गृहपृष्ठ सिँचाई, समस्या र समाधान

सिँचाई, समस्या र समाधान

#nawaraj_kunwar

द्वन्द्वका बाजजुद इजरायलको कृषि विकास अनुकरणयोग्य छ । कृषिको क्षेत्रमा इजरायलले गरेको प्रगति हेर्न विश्वभरिका मानिस त्यहाँ पुग्ने गरेका छन् ।

नेपालमा कृषिसम्बन्धी कुनै बहस सुरु भयो भने इजरायली कृषिको प्रशंग जोडिएर आउने गर्छ । त्यसक्रममा इजरायललाई हेरेर धेरै सिक्न सकिने धारणा नआउने कुरै भएन । विद्यमान अवस्थामा हामी इजरायलीजस्तो आधुनिक प्रविधिको पूर्ण पहुँचमा छैनौँ । सबै कुरा देखेर सिकेर पनि नेपालमा त्यो ज्ञानको सदुपयोग गर्न सक्दैनौँ । किनभने हामीसँग आधुनिक कृषि सामाग्री, नयाँ–नयाँ खोज तथा अनुसन्धान, प्रभावकारी सरकारी नीति र वातावरणको अभाव कायमै छ । यद्यपि, हामीले इजरायलबाट केही सामान्य तर अति प्रभावकारी प्रणालीको अनुशरण गर्न सक्छौँ । जस्तो थोपा सिँचाई । इजरायलमा हेर्ने हो भने थोपा सिँचाईको भूमिका महत्वपूर्ण छ । त्यहाँको सुख्खा र खैरो माटोमा रोपिएका हरिया र लटरम्म उत्पादन देख्दा नै थाहा हुन्छ, किन र केका लागि थोपा सिँचाई ।

त्यहाँ (इजरायल)मा पानी निकै महंगो मानिन्छ । खेतीका लागि नेपालमा जस्तो नदी या खोला त्यहाँ कहीँ कतै छैन । पानीको अभावका बाबजुद आज इजरायलीले आफ्नो देशलाई कृषिजन्य सामाग्री तथा खाद्यान्न निर्यातक देशहरुको अग्रपंक्तिमा उभ्याउन सफल भएका छन् ।

एकदमै थोरै पानीलाई सदुपयोग गरी लामो समयसम्म थोपा–थोपा गरी विरुवाको जरामा पानी दिइने एउटा वैज्ञानिक र सहज सिँचाई पद्धति थोपा सिँचाई हो । त्यहाँ विरुवा रोपिएको टनेलमा दुई वा तीन लाईन पाइप विछ्याईएको हुन्छ । विरुवाको जरामा पानी जाने गरी पाइपमा प्वाल पारिएको हुन्छ । जो प्वालबाट झरेको पानीले विरुवालाई पुरै समय चिस्यान माटोमा हुर्किन र फल्न मद्दत पुर्याउँदछ ।

खासगरी नगदे बाली वा लहरे बाली खेतीका लागि यो सिँचाई पद्धति अत्यन्तै महत्वपूर्ण मानिन्छ । अन्य बालीमा समेत यसको भूमिका कमजोर भने हुँदैन । इजरायलमा अधिकांश खेतीका लागि थोपा सिँचाईको भूमिका मुख्य देखिन्छ । जस्तो टमाटर, बेजिल (तुलसी), मसला, साग, गाँजर, काँक्रालगायतका धेरै बालीका लागि थोपा सिँचाईकै भूमिका प्रमुख छ । त्यहाँ त पानी निकै महँगो छ ।

उदाहरणका लागि टमाटर खेती गर्दा कुन तरिकाले थोपा सिँचाई पद्धति अपनाउने ? टमाटरको लागि अपनाइने प्रणाली लगभग सबै खेतीका लागि मिल्छ ।

टमाटर रोप्नुअघि नै ग्रीन हाउसभित्र झण्डै तीन फिट चौडाईका टनेल लाइन बनाइन्छ । त्यो लाईन साविक जमीनभन्दा एक फिटजति उच्च बनाइएको हुन्छ । जसको कारणले पाइपबाट चुहिएको पानी विरुवाकै लागि विशेषरुपमा उपलब्ध हुन्छ । सुख्खा माटोलाई सम पार्ने काम हुन्छ । त्यसपछि पोलोथेलिनको पाइपलाई दुई लाइनमा वारपार गरी विछ्याइन्छ । अब लाइनमा हरेक एक बित्ताको फरकमा प्वाल पारिन्छ र ल्यावमा तयारी अवस्थामा राखिएको विरुवालाई ल्याएर रोपिन्छ । पाइपको प्वाल भने पाइप कम्पनीले नै पारिदिन्छ । विरुवा रोप्नुअघि नै पाइपको प्वाल र टमाटरको विरुवा रोपिने प्वाललाई मिलाइन्छ अर्थात पानी चुहिन प्वालकै छेउमा टमाटरको विरुवा रोपिने प्वाल पारिन्छ । जसले गर्दा अब पाइपको प्वालबाट चुहिने पानी सिधै विरुवाको जरामा पुग्छ र विरुवालाई पानीको कमी हुन दिँदैन ।

