गृहपृष्ठ राष्ट्रिय ह्विलचेयर बास्केटबल प्रतियोगिताको तयारी पूरा
राष्ट्रिय ह्विलचेयर बास्केटबल प्रतियोगिताको तयारी पूरा
मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने
लायन्स क्लब अफ बुटवलको आयोजना र नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा बुटवलमा हुने राष्ट्रिय ह्वीलचेयर बास्केटबल प्रतियोगीताको तयारी पूरा भएको छ । यही फागुन २४ र २५ गते बुटवल-११ देवीनगरमा रहेको भुपु सैनिक कल्याण क्लबमा हुने प्रतियोगीताको तयारी पूरा भएको आयोजक लायन्स क्लब अफ बुटवल सयपत्रीकी अध्यक्ष रोशनी पाण्डेले जानकारी दिइन् ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले टीम दर्ता देखि लिएर खेलाडीहरुको आवाशिय व्यवस्थापन लगायतका सबै कार्यहरु पूरा भएको जानकारी दिइन् । प्रतियोगीताको फागुन २४ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवी आर्चायले उद्घाटन कार्यक्रम भन्दा अगाडि बुटवलको ट्राफिक चोकबाट विहान ८ बजेट सचेतनामुलक ह्वीलचेयर खेलाडीहरुको सहभागीतामा र्याली समेत आयोजना गर्ने लागेको जानकारी दिइन् ।
नेपालमा अपांगता भएका व्याक्तिहरुको खेलकूदको प्रतिभालाई उजागर गर्न बुटवलमा पहिलो पटक ऐतिहासिक रुपमा राष्ट्रिय स्तरको ह्वीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्न लागिएको उपाध्यक्ष आचार्यको भनाई रहेको छ ।
प्रतियोगीतामा कुल १२ वटा टिमको सहभागीता हुने जनाइएको छ । सात प्रदेशबाट १/१ गरी पुरुषको ७ वटा टिम, प्रदेश १, ३, ५ र सुदुरपश्चिम प्रदेशबाट १/१ गरि ४ वटा महिला टोली र नेपाली सेनाको विभागीय टोली गरी जम्मा १२ टिमको सहभागीता रहने कार्यक्रम संयोजक लायन्स क्लब बुटवलकी कार्यक्रम संयोजक एली क्षेत्रीले जानकारी दिइन् ।
प्रकाशित समय १९:१४ बजे
















