खरेल)बाट लिएको थप शुल्कका बारेमा उनले एउटा बैंकमा ऋण रहिरहेको अवस्थामा उक्त ऋण अर्कों बैंकले भुक्तानी गर्नेगरी (स्वाप) गरेको कारण स्वाप बापतको रकम नलिनु भनेर राष्ट्र बैंकले नभनेकोले बैंकले लिएको उनको दाबी छ ।
‘यो हामीले लिएको अग्रीम भुक्तानी बापतको रकम होइन, यो एउटा बैंकमा भइरहेको कर्जा अर्को बैंकले तिरिदिनेगरी उहाँले लैजानुभएको कारण (स्वाप) शुल्कबापत लिएको रकम हो,’ पाण्डेले प्रष्टीकरण दिँदै भने ।
यस्तै बैंकबाट ठगिएका अर्का व्यक्ति हुन्, डा. विष्णु शर्मा । उनले पनि हिमालय बैंकबाट नै कर्जा लिएका थिए । वि.स. २०७३ सालमा ४० लाख रूपैयाँ घर खरिद गर्दा कर्जा लिएकोमा स्वःआर्जनबाट नै बैंकको ऋण अग्रीम चुक्ता गर्दा १ प्रतिशतका दरले ४० हजार रूपैयाँ अतिरिक्त शुल्क तिरेका उनले बताए ।
कर्जा लिएको २ वर्षपछि२०७५ सालमा कर्जा चुक्ता गर्दा समेत बैंकले अग्रीम कर्जा जुत्ता गरेको भन्दै थप अतिरिक्त शुल्क लिएको डा. शर्माले गुनासो रगरे ।
राष्ट्र बैंकले कर्जा अग्रीम रूपमा तिरेमा थप अतिरिक्त चार्ज (शुल्क) लिन नर्पाने नियम भए पनि हिमालयन बैंकले उक्त नियम लत्याउँदै आएको छ ।
पुष्पालाई स्वाप गरेर थप अतिरिक्त रकम लिएको बैंकले बताए पनि डा. विष्णु शर्मालाई भने अग्रीम रूपमा नै कर्जा चुक्ता गरेको कारण अतिरिक्त कर्जा लिएको उल्लेख गरेको छ ।
उद्योगी व्यवसायीसमेत आजित
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले अस्वभाविक रूपमा गैर जिम्मेवार बन्दै ऋणको ब्याजदर बढाएको विषयले उद्योग तथा आर्थिक क्षेत्रमा पारेको प्रभाव तथा आउन सक्ने जटिलताप्रति रूपन्देही उद्योग संघले आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावका नाममा उद्योगधन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याजदर बढाउँदै गएको पछिल्लो कदमले उद्योग क्षेत्रमा पार्ने असरप्रति राष्ट्र बैक तथासरकार गम्भीर बन्नु जरुरी भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको रूपन्देही उद्योग संघका कावा अध्यक्ष बाबुराम बोहोराले बताए ।
बैंकहरूले उद्योगधन्दा नै बन्द हुने गरी विना जानकारी १६ प्रतिशतसम्म ऋणको ब्याज बढाएर सम्झौताविपरीत काम गरेका उनको भनाइ छ ।
प्रकाशित समय १६:५९ बजे

















