गृहपृष्ठ रविन्द्र अधिकारीलाई सम्झँदै युवा नेता भन्छन्- भरोसायोग्य नेता गुमायौं
रविन्द्र अधिकारीलाई सम्झँदै युवा नेता भन्छन्- भरोसायोग्य नेता गुमायौं
नयाँ पुस्ताका लागि प्रेरक : योगेश भट्टराई, ठूलो रिक्तता : गगन थापा
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाबाट भएको मानवीय क्षतिको पीडामा सिंगो मुलुक शोकमा डुबेको छ । आशालाग्दा नेता संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको दुर्घटनाबाट निधन भएको घटनाले सबैलाई स्तब्द बनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका अधिकारीलाई सबैले आशा बोकेको प्रखर युवा नेताको रुपमा लिने गर्दथे । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारी सरकारको मन्त्रिपरिषदका युवा र आशा बोकेका नेतामा पर्थे । राजनीतिका विभिन्न आयाममा जुझारु रुपमा खट्दै आएका उनी पछिल्लो समय नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनेका थिए ।
अधिकारीसँग लामो समयदेखि चिनजान रहेकालाई रविन्द्र अधिकारीलाई कसरी सम्झनुहुन्छ ? भनेर सोधेका छौं ।
नयाँ पुस्ताका लागि प्रेरक : योगेश भट्टराई, नेता नेकपा
यो दुर्घटनाबाट देशले आशालाग्दो, भरोसायोग्य, विश्वासीलो र दुरदृष्टि भएको एक युवा राजनीतिकर्मी मेरा अत्यन्तै घनिष्ट मित्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रविन्द्र अधिकारीलाई गुमाउन बाध्य भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराको मुखपत्र ‘माछापुछ्रे’ को प्रकाशनको तयारीका शिलशिलामा २०४५ सालमा कीर्तिपुर छात्रावासमा मेरै कोठामा केही समय रविन्द्र अधिकारी बस्नुभयो ।
त्यहीबाट हाम्रो चिनजान भयो । त्यहाँदेखि आजसम्म तिनदशक लामो सहयात्रामा मैले रविन्द्र अधिकारीलाई अत्यन्तै सहृदयी मित्र, सरल स्वाभावका, जनप्रिय कार्यशैली, सकरात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दुरदृष्टि र बहुआयामिक संभावना अन्तरनिहित रहेका आत्मीय साथी, प्रिय कमरेड र हाम्रो पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा बुझेको छु ।
हामीले देखेको सपना र बनाएका योजनाको कार्यन्वयनमा उहाँको सक्रियता, गतिशिलता तथा सृजनात्मकता मेरा लागि सदैब अनुकरणीय रहे र रहिरहने छन् । पारिवारीक रुपले पनि हामी अत्यन्त निकट रह्यौं । राजनीतिकको अपराधिकरण र अपराधको राजनीतिकरण विरुद्ध रविन्द्र अधिकारीको अभियान म र नयाँ पुस्ताका लागि प्रेरक बनिरहने छन् ।
ठुलो रिक्तता : गगन थापा, कांग्रेस नेता

नेपाली राजनीतिमा एकदमै ठूलो रिक्तता महसुस गरेको छु । उहासँगको जस्तो सम्बन्ध मेरो अरू फरक पार्टीको कोही अर्को मान्छेसँग छैन । कुनै दुईवटा राजनीतिक दलको युवाहरूको बीचको सम्बन्ध भन्दा धेरै एकदमै धेरै नजिकको असल मित्रको सम्बन्धको रूपमा हामीबीच वर्षौंदेखि सम्बन्ध रह्यो ।
कैयौं कामहरू सँगै र्गयौं । विद्यार्थी राजनीतिमा मलाई गाह्रोसाह्रो परेको बेलामा अफ्ठ्यारो परेको बेलामा, धेरै लखेटिएको बेलामा खोजीखोजीकन आएर भेटेर सम्झाएको पनि सम्झन्छु ।
समयले धोका दियो : ठाकुर गैरे, नेता नेकपा

निकै लामो संघर्ष गरेर राजनीतिमा एउटा ठाउँ बनाउँदै आएको व्यक्तिमा उहाँ पनि हुनुहुन्थ्यो । यस्तो व्यक्ति सहकर्मी गुमाउनपर्दा म एकदमै दुःखित छु । उहाँको लगाव देख्दा, केही गर्नुपर्छ भन्ने सोच र जनतासँग चाँडै र सहजै घुलमिल गर्ने बानी हामीले पनि सिक्नुपर्छ । यस्तो व्यक्तिलाई गुमाउन पर्दा एकदमै दुःखी भएको छु ।
अहिले उहाँलाई जुन आरोप लगाइएको थियो । त्यसको जस्टिफाइ हुन नपाउँदै उहाँको असामयिक निधन भएको छ । आफूलाई लागेको आरोपको जस्टिफाइका लागि वातावरण तय गर्दै हुनुहुन्थ्यो । समयले त्यसलाई धोका दियो ।
आशालाग्दो नेता: हिमाल शर्मा, नेता नेकपा

रविन्द्रजी र म लामो समय एउटै टिममा रहेर काम गर्यौं । उहाँ एकदम सरल र पारदर्शी हुनुहुन्थ्यो । म पहिले अनेरास्ववियुमा काम गर्दा पनि सँगै बसेर काम गर्यौं । उहाँ टियुको स्ववियु सभापति हुनुभयो । पछि म सभापति भएँ । उहाँ अध्यक्ष हुँदा पनि म कोषाध्यक्ष भएर काम गरेँ । एउटा आशालाग्दा युवा, मेरो परममित्रको निधनले म स्तब्ध भएको छु ।
सीमा सुरक्षा अभियानको सन्दर्भको विषय, मेचीकाली अभियानदेखि लिएर, दरबारमा भएको हत्याको विषयलाई लिएर पाँच लाख हस्ताक्षर अभियानमा हामी सँगसँगै थियौं । उहाँले गरेका कामहरु विषयमात्र उठाउने नभएर टुंगोमा पुर्याउने पनि थियो ।
प्रकाशित समय १९:३४ बजे
