नेपालमा थोपा सिँचाई
नेपालमा त ६ हजार वटा जति नदीनालानै छन् भने १ सयवटा त ठूला नदीे छन् । नेपालमा धेरैजसो खोलानाला कृषि क्षेत्रलाई फाइदा पुर्याउने सम्भाव्य छन् । तर पनि हामीसँग वैज्ञानिक उपकरण र आधुनीक कृषि सामग्रीको अभाव भएका कारण भइराखेका स्रोत साधनबाट समेत फाइदा लिन सकिरहेका छैनौँ । विद्यमान अवस्थामा आधुनिक र वैज्ञानिक कृषि उपकरणको उपलब्धता नेपालका लागि त्यति सहज पनि देखिँदैन । त्यसैले यतिबेला हाम्रा लागि थोपा सिँचाई उच्चतम विकल्प हुन सक्छ । नेपालको तराई भेगलाई अन्नको भण्डार भनिन्छ । तर, त्यहाँको ४० प्रतिशतभन्दा बढी खेतियोग्य भूमि पानीको अभावमा बाँझो छ । हामीसँग पानी नभएर समस्या भएको हैन, पानी व्यवस्थापन गर्न नजानेर समस्या भएको हो । त्यसैले थोपा सिचाईंको माध्यमबाट पानीको अभाव हुने ठाउँमा यसको पहुँच पु¥याउने हो भने हामीले कृषिमा केही फड्को मार्न सक्छौँ । नेपालमा ठूला–ठूला ग्रीन हाउस र टनेल त सबैमा सम्भव नहोला तर, प्रकृतिले दिएको सुलभताको भने हामीले सदुपयोग गर्नैपर्दछ ।

थोपा सिँचाईको माध्यमबाट नेपालमा लौका, काँक्रा, घिरौला, टमाटर, मुलालगायतका धरै खेती गर्न सकिन्छ । लहरे खेती प्राय बेमौसममा गर्दा बढी फाइदा लिन सकिन्छ । बेमौसममा गर्दा बजारको समस्या केही हदसम्म हल हुनेछ । तर, बेमौसममा लहरे बाली तरकारी खेती गर्नको लागि मौसममाभन्दा अलि बढी मेहनत गर्नुपर्ने हुन्छ ।

हामीले नेपालमा सरल थोपा सिँचाईमा बिरुवा रोप्नको लागि बारीको तयारी गर्दा बिरुवादेखि बिरुवाको दुरी ६० से.मी. तथा लाइनदेखि लाइनको दुरी झण्डैएकमिटर राख्नु पर्दछ ।. बिरुवा रोप्नुभन्दा अगाडि ठाउँको तयारी आवश्यक हुन्छ ।

रोप्ने ठाउँको तयारी गर्दा हामीले दुई तरिकाबाट ठाउँको तयारी गर्न सकिन्छ । पहिलो तरिकामा एक फिट गहिरो एक फिट चौडा कुलेसो आकारमा खन्ने र राम्रोसँग पाकेको गोबर मल र डी. ए. पी एक सय ८० ग्राम र पोटास एक सय २० ग्राम कुलेसोमा राखी माटोमा मिलाएर बिरुवा रोप्न सकिन्छ भने अर्को तरिकामा एक फिट लम्बाई एक फिट चौडाई र एक फिट गहिराईको खाडल खनेर १५ ग्राम डिएपी. १० ग्राम पोटास र बाँकी पाकेको गोबर मल माटोमा मिलाई बिरुवा रोप्न सकिन्छ । सकेसम्म कम्पोष्ट मलमा जोड दिँदा अति उत्तम हुन्छ ।

यसरी बिरुवा रोपेपश्चात थोपा सिँचाईको लाइनिङ पाइपलाई मिलाएर जोडिदिने अनि ड्रममा पानी राखी हरेक बिरुवामा पानी चुहिएको छ वा छैन हेरिरहने गर्नुपर्दछ । यो हाम्रो बारीमा सामान्य रुपमा थोपा सिँचाईको शुरुवात गर्ने तरीकामात्रै हो । यद्यपि, हामी यसलाई व्यवसायिक रुपमा विकास गर्न सक्छौँ । पानी भने जमीन मुनिको प्रयोग गर्न सकिन्छ ।

इजरायलमा पानी फर्टिलाइजेसनका क्रममा नै विरुवाका लागि चाहिने मल तथा भिटामीनको मिश्रण गरिएको हुन्छ । हामीले पनि विज्ञको सल्लाह र माटोको क्षमता हेरेर त्यसो गर्न सक्छौँ । हाम्रोजस्तो गरिब मुलुकका लागि थोपा सिँचाई प्रणाली महत्वपूर्ण हुन सक्छ । हामीसँग भएका हजारौँ नदीनालाको सदुपयोग गर्न हामी चुकिरहेका छौँ । पानी नभएर हैन, हामीसँग भएका स्रोत साधनको सदुपयोग गर्न नसकेर सिँचाई समस्या भएको हो । केही हदसम्म त्यो समस्याको विकल्पका रुपमा सरल थोपा सिचाईंलाई लिन सकिन्छ । यसको विकास र विस्तारका लागि राज्यले एउटा प्रभावकारी नीति र वातावरणको सृजना गर्न सक्नुपर्दछ ।

हाम्रै छिमेकी भारतले थोपा सिँचाईको प्रणाली भित्र्याएर साविकको तुलनामा कैयौँ गुणा फाइदा लिइरहेको छ । हामीसँग भएको पानीको त हामी सदुपयोग गर्न चुकिरहेका छौँ नै अब जमिनमुनि भएको पानी वा कृषि क्षेत्रलाई सहज रुपमा सहयोग पुर्याउन सक्ने स–साना नदीनालाको पानीको पनि सदुपयोग गर्न चुक्यौँ भने हामी अझै पछि पर्ने छौँ । पानीको उचित व्यवस्थापन भनेको भूमिको व्यवस्थापन हो । भूमिको व्यवस्थापन भनेको ७५ प्रतिशत कृषकको समस्याको व्यवस्थापन वा सम्बोधन हो ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु