गृहपृष्ठ आहा राराको फाइनलमा आर्मी र थ्री स्टार भिड्दै
आहा राराको फाइनलमा आर्मी र थ्री स्टार भिड्दै
१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ को उपाधिको लागि नेपालका दुई चर्चित प्रतिद्वन्दी थ्री स्टार क्लबविरुद्ध विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच शनिबार फाइनल खेल हुने भएको छ । उपाधिसहित नगद ८ लाख एक हजार पुरस्कारको लागि दुवै टिम शनिबार दिउँसो २ बजे फाईनलमा प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
दुवै टिमले फाइनल खेलमा उपाधी जित्ने दावी गरेका छन् । क्लबले सुक्रबार पोखरामा आयोजना गरेको प्रि-म्याच कन्फरेन्समा दुवै टिमका प्रशिक्षकहरुले फाइनल खेलमा जित्ने दावी गरे ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आहा राराको फाइनल देशकै राम्रा टिमहरुको फाइनल भएकोले आफूहरुले पोखरेलीहरु माझ उत्कृष्ट फुटबल प्रर्दन गर्ने दावी गरे । उनले भने, ‘हामीले फाइनल खेलमा जित्ने गरी खेल्ने तयारी गरेकाछौं, हामीसँग अनुभवी खेलाडीहरु छन् । हाम्रा खेलाडीहरुले हाम्रो रणनीति अनुसार खेल्न सकेमा हाम्रो जित हुन्छ ।’
त्यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आहा रारा गोल्ड कपको उपाधि आफूहरूले जित्ने राम्रो अवसर जुटेको बताए । उनले भने, ‘हामी फाइनल खेल जित्ने गरी आहा रारामा नयाँ इतिहास रच्न शतप्रतिशत बलवुताले भ्याएसम्म खेल्ने छौं।’
आहा राराको ७ औं, ८ औं र १४ औं उक्त गोल्ड कपमा फानलमा प्रवेस गरेर पनि उपाधि चुम्न चुकेको आर्मी यस पटक उपाधि जित्ने दाउमा छ । यता आहा राराको तीन पटक विजेता हुँदै १२ औं पटक सहभागी थ्रीस्टारले भने चौथो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारी गरेको छ ।
थ्रीस्टारले ५ औं, ९ औं र ११ औं आहा रारा गोल्ड कपको उपाधि जितेको छ । आहा रारामा यस अघि पुलिसले ६ पटक, मनाङ मर्स्याङ्दी क्लबले ५ पटक, आयोजक सहारा क्लब र अफ्रिकन यूनाइटेड क्लवले एक/एक पटक उपाधि जितेका छन् ।
प्रकाशित समय १९:३३ बजे
















